५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जेनजी आन्दोलनका सहिदः ‘विदेश उडानको तयारीमा थिए अभिषेक’

जेनजी आन्दोलनका सहिदः ‘विदेश उडानको तयारीमा थिए अभिषेक’
अ+ अ-

धरान । भविष्यका योजना बोकेर विदेश उडानको तयारीमा रहेका २३ वर्षीय अभिषेक श्रेष्ठको गत भदौ २३ गते इटहरीमा भएको जेन्जी आन्दोलनमा गोली लागेर निधन भयो ।

भदौ २३ गते बिहानदेखि सम्पर्कविहीन रहेपछि परिवारमा चिन्ता बढ्नु स्वाभाविक नै थियो । साँझ करिब ७ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट आएको फोनले उहाँको मृत्यु पुष्टि गरेको थियो ।

सुनसरीको बराहक्षेत्र राजाबासमा जन्मिनुभएका अभिषेक सानै उमेरदेखि मामाघरमै हुर्किनुभएको थियो । उहाँ ११ महिनाको हुँदादेखि हजुरआमा सीता श्रेष्ठ, मामा मनोज श्रेष्ठ र माइजू तारा श्रेष्ठका साथमा हुर्किनु भयो । चार वर्षअघि मामामाइजू सपरिवार बराहक्षेत्रबाट इटहरीमा बसाइँ सरेर आउनुभएको थियो ।

हजुरआमा सीता श्रेष्ठ सम्झिनुहुन्छ, “अभिषेकको बाल्यकाल नाति नजन्मिँदै उसको बाबाले छोडेर गयो, त्यसपछि विस्तारै उसले आफ्नो आमाको माया पनि पाउन सकेन । ११ महिनाको हुँदा मैले स्याहारसुसार गरेर हुर्काएँ । सानो बच्चा हुर्काउनु सजिलो थिएन, तर आमा, बुबाको कमी हुन दिएका थिएनौँ, आफ्नो छोराछोरीभन्दा पनि बढी माया र स्याहार दिएर नातिलाई हुर्काएँ । उसले २३ वर्षसम्म हामीबाट माया र मार्गदर्शन पायो, अहिले हामीमाझ छैन तर सधैँ सम्झनामा भने रहन्छ ।”

सानै उमेरदेखि जिम्मेवार र शान्त स्वभावका अभिषेकले कक्षा १० सम्म पढाइमा राम्रो नतिजा ल्याउनुभएको थियो । त्यसपछि पढाइभन्दा काममा उसको रुचि बढेपछि उहाँ फोटोग्राफी क्षेत्रमा लाग्नुभयो । केही समयदेखि इटहरीस्थित एक बर्गर हाउसमा फोटोग्राफरका रूपमा काम गर्नुभएको थियो । विदेश उडानको तयारीमा रहनुभएका अभिषेकले आफ्ना सपनासहित घरपरिवारको अपेक्षा बोकेर अघि बढिरहनुभएको थियो ।

इटहरीमा सँगै कोठामा बस्ने अभिषेकका साथी सक्षम कार्की भन्नुहुन्छ, “अभिषेक आन्दोलन भनी गएको थिएनन् । उनी बर्गर हाउस क्याफेमा फोटोग्राफरका रूपमा काम गर्र्थेें, म अर्कै ठाउँमा मार्केट लाइनमा काम गर्थें, तर हामी एकै ठाउँ बस्दथ्यौँ । दुई÷तीन दिनपछि उनको विदेशको उडान थियो । अभिषेक मलाई भन्ने गर्थे, “म विदेश जाँदा काठमाडौँसम्म पु¥याउन जाउँ है, मैले धेरै पैसा कमाउनु छ, मेरो मामामाइजू र हजुरआमालाई हेर्नु छ, दुःख गरेर मलाई हजुरआमा मामामाइजूले हुर्काउनुभयो ।”

अभिषेकका साथी कार्की सम्झनुहुन्छ, “भदौ २३ गते म बिहान काममा गएँ अभिषेक हल्का बिरामी पनि थिए, उनलाई रुघा लागेको थियो । मैले कोठामै छोडेर गएँ । करिब बिहान ९/१० बजेतिर उनले मलाई फोन गरेर आफू काम गरेको ठाउँमा पैसा लिन जान लागेको र आन्दोलन पनि हेरेर आउँछु, तिमी नआउने भनेर मलाई सोधे ।” मैले म आउन भ्याउँदिन, तिमी जाउ न भनेर छोटो जवाफ फर्काएँ । पछि फेरि केही समयपछि अभिषेकले फोन गरेर मलाई भने, पैसा दिने मान्छे पनि आन्दोलनमा गएको रहेछ, म त्यो मान्छे पनि खोजेर आउँछु, आन्दोलन पनि हेरेर आउँछु भनेर भनेको कुरा नै हामीबीचको अन्तिम कुराकानी बन्यो”, उहाँको साथी कार्कीले भन्नुभयो, “अभिषेक आन्दोलन हेर्न इटहरीको मुख्य चोकदेखि पूर्व लाइनमा पुगेको र त्यहाँ उहाँले छेउमा उभिएर भिडियो पनि बनाउन भ्याउनु भएको रहेछ । दिउँसो करिब २÷३ बजेतिर आन्दोलनकारी र प्रहरीबीच ढुङ्गा हानाहान भएको थियो । प्रहरीले गोली चलाउँदा अभिषेकको अनुहारको नाक छेउमा गोली लागेर उहाँ त्यहीँ ढल्नु भएको रहेछ । यो दृश्य उहाँले खिच्दै गरेको भिडियोबाट थाहा भएको साथीले बताउनुभयो ।

अभिषेकलाई मैले दिउँसो १२ बजेतिर फोन गर्दा उनको फोन ‘अफ’ थियो, सम्पर्क हुन सकेन । पछि अपराह्न ५ बजे फोन लाग्यो तर उनको फोन उठेन । केही समयपछि उनको नम्बरबाट फोन आयो । उठाउँदा धरानबाट एक प्रहरीले भन्नुभयो, “तपाईंहरुको मान्छे आन्दोलनमा परेको छ, छिटो धरान बिपी अस्पतालमा आउनुहोस् ।” यो खबर सुन्नेबित्तिकै उहाँ सक्षमसहित केही साथीहरु अस्पताल पुगी सोधपुछ गर्दा आन्दोलनमा दुई जनाको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको जानकारी प्राप्त भयो । पहिले त साथीहरुलाई अभिषेकको उपचार भइरहेको होला भन्ने आशा थियो तर केही क्षणमै आशा निराशामा परिणत भयो । “पहिले नै अभिषेकको निधन भइसकेको रहेछ । छेउमा कपडाले छोपेर राखिएको थियो, हामीले कपडा उघारेर हेर्दा अभिषेक नै रहेछन् । केही क्षण त हामीहरु उनलाई हेरेको हेरै भयौँ,” सक्षम भन्नुहुन्छ, “क्षणभरमै उनको विदेशको सपना त्यहीँ दिन अन्त्य भयो ।”

अभिषेक केही दिनमै साउदी उड्ने तयारीमा हुनुहुन्थ्यो, जेन्जी आन्दोलन हुनुभन्दा दुई दिनअघि मात्र इटहरीकै एक मेनपावरमा गएर उडानका लागि रु ८० हजार बुझाएर आएको अभिषेकका माइजू तारा श्रेष्ठ बताउनुहुन्छ । उहाँको निधन भएपछि त्यो पैसा अहिलेसम्म मेनपावरले फिर्ता दिएको छैन । उहाँ भन्नुहुन्छ, “केही दिनअघि अभिषेक बाबुले आफूले काम गर्ने ठाउँ अलि टाढा भएकाले आउजाउ गर्न गाह्रो भयो म साथीहरूसँग डेरामा बस्छु भनेर कुरा गर्नुभएको थियो । हामीले ‘हुन्छ’ भनेपछि ऊ साथीहरूसँग काम गर्ने स्थान नजिकै बस्न थाल्नुभएको थियो ।

“गत भदौ २३ गते बिहानदेखि सबैतिर जेन्जी आन्दोलन भइरहेको थियो । त्यो दिन बिहानदेखि नै बाबु अभिषेकको फोन लागेको थिएन । हजुरआमाले पनि फोन गर्नुभयो, मैले पनि फोन गरिरहेँ, तर फोन लागेन । फोन नलागेपछि हामीलाई चिन्ता लागेको थियो नभन्दै साँझ नपत्याउँदो खबर सुन्नुप¥यो”, माइजू तारा सुनाउनुहुन्छ ।

दिउँसो करिब १ः०० बजेसम्म पनि अभिषेकको फोन ‘अफ’ नै थियो । उहाँले भन्नुभयो, “साँझ करिब ७ः०० बजे अभिषेककै नम्बरबाट फोन आयो । उताबाट ‘प्रहरी डिएसपी बोल्दैछु’ भनेर भन्नुभयो, तपाईं अभिषेकका आफन्त हो ? भनेर सोध्नुभयो, मैले हो, म माइजू भनेपछि उहाँले यहाँ धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनुस्, तपाईंहरुको मान्छे आन्दोलनमा पर्नुभएको छ । उहाँले त्यति भनेपछि फोन काटियो ।

त्यस समयको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “त्यसपछि फेरि तुरुन्तै फोन आयो, अनि अभिषेकका बारे सबै विवरण सोधियो । हामी हतारहतार सबै आफन्तहरू भेला भएर तुरुन्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्यौँ । त्यहाँ पुगेर थाहा पायौँ, बाबुको मृत्यु भइसकेको रहेछ । हामीले सोध्यौँ हाम्रो मान्छेलाई ढुङ्गामुढा लागेको हो कि गोली ?” तर सुरुमा त्यहाँ कसैले पनि स्पष्ट भन्न चाहनु भएन पछि थाहा भयो, उसलाई गोली लागेको रहेछ ।”

अभिषेकलाई कराते खेलप्रति विशेष रुचि थियो । माइजू ताराका अनुसार केही समयअघि उहाँले कुखुरापालन गर्ने इच्छा व्यक्त गरेपछि हामीले घर पछाडि सानो फार्म तयार गरिदियौँ । केही महिनासम्म उहाँले कुखुरा फार्मसमेत सञ्चालन गर्नुभयो ।

फोटोग्राफी, पेन्टिङ कला तथा अन्य सिर्जनात्मक कामहरूमा उहाँको रुचि धेरै नै थियो । तर ती सबै सपना भने जेन्जी आन्दोलनसँगै उब्जिएको परिस्थितिमा आएर सपना पूरा हुन पाएन ।

सानै उमेरदेखि हुर्काएँ बढाएको भाञ्जा नहुँदा घर नै शून्य भएको माइजू तारा बताउनुहुन्छ । अभिषेक बाबु सधैँजसो सपनामा रुँदै आउनुहुन्छ । मैले बिहान–बेलुका उहाँको फोटोमा धूप, बत्ती बालेर फूल–पानी चढाइदिन्छु ।

आन्दोलनका उद्देश्यहरू छुट्टै भए पनि यसले गुमाएका जीवन र भोग्नु परेको पारिवारिक पीडाको क्षति भने भरिन नसक्ने छ । अभिषेकजस्तै धेरै युवाको भविष्य यस घटनाक्रमले प्रभावित पारेको तथ्य सम्झनालायक रहन्छ । रासस