२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था



अ+ अ-

झापा।जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ ।

भर्खरै निर्वाचनको मुखमै सरुवा भएर झापा आउनुभएकी प्रहरी उपरीक्षक खड्काले आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराउनुभएको हो ।

कार्यक्रममा उहाँले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उहाँले स्पष्ट पार्नुभयो ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उहाँको भनाइ छ । थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उहाँले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताउनुभयो । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उहाँले उल्लेख गर्नुभयो ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उहाँले आग्रह गर्नुभयो । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको उहाँले बताउनुभयो ।

यसअघि म्याग्दी र काभ्रे जिल्लाको कमाण्ड सम्हालिसकेको अनुभव स्मरण गर्दै प्रहरी उपरीक्षक खड्काले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी निकासी, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रण प्रहरीको प्रमुख दायित्व भएको बताउनुभयो । नेपाल प्रहरीले दिएको म्याण्डेट पूर्णरूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ । रासस