१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्कमा झल्कियो आदिवासी जनजाति संस्कृति



अ+ अ-

न्यूयोर्क। नेपालका विभिन्न आदिवासी जनजातिहरुले अमेरिकाको न्यूयोर्कमा आफ्नो मौलिक संस्कृति प्रस्तुत गरेका छन् ।

न्यूयोर्कको उडसाईडमा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाले शुक्रबार आयोजना गरेको वृहत आदिवासी जनजाति सांस्कृतिक साँझमा १८ वटा आदिवासी जनजातिहरुले आफ्नो मौलिक संस्कृति र नृत्य प्रस्तुत गरेका हुन् । डम्फु र टुंगना बजाउँदै तामाङ सेलो र डोलक बजाउँदै नाँचिएको सोई ढोले सोईले नेपालको सांस्कृतिक विविधतालाई अमेरिकामा जीवन्त बनाएको थियो ।

त्यस्तै कुमारी नाँच, शेर्पा नाँच सँगै मगर संस्कृति झल्कीने नृत्यले कार्यक्रमलाई रोचक बनाएको थियो । कार्यक्रममा सहभागिहरु आआफ्नो मौलिक भेषभुषामा उपस्थित भएका थिए ।

औपचारिक कार्यक्रम भन्दा फरक शैलीमा गरिएको सांस्कृतिक साँझमा देखाईएको प्रस्तुतिलाई नेपाली एवं अमेरिकी सहभागिहरुले निकै रुचीका साथ अवलोकन गरेका थिए ।

सन् २००५ मा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ न्यूयोर्कको सबैभन्दा ठूलो नेपाली संस्थाको रुपमा रहेको छ । जसले १८ वटा विभिन्न जातीय संस्थाहरुलाई आफ्नो छाता मुनी राखेको छ । ग्लोबल जनजाति महासंघको नाममा गठन भएको यो संस्था सन् २००७ मा नेपाल आदिवासी जनजाति महासंघ बनेको हो ।

महासंघले नेपालको कला, संस्कृति, भेषभुषा, परम्परा र भाषा संरक्षण, सम्बद्र्धन एवं पुस्तान्तरणमा महत्वपूर्ण योगदान दिदै आएको छ भने नेपालमा विभिन्न परिस्थितिमा सहयोग गरिरहेको छ ।

महासंघले गतवर्षदेखि वृहत आदिवासी जनजाति सांस्कृतिक साँझ गर्न सुरु गरेको हो । कार्यक्रममा फिप्नामा आवद्ध सबै संस्थाहरुले छुट्टै पहिचानसहितको प्रस्तुति दिएका थिए ।

फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सञ्चालन भएको सांस्कृतिक साँझको समन्वय एवं व्यवस्थापन महासचिव दिपक चौधरीले गर्नु भएको थियो । कार्यक्रममा न्यूयोर्क महानगरका स्थानीय प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । फिप्नालाई न्युयोर्क महानगर डिस्टीक ३० का काउन्सिल म्यान रोबर्ट होल्डेनले सर्टिफिकेट अफ रिकग्नीसन हस्तान्तरण गर्नु भएको थियो ।

फिप्नाका अध्यक्ष गुरुङले अमेरिकामा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिने भन्दै दोश्रो पुस्तालाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउने दावी गर्नु भयो । उहाँले भाषा, संस्कृतिको पुस्तान्तरण अहिलेको चुनौति भएकाले त्यसका लागि फिप्ना यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो ।

त्यस्तै महासचिव दिपक चौधरीले सम्पूर्ण संघसंस्थाहरुलाई अझै सक्रिय भएर लाग्न आग्रह गर्दै त्यसको नेतृत्वका लागि फिप्ना सधै तयार रहेको बताउनु भयो । उहाँले कार्यक्रमलाई सभ्य र भब्य बनाउन साथ दिने स्थानीय संघसंस्था एवं फिप्नाका सदस्य संस्थाहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

फिप्नाका बरिष्ठ उपाध्यक्ष पेमा लामाले स्वागत गरेको कार्यक्रमको समापनमा कलाकार एवं प्रायोजकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष गुरुङले अगष्ट ९ मा न्यूयोर्कमा आदिवासी जनजाति दिवसको आयोजना गरिएको र यो दिवसलाई ऐतिहासिक बनाउन सबैलाई आग्रह गर्नुभयो ।