९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाडीमा कोरोनाको त्रास, नेपाली कामदार मारमा



अ+ अ-

काठमाडौं । नेपालीको मुख्य गन्तव्य रहेका खाडी मुलुकमा कोरोना भाइरस फैलिन थालेपछि नेपाली श्रमिक मारमा परेका छन् । सबैभन्दा बढी नेपाली श्रमिक रहेका कतारले नेपालीलाई प्रवेशमा तत्कालका लागि प्रतिबन्ध नै लगाएको छ । संयुक्त अरब इमिरेट्समा दुई जना नेपालीमा संक्रमण भेटिएको छ भने साउदी अरबमा पनि नेपालीको प्रवेशलाई कडाई गरिएको छ । कतिपय नेपालीलाई साउदी अरबले प्रवेशमै रोक लगाएको छ । श्रम स्वीकृति जारी संख्याका आधारमा चालु आर्थिक वर्षमा नेपालीको सबैभन्दा ठूलो गन्तव्य मुलुक कतार नै हो । कतारबाट वार्षिक बिदामा नेपाल फर्किएका नेपाली ठुलो मारमा परेका छन् ।

उनीहरूलाई कतारले तत्कालका लागि प्रवेशमा रोक लगाएपछि उनीहरूको रोजगार के हुने भनेर अन्यौलता देखिएको छ । चालु आर्थिक वर्षको हरेक महिनामा १० हजार हाराहारीमा युवाले कतारमा कामका लागि जान श्रमस्वीकृति लिएको तथ्यांक छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार माघमा ४८ हजार ६ सय ७४ ले श्रमस्वीकृति लिएकोमा १० हजार सात सय ६४ जना त्यहाँ गएका छन् । आर्थिक वर्ष ०७५/७६ मा नयाँ र पुराना गरी पाँच लाख आठ हजार आठ सय २८ ले श्रमस्वीकृति लिँदा सबभन्दा बढी एक लाख ६१ हजार दुई सय १५ जना रोजगारीका लागि कतार पुगेका थिए । कतारमा हालसम्म तीन आप्रवासीसहित १५ जनामा कोरोना संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यता, संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत दुई नेपालीमा नयाँ कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएपनि उनीहरूको परिचय खुलाइएको छैन । सोमबार साँझ एक विज्ञप्ति निकाल्दै युएईको स्वास्थ्य मन्त्रालयले नेपालीसहित १४ जनामा भाइरस भेटिएको जनाएको थियो । युएईमा गम्भीर समस्या भनेको त्यहाँ रहेका नेपालीहरू एउटा कोठामा तीन जनादेखि ६,७ जनासम्म बस्ने गरेका छन् । कम्पनीको आवास वा डेरामा पनि नेपाली समूह नै बनाई बस्ने गरेका कारण अरूमा पनि समस्या देखिन सक्ने आशंका गरिएको छ । नेपालका राजदूत कृष्णप्रसाद ढकालले मंगलबारसम्म कोरोना संक्रमण भएकाहरूको परिचय खुल्न नसकेको बताए । ‘दुईजना नेपाली संक्रमित भएको भन्ने सूचना जारी भयो । हामीले चासो राखेर ती नेपाली को हुन् भन्ने जानकारी लिन खोजिरहेका छौँ’, उनले सुनाए ।

हालमा युएईमा दुई लाख ७५ हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । बहराइनमा पनि संक्रमण भेटिएपनि त्यहाँ रहेका नेपाली सुरक्षित रहेका छन् । साउदी अरबमा पनि कोरोनाको किटाणु फैलिने आशंकामा युएई हुँदै त्यहाँ पुगेका केही नेपालीलाई फिर्ता पठाइएको छ । खाडी मुलुकमा देखिएको त्रासले नेपाली अर्थतन्त्रमा नकरात्मक असर पर्ने देखिएको छ । मुख्य रूपमा रेमिटेन्स भित्रिने मुलुकमै संक्रमण देखिएपछि नेपालीहरू मारमा परेका हुन् ।

श्रमस्वीकृति स्थगन:वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको छ । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने प्रवक्ता भोलानाथ गुरागाईंले बताए ।

कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो । दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् । नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको छ ।

निगमको दोहा उडान रोकियो:नेपाल वायुसेवा निगमले कतारको दोहाको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । निगमले चीनको वुहानबाट तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै दोहाको सम्पूर्ण उडान अस्थायी रूपमा स्थगित गरेको हो । दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित हुने भएको छ । कतारले कोरोनाको जोखिम न्यूनीकरण गर्न नेपाल लगायत १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

२०७६ फागुन २६ गते र त्यसपछिका उडानका टिकट खरीद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । निगमले टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो । हिमालयन एयरले पनि केही दिन अघिबाट दोहाको उडान स्थगित गरिसकेको छ । सौर्य दैनिक