• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

आज सागको तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा हुँदै (सम्पूर्ण जानकारी सहित)



काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज तेस्रो दिन १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको तेस्रो दिन काठमाडौं र पोखरा गरि कुल १५ खेलको प्रतिस्पर्धा हुने भएको हो । नेपालले दोस्रो दिनसम्म आउँदा १५ स्वर्णसहित शीर्ष स्थानमा रहन सफल भएको छ ।

सागमा मंगलबार कराते, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, खो खो, सुटिङ, साइक्लिङ, एथलेटिक्स, टेबलटेनिस, ट्रायथोलन, भलिबल, उसु र तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ ।ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुने तालिका रहेको छ भने अन्य खेल काठमाडौं मै हुनेछ ।

उसु: आज मंगलबार उसुका खेलहरु सुरु हुनेछ । खेल विहान ९ बजेबाट आर्मी क्लबको शारिरिक तथा प्रशिक्षण केन्द्रमा हुनेछ । थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा हुनेछ । थाउलो खेल विहान हुनेछ भने सान्सो साझ ४ बजेपछि हुनेछ । नेपालले उसुमा २२ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

साइक्लिङ: साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुने भएपनि औपचारिक प्रतिस्पर्धा भने बुधबारबाट सुरु हुनेछ । साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुनेछ ।

ट्रायथलन:पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु भएको छ । सोमबार ईलाईट स्प्रिन्ट प्रतिस्पर्धामा महिलातर्फ नेपाली सोनी गुरुङले स्वर्ण जितेकी थिइन् । पुरुषमा बसन्त थारुले कास्य जिते । यस्रैगरी महिला फुटबलतर्फ पनि दुई खेल हुनेछ । पोखरा रंगशालामा हुने पहिलो खेलमा विहान १० बजे नेपालले श्रीलंकाको सामना गर्नेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । यस्तै दोस्रो खेलमा भारत र माल्दिभ्स भिड्नेछन् ।

क्रिकेट: आज क्रिकेट अन्तर्गत नेपालले टेष्ट राष्ट्र श्रीलंकाको यू २३ टिमसँग खेल्नेछ । टियु क्रिकेट मैदानमा बलियो टोलीविरुद्ध मैदान उत्रँदा नेपाल प्रतियोगितामा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपालको लागि फाइनल पुग्नको लागी श्रीलंकामाथि जित महत्वपूर्ण हुनेछ । यस्तै पोखरामा हुने महिला क्रिकेटमा श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।

भलिबल: साग अन्तर्गत मंगलबार महिला र पुरुष दुबैतर्फको फाइनल खेल हुनेछ । त्रिपुरेश्वरको राखेप कभर्डहलमा महिलातर्फ स्वर्णका लागि नेपाल र भारतबीच खेल ४ बजे सुरु हुनेछ । पुरुषतर्फ भारत र पाकिस्तानले स्वर्णका लागि १ बजे खेल्नेछ ।

सुटिङ:सुटिङका खेलहरु पनि मंगलबारबाट सुरुहुँदैछ । सातदोबाटोस्थित सुटिङ हलमा खेलमा नेपालको महिला टिमले दुई खेलमा प्रतिस्पर्धा जनाउँदैछ । महिला टिमले १० मिटर एअर राईफल १० मिटरतर्फ तथा टिम इभेन्टतर्फ प्रतिस्पर्धा गर्दैछ भने पुरुष टिमले ५० मिटर थ्री पोजिसन तथा २५ मिटर सेन्टर फायरमा सहभागी जनाउँदैछ । सुटिङ तर्फ नेपालले ५ स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।

तेक्वान्दो:तेक्वान्दोमा आज ४ स्वर्णको टुङ्गो लाग्दैछ । ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आज गेरुगीतर्फ ४ स्वर्णको टुङ्गो लाग्न लागेको हो । तेक्वान्दोको पहिलो दिन पुम्सेमा नेपालले ७ स्वर्ण जितेको थियो । मंगलबार पुरुषको ५४ केजी र ६८ तथा महिलाको ४६ केजी र ५७ केजी स्पर्धामा नेपालले चुनौती पेश गर्नेछ । ५४ केजीमा मनोज मल्ल, ६८ केजीमा विरबहादुर महराले चुनौती पेश गर्नेछन् भने महिलाको ४६ मा काजल श्रेष्ठ तथा ५७ केजीमा निमा गुरुङले नेपालको चुनौती पेश गर्नेछिन् ।

ब्याडमिन्टन:पोखरामा हुने ब्याडमिन्टनतर्फ आज महिला टिम इभेन्टको फाइनलको खेल हुँदैछ । यस्तै अन्य प्रतिस्पर्धा सुरु हुनेछ । नेपालले सोमबार पुरुष र महिला टिमको दुवै स्पर्धामा कास्य जितेको थियो ।

एथ्लेटिक्स: मंगलबार एथ्लेटिक्सतर्फ ७ वटा स्वर्णको टुङ्गो लाग्नेछ । दशरथ रंगशालामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएपनि ७ खेलको मात्र स्वर्णको टुङ्गो लाग्ने एको हो । आजसय मिटर पुरुष र महिला स्पर्धाको हिट चरणको खेल हुनेछ । यस्तै, हाई जम्पको महिला र पुरुष, १५ सय मिटर दौडको पुरुष र महिला, र सय मिटर दौडको पुरुष महिलाको फाईनल खेल मंगलबारनै हुनेछ । त्यस्तै १० हजार मिटर पुरुषको फाईनल खेल समेत मंगलबार राखिएको छ ।

कराते: साग अन्तर्गत करातेमा मंगलबार पनि विभिन्न पदकको लागि खेल हुनेछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ । नेपालले ६ स्पर्धामा खेल्नेछ । सोमबार नेपालले ७ स्वर्ण जितेको थियो ।

खोखो: खोखोतर्फ मंगलबार सेमिफाइनलको खेल हुनेछ । सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

टेनिस: सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुदैछ ।नेपालका पुरुष र महिला टिम सेमिफाइनलमा पुगेका छन् । पुरुषमा नेपालले भारतसँग खेल्नेछ । भारतले भने बाई पाएर सोझै सेमिफाइनलमा स्थान बनाएको छ । महिला टिम इभेन्टमा नेपाल र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

गल्फ:गोकर्ण फरेस्ट गल्फ क्लबमा आज गल्फको खेल सुरु हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ । सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेबल टेनिस:टेबल टेनिसका खेल सोमबारबाट सुरु हुनेछ । बिहान १० बजे औपचारिक उद्घाटन गरेर टेबल टेनिसका खेलहरुको सुरुवात गरिनेछ । खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुनेछ ।

फुटबल:आज पुरुष फुटबलमा दुई खेल हुनेछ । जसमा नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । नेपाल र भुटानबीचको खेल १ बजे दशरथ रंगशालामा हुनेछ । नेपाली टिमको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् । अर्को खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने खेलको शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।