• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

सागको नवौं दिन आज १३ खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज (सोमब) विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको नवौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १३ खेल हुनेछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ भने कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ भने नेपाल ४५ स्वर्णसहित पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

टेनिस: टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् । टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।

क्रिकेट:साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

जुडो: साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

बास्केटबल: बास्केटबल अन्तर्गत आज सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ ।पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंकाले नेपालसँग खेल्नेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

­­­­­­बक्सिङ:साग बक्सिङमा सोमबार विभिन्न स्पर्धाको फाइनल हुनेछ । सोमबार बक्सिङमा ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका कुल ९ खेलाडी फाइनल पुगेका छन् ।

सुटिङ: सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

स्क्वास:आज स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

फुटबल: साग अन्तर्गत महिला फुटबलको फाइनल खेल आज हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको फाइनल भने मंगलबार हुनेछ । जसमा नेपाल र भुटान खेल्नेछन् ।

कुस्ती:कुस्तीमा आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् ।

कबड्डी: हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ ।

फेन्सिङ:फेन्सिङ अन्तर्गत सोमबार टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पौडी:पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ ।

आर्चरी: आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ ।