१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने पाठक



अ+ अ-

काठमाडौँ। नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता ताराप्रसाद पाठक बन्नुभएको छ ।

हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट उक्त कार्यक्रम प्रसारण हुँदै आएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा वासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना हुनुभएको छ । प्रथम स्थान हासिल गर्नुभएका पाठक विभिन्न पेसा छाडेर पशुपालनमा लाग्नुभएको जनाइएको छ । उहाँ अमेरिका जाने क्रममा ठगीमा परेपछि पशुपालनमा फर्किनुभएको थियो ।

तेस्रो हुनुभएका महतो कुलत त्यागेर पशुपालनमा होमिएका हुनुुभएको जानकारी दिइयो । सान्त्वना प्राप्त भण्डारी र उहाँको परिवारको मुख्य पेसा पशुपालन रहेको जनाइएको छ ।

गाईका कल्चौँडोसँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ‘ब्रान्ड एम्बेसडर’का रूपमा स्थापित गर्ने र पशुपालन पेसालाई मर्यादित एवं सम्मानित बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त शोमा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धताजस्ता पक्षहरूको मूल्याङ्कनका आधारमा विजेता घोषणा गरिएको कार्यक्रमका निर्माता रविन सुवेदीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमले मेहनती किसानको सम्मानसँगै पशुपालक किसानको अवस्था देखाउनुका साथै नयाँ पुस्ताले बुझ्ने गरी मेहनत र सङ्घर्षका कथा रोचक ढङ्गले प्रस्तुत गरिएको सुवेदीले बताउनुभयो । पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गरी आगामी दिनमा पनि कार्यक्रमलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको उहाँको भनाइ छ ।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति हासिल गरेको अवस्थामा किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको उल्लेख गर्नुभयो । खेती नामक संस्थाले मुख्य प्रायोजन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा यज्ञराज पाण्डे रहनुभएको थियो । रासस