१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत



अ+ अ-

झापा। शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो । २३औँ मिनेटमा सेनु परियारले सङ्कटाका लागि पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले अर्को गोल गर्दै सङ्कटाको अग्रता बढाएकी थिइन् ।

यसैगरी, ५५औँ मिनेटमा भुटानबाट अनुबन्धित छिरिङ वाङ्देनले तेस्रो गोल र ६१औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल गर्दै झापा एफसीसँगको गोलअन्तर ४–० बनाएकी थिइन् । ८३औँ मिनेटमा रेनिसा शर्माले पाँचौँ गोल थपिन् भने अरुणा स्याङ्तेनले खेलको अन्तिम समयतिर अर्को गोल थपेर सङ्कटाको जीत ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिनुभयो । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले रणनीतिअनुसार नै खेलमा जित निकालेको बताउनुभयो ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु. पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

भोलि बिहीबार हुने अन्तिम क्वाटर फाइनल खेलमा आरएस पोखरा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । रासस