२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा



अ+ अ-

नेपालगञ्ज। बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले आज यहाँ आयोजना गरेको स्थानीय तहका पशुसेवा प्राविधिकसँगको अन्तरक्रियामा विज्ञ केन्द्रका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक गणेशबहादुर पुनले सो जानकारी दिनुभयो ।

उहाँले केही स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमणका कारण दुई वटा पशु मरेको उल्लेख गर्दै खोपको व्यवस्थापन र मौसमममा आएको फेरबदलले पनि सङ्क्रमण कम हुँदै गएको बताउनुभयो । दसँैअघि नै सात स्थानीय तहका १५० भन्दा बढी पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको थियो ।

जिल्लाको राप्तीसोनारी, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकाका केही क्षेत्रमा लम्पी स्किनको सङ्क्रमण देखिएको थियो ।

जानकी गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दिलबहादुर खड्काले पालिकामा १६२ वटा पशु चौपायमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिनासाथ खोप उपलब्ध गराइएको र पशुको आहारामासमेत ध्यान दिइएकाले अहिले छिटफुट घटना बाहेक लम्पी स्किन नियन्त्रणमा आएको बताउनुभयो ।

“केही किसानलाई औषधि किन्न लगायौँ, कही हामी आफैँले पनि सहयोग गरेर लम्पी स्किन नियन्त्रणमा आएको छ,” उहाँले भन्नुभयो । लम्पी स्किनका १६२ पशु चौपायाको उपचार भएको जानकारी दिँदै खडकाले करिब ७ वटा पशुको उपचार जारी रहेको र सङ्क्रमण घट्दो अवस्थामा रहेको बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले राप्तीसोनारी गाउँपालिका–६ को खल्ला टपरीबाट सुरुमा लम्पी स्किनको सङ्क्रमण सुरु भएको उल्लेख गर्दै एक साताअघि मात्रै वडा नं ८ मा पनि सङ्क्रमण देखिएको जानकारी दिनुभयो । धेरैजसो पशुमा लम्पी स्किनको सङ्क्रमण नियन्त्रणमा आएको उल्लेख गर्दै उहाँले भ्याक्सिनको अभावले सुरुमा केही समस्या भएको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख जगतराम यादवले ८५ वटा पशु चौपायमा लम्पी स्किनको घटना देखिएको जानकारी दिँदै भयावहस्थिति नरहेको बताउनुभयो । रासस