२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुराका एक हजार घरका छाना फेरिने



अ+ अ-

बाजुरा । जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका करीब एक हजार घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक  हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन् ।

स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले बजेट परेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो । टिनका छाना छाउन अनुदानस्वरुप सबै खर र फुसका छाना हटाउने नीतिअनुसार पहिलो चरणमा जिल्लाका एक हजारभन्दा बढी परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाइ छ । तराई र मधेशका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ ।

पहिलो वर्ष बाजुराका त्रिवेणी नगरपालिकामा ५८, बूढीनन्दा नगरपालिका १३४, गौमूल गाउँपालिकामा १६६, बडिमालिका नगरपालिकामा ८८, बूढीगङ्गा नगरपालिकामा ९९ र  स्वामिकार्तिक खापर गाउँपालिकामा ११० घरधुरीले अनुदान पाउने छन् । 

यस्तै खप्तड छेडेदह गाउँपालिकामा १३१,  जगन्नाथ गाउँपालिकामा १४१  र हिमाली गाउँपालिकामा ८५ घरधुरी समेटिएका छन् । अनुदानसहित कर्कटपाता खरीद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।

यसअघि बाजुराजस्तो दुर्गम पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याइएकामा प्रतिनिधिसभा सदस्य लालबहादुर थापासहित सुदूरपश्चिम र हिमाली जिल्लाका सांसदले विरोध गरेका थिए । विरोधलगत्तै सरकारले सबै जिल्ला समेट्ने र तीन वर्षभित्र खर र फुसका छानामुक्त नेपाल बनाउने नीति लिएको छ । बाजुरामा धेरै घर अहिले पनि खर र  माटाले छाएका छन् ।  ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको सांसद थापाले बताउनुभयो ।