९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौपचारिक मार्गले सीमा बन्द चुनौतीपूर्ण



अ+ अ-

काठमाडौँ । खुला सीमाका कारण नेपाल-भारत सिमानामा ओहोरदोहोर बन्द गर्न कठिन भएको छ । सीमाका सम्पूर्ण नाका बन्द भए पनि अनौपचारिक बाटोबाट एक अर्का देशमा ओहोर दोहोर भइरहेका कारण त्यहाँका स्थानीय प्रशासन हैरान छ । नेपाल र भारतले एक अर्का देशका नागरिक जो जहाँ छन्, त्यहीँ राख्ने र त्यसको व्यवस्था त्यही देशको सरकारले गर्ने सहमति भएको छ । दुवै देशका नाकामा कोही रोकिएका छन् भने कोही आ-आफ्नै ठाउँमा रोकिएका छन् तर खुला सीमाका कारण लुकीछिपी एक अर्काको देशमा ओहोरदोहोर भइरहेको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खुला सीमाका कारण सीमा क्षेत्रमा आवतजावत नियन्त्रण गर्न अलि कठिन भएको बताए ।

उनले भने, ‘‘दुई देशबीच सीमा खुला भएका कारण को आए ? को गए ? त्यसको कुनै तथ्याङ्क हुँदैन, मान्छे पहिचान गर्नमा समस्या भएको छ, यद्यपि सुरक्षा निकायबाट ‘स्क्रिनिङ’ र ‘ट्राफिकिङ’ गर्ने काम भइरहेको छ ।’’ प्रदेश २ को पर्सा जिल्लामा भेटिएका तीन जना कोरोना सङ्क्रमणका कारण सीमा क्षेत्रमा त्रास उत्पन्न भएको छ । सङ्क्रमित तीनै जना भारतीय नागरिक हुन् । गत मार्चमा भारतको दिल्लीमा सम्पन्न तब्लिगी जमात (मुस्लिम समुदायको प्रचारप्रसार गर्ने) कार्यक्रमपछि थुप्रै मुस्लिम नेपाल भित्रिएका कारण सीमा क्षेत्रमा झन् समस्या भएको छ । जमातबाट नेपालका मात्र होइन, विभिन्न देशका मुस्लिम नेपाल छिरेका छन् । उनीहरू नेपालको विभिन्न मदरसा र आफन्तको घरमा लुकीछिपी बसेको पाइएको छ ।

जमातीहरूलाई खोज्ने कार्य तीव्र पारिएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए। सङ्घीय सरकार र प्रदेश सरकारले जमाती तथा अन्य देशबाट आएकालाई खोज्ने सर्च अभियान नै सञ्चालन गरेको उनले जानकारी दिए । सशस्त्र प्रहरी, जनपद प्रहरी र अनुसन्धानका गरी तीनै सुरक्षा निकायबाट गस्ती सुरु गरिएको छ । शङ्कास्पद ठाउँमा खोजतलास गर्दै मान्छे फेला पारेर क्वारेन्टाइनमा राख्ने गरिएको बताउँदै उनले हालसम्म दुई सय जना जमाती मात्र फेला परेका र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । पर्साका विभिन्न १२ ठाउँलाई सिलबन्दी गरिएको बताउँदै उनले आवश्यक पर्यो भने प्रदेशका अन्य शङ्कास्पद ठाउँलाई सिलबन्दी गरिने बताए ।

उनले भने, ‘‘खुला सीमाका कारण मान्छे पहिचान गर्न अलि समस्या भएको छ । जति गरे पनि नेपाल–भारतको सीमा पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन, बरु आएकाहरूलाई पहिचान गरी क्वारेन्टाइनमा राख्ने काम गर्नुपर्छ ।’’ नेपाल र भारतबीच एक हजार सात सय लामो खुला सीमा छ । जहाँ छवटा प्रमुख नाका र डेढ दर्जनभन्दा बढी साना नाकाहरू छन् । अनेकौँ अनौपचारिक मार्ग छन् । सीमामा खेतबारी पनि पर्छ । गाउँ पनि छन्, जहाँबाट दैनिक रूपमा हजारौँ मान्छेको ओहोरदोहोर भइरहेको हुन्छ । कतिपय व्यापारिक नाकाहरू पनि छन् । जहाँबाट ठूलो राशिको व्यापार भइरहेको हुन्छ । भारतको गृह मन्त्रालयले चैत १ गते शनिबार राति एउटा सूचना जारी गर्दै नेपाल र भारतबीचका चारवटा नाकाबाट मात्र आवतजावत हुन दिने जनाएको थियो ।

त्यसमा रानीगञ्ज (काँकडभिट्टा), रक्सौल (वीरगञ्ज), सुनौली (भैरहवा) र बनबासा (महेन्द्रनगर) नाका पर्दछ । नेपालमा बन्दाबन्दी (लकडाउन) गरिएदेखि अहिले ती नाकाहरू पनि पूरै बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत युवराज कट्टेलले भने, ‘‘चैत ११ गतेदेखि झापा जिल्लासँग जोडिएका नेपाल–भारतको सबै नाका सिल गरिएको छ, कुनै आवतजावत छैन, खुला सीमाका कारण राति राति सुरक्षाकर्मीको आँखा छलेर आवतजावत गर्यो भने त्यो छुट्टै नत्र पूरै बन्द छ ।’’

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अघिकारी सूर्यबहादुर खत्रीले पनि खुला सीमाका कारण नेपाल-भारतबाट आउजाउ गर्न अलि गाह्रो भएको बताए । नाकाहरू पूरै सिलबन्दी छ तर थुप्रै यस्ता अनौपचारिक मार्ग छन् जहाँबाट लुकीछिपी आउने गरेको उनले बताए । यद्यपि नाकाबाट छिर्न नदिन पूरापूर प्रयास भइरहेको छ, त्यसका लागि सीमा नाकाहरूमा सुरक्षाकर्मी तैनाथ रहेको उनले बताए । उनले भने, ‘‘महोत्तरी जिल्लामा एक जना पनि जमाती फेला परेका छैनन्, खोज्नका लागि स्थानीय जनताले सहयोग गर्नुपर्ने तर हालसम्म त्यस्तो सूचना आएको छैन । यद्यपि खोज्ने कार्य जारी छ ।’’ गोरखापत्र दैनिक