२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोको माया



अ+ अ-

न्यूजपोलार ए.आई.

क्यामराबाट सबैलाई हेरे अनि उनलाई केन्द्रित गरेर एक छिन् हेरे ।

ति आँखाहरु जो अहिले क्यामेरा हेर्ने निहुँले मलाई नै हेर्दै थिए ।

त्यो मन्द मुस्कान जसले मन भित्र पनि उज्ज्यालो छ भन्ने जनाउथ्यो ।

फोटो खिचे,सबैले एक पटक आफुंलाई मेरो मोबाईलमा हेर्नु भयो ।

विस्तारै घाम छिप्पीदै छ । असोजको महिना, पीपलका पातहरु हावामा खेलिरहेका छन् । सबेरै उठेर उत्तर तर्फ हेर्छु । मन अल्लादीत हुन्छ । पर…चारकोसेका अग्ला अग्ला रुखहरु, ठिक त्यस माथि चुरे पहाड बसेको जस्तो,त्यो भन्दा माथि महाभारत पर्वत श्रृखला र त्यसमा यात्रा गरि रहेका बादलहरु, बादलले छेकेका सेता हिमाल अनि त्यो भन्दा माथिको आकाश । हेर्दा हेर्दै बिहान कति छिटो सकिएछ पत्तै भएन ।

मेरो मन र म दुवै कार्यालय पुग्यौं । शरिर काममा व्यस्त छ, मन भने कता कता दौडिरेको छ । केहि कुराको पुर्वसंकेत पाएको भान यो मनले गरेको छ । सायद कोहि संग आज भेट हुन्छ जस्तो । केहि हराएको थियो र आज भेटिदैछ जस्तो ।

पहिलो दिन भएकोले तालिम हलमा सहभागिहरु आउने क्रम चलिरहेको हुन्छ । मेरो जागिरे जीबनको यो चौथो जिल्ला हो । मलाई आपैmले जानेका कुरा अरुलाई भन्न,सुनाउन असाध्यै मन लाग्छ । हामी महेन्द्रमाला सिरीज पढेका पुस्ताहरुलाई गफ गर्न खुब मन लाग्छ र गफ पनि खुब गर्छौ पनि ।

अरु साथीहरु ठिक समयमा अफिस पुग्नु हुन्थ्यो भने मलाई भने कामले तानेर होला प्राय:म कार्यालय पुग्न कहिल्यै पनि ढिला गर्दिन । झन् आज त मेरो मन बिहनै देखि अलि फरक नै थियो ।

झ्याल खोल्दै थिए,झ्यालका पल्ला के उर्घेका थिए, मेरा आँखा कतिबेला ति आँखाहरुमा पुगिसकेछन पत्तै भएन । निहुरिएर आएको छड्को नजरले मलाई च्याप्प समातेको थियो । मुटु फुलेर आयो एकछिन पछि हातले नमस्कार गरेछन् । मनले त स्वीकार गरि सकेको थियो । अनयासै ती आँखाहरु तीर बनेर पछिसकेछन् । मन प्रफुल्लित भयो किन थाहै थिएन । नियम थियो, डर थियो, सबै नौला मान्छेहरु थिए तर ति आँखाहरु मलाई धेरै परिचित लागे,आफ्ना लागे अनि प्यारा लागे । एक पटक अन्य सहभागिहरुलाई शिसाकलम दिने निँहुले मेरा औलाहरु अनायसै ति हातसम्म पुगेछन् मलाई थाहै थिएन तर मनले कति बेला चाल पाएछ फेरि एक पटक त्यो हात, ति औलाहरु परिचित लागे, किन किन हातहरुले मलाई कसे जस्तो लाग्यो । म कता पुगे पुगे ।

एउटा सानो घर । पहाडको फेदी । खोलाको कलकल आवाज । बारीमा सागपात । खोलाको डिलमा बुढो काफलको बोट । डाँडामा देखिने गुराँसको रातो । बोट भने असाध्यै नराम्रो हुने के, गुराँसको तर फूल भने शिरमै सजाउने । गुराँस फुलेको कमै दखिन्थ्यो होला, यदि यसको बोट सखुवाको जस्तौ वा सिसौंको जस्तो भएको भए । प्रकृतिको सृजना पनि अद्भूत छ, गुँरासको बोट र फूल कत्ति नमिलेको देखिन्छ । सायद मान्छेको मन र शरिर पनि यस्तै हुन्छ होला कतिपयको । पाखाभरि धान पोटाउन थालेका छन् । कार्तिेके सिमी परालको चुली तिर चढ्दै छ । ओखरका पातहरु बेतमास सुन्तलाको बोटमा मिसिएका छन् उत घिरौलाको लहराले अम्बाको बोट छेकेको छ । दशैं आउदै थियो । बुबा बिहानै खेत जानु भएको छ । आमाले फर्सिको मुन्टा केलाउदै हुनुुहुन्छ ।

म ल्यापटपमा छु, म धेरै कामहरुको घान एकै पटक हालेर विस्तारै विषयगत र आवश्यकता अनुसार हात र मष्तिष्कको मेशीन चलाउदै काम गर्न रुचाउने मान्छे । मेरो ल्यापटपमा तीन चारवटा फाईलहरु एकै साथ खुलेका हुन्छन् । कुनै पढ्ने किशिमका, कुनै आफ्नै जिम्मेवारीका लागि तय भएका, कुनै चाख लाग्दा लेख वा समाचार भए त्यो पनि फाईल खोलेर राखि रहेको हुन्छु । गीतहरु बजीरहेछन् ।

हेलो सर ! कति दिनलाई हो तपाईँ तालिममा जाने ? कुन कुन कपडा लाने हो ? यसो बोले त हुदो हो । कसरी बुझ्नु हौ त्यो मनको कुरा ? भीर मौरीको मह जस्तो आवाज आएर कानमा ठोक्कीयो । मिठो पनि, औषधि पनि, धेरै खाए लाग्ने पनि । म भोलि देखि तालिम चलाउनका लागि हप्ता दिनलाई कर्णाली जादैछु ।

मलाई दिन दिनै कपडा फेरेर लगाउन मन पर्दैन भन्ने कुरा थाहै छ, मेरो सानो ब्यागमा काईयो, तेल, नङ्खकट,साबुन, ब्रस, जस्ता वस्तुहरु राख्नु पर्छ भन्ने थाहै छ । बाटोमा मलाई चिउरा र पानि भए तीन दिन त केहि चाहिदैन भन्ने पनि थाहा छ । तालिम बाट प्राप्त हुने शुल्कको आधा शुल्क बुझाउनु पर्ने सम्झौता पनि थाहै छ ।

किन प्रश्न सोधनि भयो भनेर यो ध्यान दृष्टिेले हेरेको त, तिल्की चामल,अम्चुर, तोरिको तेल आदि, मैले फर्कदा ल्याउनु पर्ने सामानको सुचीमा रहेको एकिन भयो । अँ त्यो निलो रङ्खको टि सर्ट,ढाका टोपी, कोट पनि झोलामा प्याक गरि दिनुहोस है मेडम ।

मलाई न लुगा मिलाएर लाउन आउछ न त कपडा मिलाएर राख्न नै आउछ । ल ल मेरो काम नै यहि त हो नि, आफ्नो ढंग छैन, अब त सिक्नु नै है यतिका वर्ष भइसकेर पनि खालि मेरै भर परेको छ । मनमनै मैले भने ए २० वर्ष पो हुन थालेछ त ।

मलाई कसैले मेरो आनिबानि, कामप्रति टिप्पणी गरे, केहि नबोल्ने बानि सानै देखिको हो । बुबाले दिएको अर्ति खुश मन पर्छ । कि त ज्ञान जान्नु कि त भनेको मान्नु म प्राय: आफै जानेरै धेरै कुरा सम्पालन गर्ने भित्र पर्दछु । मलाई थाह थियो म भन्दा पहिला मेरो झोला पूर्ण रुपले तयार हुन्छ अनि किन बोल्नु ? र उनलाई पनि राम्ररी थाहा छ, म फर्कदा सुचीमा भएका भन्दा थप सामाग्रीहरु आउने नै छन् ।

बिहानै म हिड्ने बेला भयो । केटाकेटीहरु हाम्रो भलाकुसारी सुनेर सुतेका छन्, बाबाले सय–सय रुपयाँ दिनु हुन्छ कि एउटा सयको नोट दिएर आधा आधा बाडेर खानु भन्नु हुन्छ मात्र प्रतिक्षा यसैको हुन्छ उनिहरुमा । उनिहरुको सिरानी मुनि पैसा राखेर, सिरक बाहिरैबाट उनिहरुको मुख हेरेर हिड्ने मेरो बानि छ । सानि छोरीले भने जाने दिन खासै वास्ता गर्दिनन् तर जब बेलुका गन्तब्यमा पुगेर फोन गर्छु उनको पहिलो प्रश्न हुन्छ बाबा कहिले आउने ? यहि प्रश्नले म बेजोड खुशी भएर मेरो काम र जिम्मेवारी पुरा गर्न हौसला दिने गर्छ ।

म झोला बोकेर बाहिर गेटमा निस्कदै थिए…सर खाजा आयो ।

अफिसको गेटबाट आएको आवाजले म कहाँ रहेछु, म को रहेछु भन्ने झट्ट ख्याल आयो, तालिमको आधा दिन सकिएको पो रहेछ । ओहो ! मान्छेको मन पनि कति छिटो दौडने रहेछ नि, म पनि दौड्दै खाजा समाउन अफिसको गेटमा पुगे । आजको खाजा थियो खिर ।

खिर खान हात धुने बेला भयो । धारामा मेरा हातहरु जान मानेनन फेरि त्यो हातको आश गरे झै लाग्यो जब ति हातहरु धारमा पुगे, मेरा हातहरु मैले रोक्न सकिन । उनको हातबाट बगेको चिसो पानि मेरा हातमा खसे पछि मात्र भुईमा खस्यो । मलाई त्यो पानिको खुब लोभ लागेर आएको थियो कि मुखैमा राखेर निलु । धारामा दुई जना मात्र भयौं । म बोल्न सकिन मात्र हेरि रहें । कपाल हेरे, ओठ हेरे, अनुहार अघिको कल्पनाको गुराँस जस्तै । कयौ कुराहरु भन्न मन थियो,नाम पनि थाह छैन, उज्यालो अनुहार, मिलेका दन्तलहर, लामो कपाल, औलामा औठी, नाकमा नथिया, रातो सल सबै आउने गरि एउटा तस्वीर खिच्ने योजना बनाए ।

पहिलो दिनको अन्तिम कक्षा सकियो । सबैजना क्यामरा अगाडी, म आफै क्यामेरा मेन बने । खोई किन हो फोटो राम्रो आउने क्यामरा बोक्ने धोको भने मेरो बाकि नै छ । मलाई यो सारा दुनियाँलाई क्यामरामा अटाउन मन पर्छ । प्रकृतिको सुन्दरतालाई छोईरहन मन लाग्छ । आकाश, चरा बादल, हिमाल, जंगल भन्दा पनि मलाई मान्छेको मन कैद गर्न मन लाग्छ । त्यो मन भित्रको कथाको तस्वीर खिच्न मन लाग्छ । मान्छेका कथा पनि अनेकौ हुने रहेछन् ।

क्यामराबाट सबैलाई हेरे अनि उनलाई केन्द्रित गरेर एक छिन् हेरे । ति आँखाहरु जो अहिले क्यामेरा हेर्ने निहुँले मलाई नै हेर्दै थिए । त्यो मन्द मुस्कान जसले मन भित्र पनि उज्ज्यालो छ भन्ने जनाउथ्यो । फोटो खिचे,सबैले एक पटक आफुंलाई मेरो मोबाईलमा हेर्नु भयो । मैले कसैलाई मेरो मोबाईलमा राखेको थिए । सामुहिक फोटो त बहना थियो । एउटा फोटो खिच्नु थियो । एउटा मनको फोटो ।

क्रमश :
देवी प्याकुरेल
जाजरकोट