• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

प्रधानमन्त्री ओलीको विशेष दूतका रुपमा को जाँदैछ भारत ?



काठमाडौँ । यतिखेर नेपाल भारतबीचको सम्बन्ध चिसिएको छ । गत महिना मात्र भारतले नेपालको कालापानी लगायतको क्षेत्र अतिक्रमण गरिएको नक्सा सार्वजनिक गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको हो । उक्त नक्सा तुरुन्त सच्याउन र सो क्षेत्रमा बसिरहेका भारतीय सेना तत्कालै हटाउन प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमा नै भारतलाई भन्नुभएको छ । तर पनि भारतको पक्षबाट भने सो क्षेत्र समेटी तयार पारिएको नक्साको विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उत्तर प्रदेशका मुख्यमन्त्री र अन्य अधिकारीहरुमार्फत आफ्नो पुरानै अडान दोहोराएको छ ।

यता नेपाल सरकारले भने भारतसँग छिट्टै वार्ता गर्ने तयारी गरिएको र त्यसका लागि भारतसँग समय मागिएको बताएको छ । तर त्यो वार्ताको मिति भने तय भएको छैन । सायद वार्तामा बस्न भारतले समय नदएको पनि हुनसक्छ । तर नेपाल सरकारले ताकेता गरेपछि आगामी पुस महिनामा दुई देशबीच वार्ता हुने अवस्था देखिँदैछ । तर त्यो वार्ताको अगाडिका तयारीहरुका बारेमा भने नेपालले कुनै कार्यक्रम सार्वजनिक गरेको छैन । यसअघि प्रधानमन्त्रीको पहलमा नेपालका सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बसेको थियो र त्यो बैठकले कालापानी क्षेत्र नेपालकै भएकोले त्यो नक्साबमोजिम नभएर नेपालको भूभाग फिर्ता गराउन नेपाल सरकार तदारुकताका साथ तुरुन्त लाग्नुपर्ने म्यान्डेट सरकारलाई दिएको थियो । सो म्यान्डेटअनुसार नै सरकार तयार पनि भएको छ र यसमार्फत आगामी केही दिनमा नै वार्ताको तयारी गरिएको बुझिएको छ ।

सोही वार्ताको वातावरणका लागि नै त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेगरी प्रधानमन्त्री ओलीले आफ्नो विशेष दूत भारत पठाउने तयारी गरिरहेको बुझिएको छ । सो विशेषदूतका रुपमा ओलीले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नेगरी पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई दिल्ली पठाउन चाहेको बुझिएको छ । यसकालागि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई विदेश भ्रमण छोट्याएर नेपाल फर्किन भनेका थिए । सोही बमोजिम उनी नेपाल आइसकेका छन् । प्रधानमन्त्रीले मन्त्री ज्ञवाली र परराष्ट्र सचिव शंकरदाश बैरागीसँग परामर्श गर्नुभएको छ । सोही बमोजिम पूर्वप्रधानमन्त्री नेपाललाई भारत पठाउने तयारी थालेको उच्च स्रोतहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको यो प्रस्तावपछि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि माधव नेपालको नेतृत्वमा विशेष दूतको टोली नै दिल्ली पठाउने इच्छा जाहेर गरेको र प्रचण्डकै सहमतिमा नेकपाका नेता एवम् पूर्व परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठलाई पठाइने भएको हो । यो टोलीलाई भेट गराउनका लागि कुटनीतिक च्यानलबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्पर्क गरेर भेटवार्ताको व्यवस्था मिलाउने प्रयास भइरहेको भारतस्थित नेपाली दूताबास स्रोतले जनायो ।

नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले केही दिनअघि प्रधानमन्त्रीले कालापानीको विषयमा कुरा गर्न विशेष दूत दिल्ली पठाउन सक्ने धारणा केही सञ्चारमाध्यममार्फत सार्वजनिक गरको थिए ।
परराष्ट्र स्रोतका अनुसार उक्त विशेष दूतको टोली प्रधानमन्त्रीको पत्र सहित दिल्ली जानुपर्ने हुन्छ र त्यस अगावी भारतीय प्रधानमन्त्री मोदीको समय लिनुपर्ने हुन्छ । तर भारतीय प्रधानमन्त्री मोदीले भने अहिले नै नेपाल पक्षसँग यस विषयमा कुरा गर्न चाहेका छैनन् । तर त्यसका लागि आवश्यक तयारीको काममा परराष्ट्र जुटिरहेको बताइएको छ ।

प्रधानमन्त्रीले कुनै पनि देशसँगको विशेष वार्ता गर्नुपर्ने अवस्थामा आफ्नो दूतका रुपमा परराष्ट्र सचिव, परराष्ट्रमन्त्री वा कुटनीतिक क्षेत्रका नेतालाई विशेष दूताका रुपमा विदेश पठाउन सक्ने प्रचलन रही आएको छ । सोही बमोजिम यो तयारी भइरहेको बुझिएको छ ।