काठमाडौँ। वरिष्ठ पत्रकार प्रज्वल चापागाईंद्वारा लिखित पुस्तक ‘हेर्दाहेर्दै’ को लोकार्पण गरिएको छ ।
आज यहाँ आयोजित एक समारोहका बीच इतिहासविद् प्राडा रमेश ढुङ्गेल, वरिष्ठ पत्रकार श्यामल अधिकारी, प्राध्यापक तथा पत्रकार पुरुषोत्तम दाहाल, पत्रकार शिव गाउँलेलगायत विशिष्ट व्यक्तित्वहरूले उक्त पुस्तकको लोकार्पण गर्नुभएको हो ।
नेपालको राजनीतिक घटनाक्रम, शासन प्रणालीका विसङ्गति र त्यसले सिर्जना गरेका सामाजिक, आर्थिक समस्याहरूको गहिरो विश्लेषण यस कृतिमा समेटिएका छन् ।
इतिहासविद् प्रा डा ढुङ्गेलले पुस्तकलाई नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको ‘प्रत्यक्ष दस्तावेज’का रूपमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, “पुस्तकले नेपाली समाजमा जरो गाडेको राजनीतिक अस्थिरता र त्यसले युवाहरूलाई देश छाड्न बाध्य तुल्याएको अवस्थालाई मर्मस्पर्शी ढङ्गले उजागर गरेको छ ।”
वरिष्ठ पत्रकार अधिकारीले चापागाईंको लेखनीमा रहेको जीवन्तता र वस्तुगत विश्लेषणको प्रशंसा गर्नुभयो । “उहाँद्वारा लिखित हरेक वाक्यले पाठकलाई सोच्न बाध्य बनाउँछ”, उहाँले भन्नुभयो, “यो पुस्तक केवल भूतको दस्तावेज मात्र होइन, वर्तमानलाई प्रश्न गर्ने र भविष्यको बाटो खोज्ने माध्यम पनि हो ।”
प्राध्यापक तथा पत्रकार दाहालले पुस्तकलाई ‘राजनीतिक चेतनाको ऐना’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “लेखकले पत्रकारको हैसियतले देखेका, सुनेका र भोगेका यथार्थहरूलाई गहिरो अभिव्यक्तिमा ढालेका छन् । पुस्तकले देशको दशा, जनताको आशा र नेतृत्वको जिम्मेवारीलाई एउटै थलोमा ल्याएको छ ।”
पत्रकार गाउँलेले नेपाली समाजमा यथार्थ बोल्ने साहित्यिक तथा पत्रकारितामूलक कृतिहरूको खाँचो रहेको बताउँदै ‘हेर्दाहेर्दै’ जस्तो पुस्तकले त्यो खालिपनलाई केही हदसम्म पूरा गरेको टिप्पणी गर्नुभयो । उहाँले यस्ता कृतिहरूको अध्ययनले नयाँ पुस्तालाई देशको वास्तविक अवस्था बुझ्न र सचेत हुन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पुस्तकका लेखक चापागाईंले कार्यक्रममा आफ्नो लेखनको उद्देश्य साझा गर्दैै भन्नुभयो, “यो मेरो व्यक्तिगत दृष्टिकोण मात्रै होइन, यो समयको दस्तावेज हो । मैले देखेका, महसुस गरेका र बाँच्दै आएका घटनाहरूलाई शब्दमा उतार्ने प्रयास गरेको हुँ ।”
पुस्तक ‘हेर्दाहेर्दै’ मा समेटिएका विषयहरूमा नेपालका प्रमुख राजनीतिक मोड, सरकारहरूको कमजोरी, शासन प्रणालीमा देखिएका असफलता, सार्वजनिक सेवाप्रतिको नागरिकको विश्वासको ह्रास र विशेषगरी युवाहरूको मनोविज्ञानका पक्षहरू रहनुका साथै पछिल्लो दशकमा बढ्दो युवा विदेश पलायनको कारण र प्रभावलाई गहिरो गरी समेटेको लेखकको भनाइ छ ।
पुस्तक ‘हेर्दाहेर्दै’ यथाशीघ्र देशभरका पुस्तक पसलहरूमा उपलब्ध हुने जानकारी आयोजकले जनाएको छ । लेखक चापागार्इं पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ भने यस पुस्तकमार्फत आफ्नो अनुभव, दृष्टिकोण र विश्लेषणलाई पाठक सामु प्रस्तुत गर्नुभएको छ । रासस











