२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान



अ+ अ-

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आउनुभएको छ ।

फेमस हलुवा–पराठामा बिहान ६ः०० बजेदेखि नै नजिकै रहेको महेन्द्र बहुुमुखी क्याम्पस पढ्ने विद्यार्थी र रुपैडिहा आवतजावत गर्ने बटुवा हलुवा–पराठा खान पुग्ने गर्दछन् । अरमानको परिवारले करिब ४३ वर्षदेखि हलुवा–पराठाको एउटै परिकार बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

“हाम्रो बुबाले भारतको मुम्बईमा सिकेर आएपछि यहाँ हलुवा–पराठाको पसल खोल्नुभएको थियो, अहिले हामीले सञ्चालन गर्दै आएका छौँ”, अरमानले भन्नुभयो, “हामीले बनाएको हलुवा–पराठा अहिलेसम्म नमिठो भयो भन्ने सुन्नुपरेको छैन, बरु मिठो भयो भनेर थपेर खाने र पोको पारेर घर लैजानेहरू धेरै छन् ।”

खानाका अनेक परिकार पाइने भएकाले नेपालगन्जलाई स्वादहरूको सहर पनि भनिन्छ । ती अनेक स्वादमध्ये हलुवा पराठा पनि एक हो । नेपालगन्जका स्थानीयमात्र नभई बाहिरबाट नेपालगन्ज घुम्न आउने पाहुना पनि हलुवा–पराठा खाना चौलिकाचोक पुग्ने गरेको अरमानले बताउनुभयो ।

प्रत्येक दिन करिब ४० देखि ५० केजीसम्म हलुवा–पराठा बिक्री गरेर रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गरेको उहाँको भनाइ छ । पीठो मुछ्ने, हलुवा बनाउने, पराठा बनाउने, बिक्री गर्नेलगायत कामका लागि अरमानले सात जना कामदारलाई रोजगारीसमेत दिँदै आउनुभएको छ । अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाका दिनमा हलुवा–पराठा खान आउने मानिसको धेरै भीडभाड हुने गरेको अरमानले बताउनुभयो ।

ठूलो पराठालाई तौलेर हलुवाका साथमा बेच्ने गरिन्छ । पराठा रोटी खानुको स्वाद त छँदैछ, बनाएको हेर्न झनै मज्जा आउँछ । नाङ्ललोभन्दा ठूलो तावामा पकाउनुअघि पराठा पकाउने कारिगढले पीठोलाई केही पराठाको आकारमा बनाएपछि त्यो आकारबाट बढाएर सुपो जत्तिकै ठूलो आकारमा पुर्याउँछन् । जुन पराठाको आकारले आधा शरीर छोपिन्छ । छेउतिरबाट हेर्दा पकाउनुअघिको काँचो पराठा पछ्यौरा ओढेजस्तै देखिन्छ । एउटै पराठाबाट कम्तीमा १० जनासम्मलाई पुग्ने उहाँको भनाइ छ ।

हलुवा पराठाको माग बढ्दै गएपछि हाल नेपालगन्जको त्रिवेणी मोड, बागेश्वरी मन्दिरको पूर्वपट्टि पनि केही वर्षदेखि हलुवा पराठा बनाउने गरिएको छ । तर अन्य स्थानको भन्दा चौलिकाचोकको हलुवा–पराठा नै अधिकांशको जिब्रोले मन पराउने गरेको महेन्द्र बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति माधव खत्रीले बताउनुभयो ।

बजारमा थरिथरिका फास्टफुड र रेष्टुरेन्टहरू खुले पनि अरमानको पसलमा आउने ग्राहकको भीड घटेको छैन । स्वच्छता र पुख्र्यौली स्वादले क्याम्पस पढ्ने युवादेखि पुराना धेरैका लागि यहाँको हलुवा–पराठा नास्तामात्र नभई एउटा पुरानो याद हुने गरेको खत्रीको भनाइ छ । रासस