काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसका अबसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले भन्नुभयो यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्।
उहाँले भन्नुभयो “यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न म आग्रह गर्दछु।”
उहाँले जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लागेपनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो सरकार चुनावी सरकार मात्र होइन। सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार हो। सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ।”








