४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयकः स्वतन्त्रताको आवरणमा नियन्त्रणको ‘ब्लुप्रिन्ट’ ?



अ+ अ-

नेपालको सञ्चार क्षेत्रलाई नयाँ युग सुहाउँदो बनाउने र पत्रकारितालाई थप मर्यादित र जवाफदेही तुल्याउने महान् उद्देश्यका साथ “मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भएको छ ।

आधा शताब्दी पुरानो प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापित गर्ने लक्ष्य बोकेको यो विधेयकको प्रस्तावनामा “स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा मिडिया काउन्सिलको स्थापना” गर्ने पवित्र लक्ष्य कोरिएको छ ।

यी शब्दहरू आफैँमा सुन्दर, प्रगतिशील र समयको माग हुन् । तर, कुनै पनि कानुनको सुन्दरता त्यसको प्रस्तावनामा होइन, त्यसका दफाहरूको अन्तरनिहित मर्म, संरचना र दर्शनमा लुकेको हुन्छ । जब हामी यो विधेयकको गहिराइमा पस्छौं, यसको स्वतन्त्रताको आकर्षक आवरणभित्र सरकारी नियन्त्रणको एउटा स्पष्ट र डरलाग्दो ‘ब्लुप्रिन्ट’ फेला पर्छ । यो विधेयक संरचनागत रूपमा मात्र त्रुटिपूर्ण छैन, बरु यो आजको जटिल डिजिटल मिडिया परिदृश्य र भविष्यका प्राविधिक चुनौतीहरूलाई सम्बोधन गर्न पूर्णतः असफल देखिन्छ, जसले यसलाई पारित हुनुअघि नै असान्दर्भिक र प्रतिगामी बनाइदिएको छ ।

यो विधेयक केवल एउटा कानुनी दस्तावेज मात्र होइन; यो एक्काइसौं शताब्दीको संघीय लोकतान्त्रिक गणतन्त्रमा राज्य, सञ्चार जगत् र आम नागरिकबीचको सम्बन्ध कस्तो हुनेछ भन्ने निर्धारण गर्ने एक दूरगामी महत्वको लिखत हो । यसले कोर्ने मार्गचित्रले नेपालको पत्रकारिताको भविष्य, सार्वजनिक बहसको स्तर र सरकारको पारदर्शिताको सीमा निर्धारण गर्नेछ । तसर्थ, यसको विश्लेषण विश्वव्यापी असल अभ्यासको कसीमा राखेर गर्नु अपरिहार्य छ ।

स्वायत्तताको हत्याः नियन्त्रणमुखी संरचनाको पासो

कुनै पनि नियामक निकायको प्रभावकारिता, निष्पक्षता र विश्वसनीयताको पहिलो र अनिवार्य शर्त त्यसको पूर्ण स्वतन्त्रता हो। तर, यो विधेयकले काउन्सिलको घाँटीमा जन्मिँदैदेखि सरकारी नियन्त्रणको एउटा बलियो पासो लगाइदिएको छ । विधेयकको दफा ६(२) अनुसार, काउन्सिलको अध्यक्ष र सदस्य नियुक्तिको सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ र मन्त्रालयकै सहसचिव रहने तीन सदस्यीय समिति बन्ने व्यवस्था छ । यो प्रावधान काउन्सिलको स्वायत्तताको हत्या गर्ने सबैभन्दा घातक अस्त्र हो।

मन्त्रालयको सचिवको नेतृत्वमा बन्ने समितिले सरकारप्रति बफादार र ‘आफ्ना मान्छे’ बाहेक अरूलाई सिफारिस गर्ला भनेर कल्पना गर्नु नै व्यर्थ छ । यो काउन्सिलमा ‘ताबेदार’ नियुक्त गरेर समग्र सञ्चार जगतमाथि हैकम चलाउने र सरकारको आलोचना गर्ने आवाजलाई नियन्त्रण गर्ने प्रपञ्च बाहेक केही होइन ।

यति मात्र होइन, दफा ९ ले पदाधिकारीलाई पदबाट हटाउनु परेमा पनि मन्त्रालयले नै जाँचबुझ समिति गठन गर्ने र त्यसको सिफारिसमा सरकारले हटाउन सक्ने व्यवस्था गरेको छ । यसले पदाधिकारीहरूलाई सधैँ मनोवैज्ञानिक दबाबमा राख्छ र सरकारको इच्छाविपरीत गएमा पदबाट हटाइने ‘तरबार’ सधैँ झुण्ड्याइरहन्छ । यस्तो संरचनाबाट नियुक्त भएका र बर्खास्तीको डरमा बाँचेका पदाधिकारीहरूले कसरी निडर र निष्पक्ष भएर काम गर्न सक्छन् ? यसको समाधान भनेको नियुक्ति प्रक्रियालाई सरकारी र राजनीतिक प्रभावबाट पूर्ण मुक्त राख्नु हो ।

सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीश वा प्रतिनिधि सभाका पूर्व सभामुखको नेतृत्वमा नेपाल बार एसोसिएसन, पत्रकारिताका प्राध्यापक, मानव अधिकारकर्मी र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू जस्ता स्वतन्त्र, गैर–राजनीतिक र व्यावसायिक विज्ञहरूको सिफारिस समिति बनाउनु नै स्वायत्तताको पहिलो ग्यारेन्टी हो । बेलायत, आयरल्यान्ड र नर्डिक देशहरूमा प्रेस काउन्सिलहरू सरकारबाट पूर्ण स्वतन्त्र रहनु र भारतमा न्यायाधीशले नेतृत्व गर्दा यसले सम्मान पाउनुको पछाडि यही स्वतन्त्र संरचनाको देन छ ।

डिजिटल युगको भूमरीः सामाजिक सञ्जाल र युट्युबको अनियन्त्रित पत्रकारितामा मौन

विधेयकको अर्को गम्भीर कमजोरी भनेको यो आजको डिजिटल वास्तविकताबाट पूर्णतः बेखबर हुनु हो । आज पत्रकारिता छापा र प्रसारणको साँघुरो घेरामा सीमित छैन । फेसबुक, युट्युब, टिकटक जस्ता प्लेटफर्महरू समाचार र सूचनाका प्रमुख स्रोत बनेका छन् । तर, यहीँ नै सबैभन्दा ठूलो चुनौती पनि लुकेको छ । समाचारको आवरणमा व्यक्तिगत विचार, प्रचार, गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने “डिजिटल प्रसारक” हरूको बिगबिगी छ । उनीहरूको कुनै सम्पादकीय संरचना वा जवाफदेहिता हुँदैन, तर उनीहरूको प्रभाव भने विशाल छ । उनीहरूले सिर्जना गर्ने ‘एको च्याम्बर’ ले समाजमा वैचारिक ध्रुवीकरण बढाएको छ ।

यो विधेयकले यस्ता ‘डिजिटल समाचार प्रसारक’ र व्यावसायिक ‘अनलाइन समाचार माध्यम’ बीच कुनै भिन्नता छुट्याउन सकेको छैन । सबैलाई एउटै डालोमा राखेर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लाग्ने जोखिम हुन्छ भने केही नगर्दा गलत सूचनाको बाढी रोकिँदैन । विश्वमा यसको समाधानका लागि ‘तहगत दृष्टिकोण’ अपनाउन थालिएको छ ।

यसअनुसार, दर्ता भएर व्यावसायिक पत्रकारिता गर्ने ‘अनलाइन समाचार माध्यम’ र सामाजिक सञ्जालमा आधारित भएर आर्थिक लाभ लिने ‘डिजिटल समाचार प्रसारक’ लाई फरक–फरक नियमनको दायरामा राखिन्छ । आम नागरिकको व्यक्तिगत अभिव्यक्तिको सम्मान गरिन्छ ।

यसको समाधानका लागि काउन्सिलले ‘पुलिसिङ’ गर्नेभन्दा पनि ‘मार्गदर्शन’ गर्ने भूमिका खेल्नुपर्छ । विधेयकमा डिजिटल समाचार प्रसारकहरूका लागि स्वेच्छिक सूचीकरण प्रणालीको व्यवस्था गर्न सकिन्छ । सूचीकृत हुन चाहनेलाई व्यावसायिक विकासका अवसरहरू दिने र आचारसंहितामा बाँध्ने, तर सूचीकृत नभए पनि गम्भीर रूपमा हानिकारक सामग्री फैलाउनेलाई प्रचलित कानुनको दायरामा ल्याउने बाटो खुला राख्नुपर्छ । यसका साथै, जर्मनीको कानुन जस्तै प्लेटफर्महरूलाई जवाफदेही बनाउने र फिनल्यान्ड जस्तै नागरिकलाई नै सचेत बनाउने मिडिया साक्षरता अभियानमा लगानी गर्नु आजको आवश्यकता हो ।

पत्रकारिताको मेरुदण्डः उपेक्षित समाचार समितिहरू

पत्रकारिताको इकोसिस्टममा समाचार समिति वा न्युज एजेन्सीहरू मेरुदण्ड हुन् । उनीहरू आफैँ प्रकाशक-प्रसारक होइनन्, तर उनीहरूले उत्पादन गर्ने एउटा सामग्रीले सयौं मिडियामार्फत लाखौं नागरिकसम्म प्रभाव पार्छ । उनीहरूले दिने एउटा गलत समाचारले सिंगो मिडिया जगतलाई नै प्रदूषित गर्न सक्छ । उनीहरूको आर्थिक मोडेल पनि फरक छ; उनीहरू विज्ञापनमा नभई सेवा शुल्क र सरकारी अनुदानमा निर्भर रहन्छन्, जसले उनीहरूलाई आर्थिक रूपमा कमजोर र बाहिरी दबाबप्रति संवेदनशील बनाउँछ ।

यो विधेयकले समाचार समितिको यो विशिष्ट प्रकृति र भूमिकालाई पूर्ण रूपमा नजरअन्दाज गरेको छ । उनीहरूलाई अन्य सञ्चार माध्यम सरह व्यवहार गरिएको छ, जुन अन्यायपूर्ण छ । समाचार समितिहरूलाई संरक्षण, प्रवद्र्धन र नियमनको विशेष व्यवस्था आवश्यक पर्छ । काउन्सिलको संरचनामा समाचार समितिको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ । काउन्सिलको कार्यक्षेत्रमा उनीहरूको व्यावसायिकता र संस्थागत विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भूमिका थपिनुपर्छ ।

उनीहरूका लागि आचारसंहितामा तथ्यको शुद्धता, प्रमाणीकरण र भूलसुधारको प्रभावकारी संयन्त्र मा विशेष जोड दिनुपर्छ । साथै, ‘सार्वजनिक हित पत्रकारिता कोष’ स्थापना गरी राष्ट्रिय महतवका समाचार संकलनका लागि उनीहरूलाई अनुदान दिने व्यवस्था गर्न सकिन्छ, जसले उनीहरूको सम्पादकीय स्वतन्त्रतालाई असर नगरी आर्थिक दिगोपना प्रदान गर्छ ।

भविष्यको चुनौतीः कृत्रिम बौद्धिकता (एआई) बारे सोच्न सकेन 

एउटा प्रगतिशील कानुनले वर्तमानलाई मात्र होइन, भविष्यलाई पनि सम्बोधन गर्न सक्नुपर्छ । तर, यो विधेयक भविष्यका चुनौतीहरूप्रति पूर्णतः अन्धो देखिन्छ । आजको युगमा कृत्रिम बौद्धिकता (एआई) को उदयले पत्रकारिताको विश्वव्यापी परिदृश्यमा क्रान्ति ल्याइरहेको छ । एआईको प्रयोगबाट सजिलै बन्न सक्ने नक्कली समाचार, तस्वीर र ‘डिपफेक’ भिडियोले पत्रकारिताको विश्वसनीयतामाथि नै गम्भीर संकट ल्याउन सक्छ । तर, यो विधेयक एआईको व्यवस्थापनबारे पूर्णतः मौन छ ।

यो मौनताले विधेयक निर्माताहरूको अदूरदर्शिता र वर्तमानमा मात्र रमाउने प्रवृत्ति देखाउँछ । यसको समाधानका लागि विधेयकमा तत्काल सुधार आवश्यक छ । परिभाषामा ‘एआई–सिर्जित सामग्री’ लाई समावेश गर्ने, आचारसंहितामा पारदर्शिता, सार्वजनिक निगरानी, र जवाफदेहिता सम्बन्धी अध्याय थप्ने, र काउन्सिलको कार्यक्षेत्रमा “एआईको नैतिक प्रयोगबारे अनुसन्धान र निर्देशिका जारी गर्ने” भूमिका तोक्नु अपरिहार्य छ । युरोपेली संघको ‘एआई एक्ट’ र विश्वका प्रमुख मिडिया हाउसहरूले एआईको नैतिक प्रयोगका लागि गाइडलाइन बनाइरहेका छन् । यस्तो व्यवस्थाले नेपालको मिडिया नियमन प्रणालीलाई भविष्यमुखी बनाउँछ ।

ऐतिहासिक अवसर कि भूल?

मिडिया काउन्सिल विधेयक नेपालको लोकतान्त्रिक यात्रामा एउटा महत्त्वपूर्ण दोबाटो हो । यसलाई पारित गर्ने सांसदहरूलाई इतिहासले दुईवटा विकल्प दिएको छः कि त सरकारको नियतमाथि वैधताको छाप लगाउँदै प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने एउटा प्रतिगामी कानुन बनाउने, कि त सरोकारवालाहरूको आवाज सुनेर र विश्वव्यापी असल अभ्यासलाई आत्मसात् गर्दै साँच्चिकै स्वतन्त्र, स्वायत्त र भविष्यमुखी काउन्सिल निर्माण गर्ने ऐतिहासिक अवसरको सदुपयोग गर्ने ।

यो विधेयकलाई यसको वर्तमान स्वरूपमा पारित गर्नु भनेको प्रेस स्वतन्त्रताको आवरणमा नियन्त्रणलाई स्वीकार्नु हो । संसदीय समितिले यसका दफाहरूमा सामान्य हेरफेर गरेर मात्र पुग्दैन । यसको संरचनागत र दार्शनिक आधारमै आमूल परिवर्तन गर्न आवश्यक छ । विशेषगरी, नियुक्ति प्रक्रियालाई पूर्ण स्वतन्त्र बनाउने, दण्डात्मक प्रावधानहरू हटाउने, आर्थिक स्वायत्तता सुनिश्चित गर्ने, र डिजिटल मिडिया, समाचार समिति तथा एआई जस्ता भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी यसलाई परिमार्जन गर्नैपर्छ ।

एउटा बलियो र स्वतन्त्र मिडिया काउन्सिल सरकारको शत्रु होइन, बरु यो एक स्वस्थ, पारदर्शी र जीवन्त लोकतन्त्रको अनिवार्य शर्त हो । सांसदहरूको विवेकपूर्ण निर्णयको परीक्षाको घडी यही हो, र उनीहरूले गर्ने निर्णयले नेपालको लोकतन्त्रको भविष्यको दिशा तय गर्नेछ ।