३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमताल विस्फोट भएर रसुवामा बाढी आएको हुनसक्ने अनुमान



अ+ अ-

काठमाडौँ । रसुवामा मङ्गलवार आएको बाढीले स्थानीय क्षेत्रमा ठूलो प्रभाव पारेको छ । जल तथा मौसम विज्ञान विभागले यो बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । विभागकाअनुसार बाढीको प्रकृति सामान्य वर्षातको कारणले भएको नदेखिएको र अन्य सम्भावित कारणहरू पनि हुनसक्ने भएकाले विस्तृत अध्ययन भइरहेको छ ।

तिब्बत क्षेत्रमा रहेका हिमतालहरू र तिनमा देखिएको परिवर्तनलाई लिएर विभागले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समन्वय गरी भू–उपग्रह तस्वीरहरूको विश्लेषण गरिरहेको बताएको छ ।विभागका मौसमविद् विनोद पराजुलीले बादलले छेकेका कारण तस्बिरहरू स्पष्ट नभएको र यकिन कारण पत्ता लगाउन समय लाग्ने बताउनु भयो । भोटेकोशी र त्रिशुली क्षेत्रमा अहिले बाढीको जलस्तर सामान्य अवस्थामा फर्किएको र तत्काल थप जोखिम नदेखिएको भए पनि सामान्य जोखिम मनसुन भरि कायमै रहेको बताउनु भयो ।

उहाँले  भन्नुभयो “यकिन कारण पत्ता लगाउन जल तथा मौसम विज्ञान विभागले सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग समेत समन्वय गरेर काम गरिरहेको छ । तिब्बत क्षेत्रका सम्भावित बाढी सिर्जना भएका स्थानका केही भू–उपग्रहका तस्बिरहरु प्राप्त भएका छन् । तस्बिरहरूमा बादलले छेकेकोले स्पष्ट देखिएको छैन । हामीले यही क्षेत्रबाट अथवा यही तालबाट विपद् वा बाढी सुरु भएको भनेर एकिन गरिसकेको अवस्था छैन तर हामी नजिक पुग्दैछौँ।”

विभागले बाढी भारी वर्षातको कारणले नभएको बताएको छ । हिमनदी क्षेत्रमा हिउँ पग्लिएर बनेका साना तालहरूमा परिवर्तन देखिएको र ती तालहरू नेपालबाट करिव २५ किलोमिटर टाढा तिब्बत क्षेत्रमा रहेको अनुमान गरिएको बताएको छ । उहाँले भन्नुभयो “सम्भावित पहिलो कारण हिमताल विस्फोट नै हुनसक्छ । दुई–तीनवटा तस्बिरहरू जसको हामीले अध्ययन गरिरहेका छौँ । त्यसमा शुप्राग्लासियर लेक भन्छाँै । हिमनदीको क्षेत्रमा हिउँ पग्लिएर विभिन्न साना–साना तालहरू बनेका छन् र ती तालहरूमा केही परिवर्तन देखिएको छ, तिब्बत क्षेत्रमा, ती तालमा देखिएको परिवर्तनको भेरिफिकेसन पनि बाँकी छ।”

मौसमविद् पराजुलीले  बाढीको प्रकृति असामान्य रहेको र  १०–१५ घण्टासम्म एकनासले बाढी आएको जानकारी दिनु भयो । यो पहिलाको प्रकृतिभन्दा फरक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “बाढीको प्रकृतिबाट हामी पनि द्विविधामा परेका छौँ । यो घटनामा १०–१५ घण्टासम्म एकनासले बाढी आइरहेको छ। यो सामान्य होइन। पहिलाको प्रकृतिभन्दा पृथक देखिएको छ । यो अवस्था हिमताल विस्फोट भएर मात्र हो भन्न नसकिने छ । यसको विस्तृत अध्ययन जरुरी भएको छ।”

विभागले हिमताल विस्फोटलाई मुख्य सम्भावित कारण मानेर अध्ययन गरिरहेको छ । तत्कालका लागि जोखिम घटे पनि सामान्य जोखिम कायमै रहेको विभागको अनुमान छ । छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने विभागले जनाएको छ ।