२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारीमा निगमको सुरक्षित उडान



अ+ अ-

काठमाडौं । नेपाल एयरलाइन्सले उच्च स्वास्थ्य सतर्कता अपनाएर चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्ने काम गरिराखेको छ । लकडाउन सुरु भएयता मंगलबार बिहान सम्म एयरलाइन्सले ६१ चार्टर्ड उडान मार्फत करिब १० हजार यात्रुलाई सेवा दिइसकेको छ । विमानमा यात्रा गर्दा कोभिड–१९ रोकथामका लागि अपनाइएको सुरक्षाका विधिहरु भने विश्वका अन्य एयरलाइन्सले अपनाएको भन्दा कम नभएको एयरलाइन्सले बताएको छ । 

नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख.दीपु जुहारचनले कोरोना अपरेटिङ प्रोसिड्युअर बनाएर चार्टड उडानलाई व्यवस्थित गरिएको बताउनुभएको छ । उहाँले यात्रुसँग सकेसम्म सम्पर्क कम होस भन्ने उद्देश्य अनुसार खाने कुरामा प्याक्ड सर्भिस उपलब्ध गराइएको जानकारी दिनुभयो । यस्तै विमान भित्र कुनैपनि यात्रुलाई कोरोना भाइरस (कोभिड–१९)को लक्षण देखा परेमा तत्काल आइसेलेटेड गर्ने व्यवस्था विमान भित्रै गरिएको जुहारचनले बताउनुभयो । उहाँले भन्नुभयो ‘कुनै प्यासेन्जरलाइई केही लक्षणहरु देखियो भने इनफ्लाइट म्यानेज गर्नेगरी इनफ्लाइट आइसोलेसन जोन पनि बनाएका छौं ।’ यसँग विमान भित्र केही समस्या भएमा तत्काल आइसोलेसनमा राख्ने र संक्रमणको जोखिम कमगर्ने मेजर्सहरु अपनाइएको उहाँले बताउनुभयो ।

चालकदलका सदस्यहरुलाई घर जान नदिई होटल क्वारेनटाइनको व्यवस्था गरिएको समेत जुहारचनले बताउनुभयो । उहाँले भन्नुभयो ‘उडान भरेपस्चात आफ्नो घरमा गएर बुढाबुढि आमाहरु कोही होलान सायद या कुनै बालबच्चाहरु होलान वहाँहरुसँग सिदा सम्पर्कमा नआओस भनेर हामीले क्वारेन्टाइनको सेटअप गरेका छौं सोलटी होटलमा । उडान भइसकेपछि पनि घर जानु अगावै हामीले पीसीआर टेस्टिङ गरेर नेगेटिभ रिजल्ट आइसकेपछि घर पु¥याइदिने व्यवस्था गरेका छौं ।’ 

लकडाउनको अवधिमा नेपाल एयरलाइन्सले कार्गो पठाउने र भित्र्याउने काम पनि राम्रो पाएको छ । यस्तै यो अवधिमा करिब २० हजार यात्रु नेपाल भित्रिएको जुहारचनले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो अवधिभरी हामीले १ लाख ८४ हजार १ सय ८७ केजी कार्गो नेपालबाट बाहिर पठाएका छौं । त्यस्तै १ लाख ९३ हजार ९ सय २७ केजी कार्गो भित्र्याएका छौं । यो बिचमा हामी १४ वटा नयाँ गन्तव्य छ हाम्रो । लगत्तै थ्रि थर्टिमा २ सय ७० र ३२० जहाजमा १ सय ४५ यात्रुको अन्दाजि गर्दा लगभग करिबकरिब १० हजार जति यात्रु ओसारी सकेका छौं ।’ 

नेपाल एयरलाइन्सका पाइलत सुरज भण्डारीले कुनैपनि उडान भर्दा गम्भिरतापूर्वक नै स्वास्थ्य सतर्कता अपनाइएको बताउनभयो । उहाँले कोरोना भाइरसको सम्बन्धमा सम्पूर्ण जानकारी राखिएकाले कुनै डर नभएको बताउनुभयो । नियमित उडान नभएपछि चार्टड उडानमार्फत नयाँ एयरपोर्टमा पुग्न परेको अवस्थामा स्वास्थ्यलाई प्राथमिकता दिएर भौतिक दूरी कायम गर्दै गम्भिरतापूर्वक सावधानी अपनाइएको उहाँले बताउनुभयो । भण्डारीले नेपाल एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युअर बनाएको र त्यहि अनुसार नै काम गरिएको बताउनुभयो । ति सबै जानकारीलाई सही तरिकाले प्रयोग गर्न आफुहरुले ध्यान दिएकोले कुनै असुरक्षाको महसुस नभएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘उपलब्ध जानकारीहरुलाई सही तरिकाले कार्यान्वयन गरेर आफुलाई कसरी सुरक्षित गर्ने र हामीसँग यात्रा गर्ने यात्रुहरुलाई कसरी सुरक्षित गर्ने त्यो तरिकाबाट काम गरिरहेको हुनाले त्यस्तो डर छैन ।’

उहाँले एकजना पाइलटले दिनमा एक वटा मात्रै उडान गरिराखेको बताउनुभयो । पाइलटलाई थकान नहुने गरी तालिका मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी पाइलटहरुले अधिकतम दिनको एकवटा फ्लाइट गरिराखेका छौं । हाम्रो जुन नीति नियमहरु छ त्यसभित्र बसेर पाइलटलाई थकान नहुने हिसाबले, आरामलाई पनि ध्यान दिएर उडान गरिएको छ ।’

पाइलट भण्डारीका अनुसार विदेशको एयरपोर्टमा भन्दा नेपालको एयरपोर्टमा बढी स्वास्थ्य सावधानीका विधिहरु अपनाइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘एक हप्ताको दौरानमा म आफु व्यक्तिगत रुपमा मल्दिभ्स, बहराइन, दुवै र आज मलेसिया गएर फर्कियौं त्यहाँ जुन स्टाण्डर्ड प्रोसिड्युअर्सहरु छ यहाँपनि त्यसरी नै व्यवस्थापन गरिएको छ । सोसियल डिस्टेन्स मेन्टेन गर्ने काम भइराखेको छ त्यहाँ पनि । एउटाकुरा फरक हाम्रोमा के हो भने वहाँहरुले जसरी यात्रुलाई एकैचोटि हुलमा लगेर जाने गर्नुभएको छ हामीले ३०÷३० जना लिएर गइराखेका छौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको मार्किङ्सहरु, स्यानिटाइजरको व्यवस्था, र डाक्टरहरु जुन स्ट्याण्डबाई बसिराख्नु भएको छ त्यो हिसाबले मलाई त हामी पनि अरु देशहरुको म्यानेजमेन्टको तुलनामा एकदमै राम्रो छौं जस्तो अनुभुति भइराखेको छ ।’

उहाँले पाइलट, परिचारिका लगायत सबै कर्मचारीलाई होटल क्वारेन्टाइनमा राखिएकाले भाइरस सर्छ भन्ने कुनै सम्भावना नरहेको बताउनुभयो । त्यसका लागि भौतिक दुरी कायम गर्ने, पीसीआर परीक्षण गर्ने लगायतका सुविधाहरु कम्पनीले दिने भएकाले संक्रमण फैलिने कुनै जोखिम नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘अब सोसियल डिस्टेन्स मेन्टेन गर्ने, हामीलाई कम्पनीले पीसीआर परीक्षण पनि गरेर पठाउँछ । त्यस्तै अहिले त हामी क्वारेन्टाइनमा छौं । क्वारेन्टाइनबाट निस्किसकेपछि हामी के कन्फिडेन्स भएर निस्कन्छौं भने हामीलाई कोरोना भाइरसको इन्फेक्सन छैन भन्ने कन्फिडेन्स भएर निस्कने भएको हुनाले हामी आफु कन्फिडेन्स भइसकेपछि त्यस्तो डराउनुपर्ने अवस्था छैन र अरुले पनि अहिले सम्म त्यस्तो व्यवहार गरेको महसुस गरेका छैनौं ।’

उहाँले महामारीको अवस्थामा आफै अनुशासित बन्नुपर्ने बताउनुभयो । उडानको क्रममा गर्न हुने र गर्न नहुने सम्बन्धमा नेपाल एयरलाइन्स, डब्लुएचओले दिइको निर्देशिका अनुसार काम गरिएको उहाँले बताउनुभयो । 

विमानकी परिचारिका शोनिका केसीले सामान्य अवस्थामा भन्दा अहिले मनोविज्ञानमा फरक पर्ने गरेको बताउनुभयो । यात्रुसँग बोल्दा, सिकाउँदा, साबधानी अपनाएर काम गर्नुपरेकाले केही फरक महसुस भइरोखेको बताउनुभयो । उहँँले भन्नुभयो ‘पहिला साइकोलोजिकल्ली त्यस्तो केही पनि हुँदैन थियो । उडानबाट नर्मल आयो गयो त्यस्तो केही हुँदैन थियो । तर अहिलेको समयमा धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तै यात्रुसँग डिल गर्दाखेरी उहाँहरुसँग डिस्टेन्स मेन्टेन गरेर बोल्नुपर्ने, उहाँहरुलाई सिकाउन पर्ने, क्याबिनमा हिंडदा पनि धेरै हिडडुल नगर्नुस भनेर भन्नुपर्ने हुन्छ । खानाको कुरामा पनि पहिला हामीले हटमिल दिन्थ्यौं भने अहिले चाहिं प्याकिङ मिल दिन्छौं । सकेसम्म कम नै कुरा गर्छौं । ’

उहाँले अहिलेको अवस्थाको बारेमा सबै यात्रु जानकार हुने भएकाले पनि काम गर्न सजिलो भएको बताउनुभयो । यात्रुहरु पनि आफै सुरक्षित हुने हुँदा डर मान्नु नपर्ने तर अझैपनि सकेसम्म धेरै सम्पर्कमा नआउँ भन्ने मानोविज्ञानले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यात्रुहरु पनि जानकार नै हुनुहुन्छ । उहाँहरुले पनि आफ्नो सेफ्टी पहिला हेर्नुहुन्छ । उहाँहरुले पनि मास्क लगाइराख्नु भएको हुन्छ पन्जा लगाइराख्नु भएको हुन्छ । बोल्न डर भन्दा पनि कन्ट्याक्टमा त्यति धेरै नआउँ भन्ने हुन्छ ।’

तुलनातमक रुपमा विदेशी एयरलाइन्सहरु भन्दा नेपालको एयरलाइन्समा कुनै कमि नभएको परिचारिका केसीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अफिसले जुन सेफ्टी मेजर्स अपनउनुपर्ने हो त्यो चाहिं सबै नै अपनाउनुभएको छ । जस्तो पीपीई लगाउँछौं, फेस सिल लगाउँछौं, मास्क जतिबेला पनि हुन्छ । स्यानिटाइज गरिराख्छौं । ग्लोब्सहरु पनि अलिकति कन्टामिनेन्ट हुन्छ कि भनेर परिवर्तन गरिराखेका हुन्छौं । त्यहि भएर  बाहिर जति छ हाम्रो पनि त्यहि अनुसार नै छ जस्तो लाग्छ मलाई ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि हवाई उडान पनि बन्द रहेको थियो । तर पछिल्लो समय विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वादेश फिर्ता ल्याउने भएपछि भने नेपाल एयरलाइन्सले चार्टड उडान मार्फत बिजनेस पाएको हो । विश्वभर कोरोनाको संक्रमण फैलिएको अवस्थामा विभिन्न मुलुकमा चार्टड उडान गर्नु निकै जोखिमपूर्ण छ । यस्तो अवस्थामा एयरलाइन्सका पाइलट तथा परिचारिकाहरुले कसरी स्वास्थ्य सतर्कता अपनाइरहेका छन त्यो महत्वपूर्ण हुन्छ । त्यसैले अहिले सम्म नेपाल एयरलाइन्सले अपनाएका सावधानीहरु विश्वका अरु एयरलाइन्सहरुले गरेका सावधानी जत्तिकै रहेको एयरलाइन्सका कर्मचारीहरुले बताएका छन् । त्यसैले जुलाई ८ देखि नेपाल एयरलायन्सले युएन को फ्लाइट गर्ने तयारी समेत गरेको छ ।

उडान सकेपछि पाइलट तथा परिचारिका लगायत अन्य कर्मचारीहरु एयरपोर्टबाट सिधै घर नगई एयरलाइन्सले व्यवस्थापन गरेको होटल क्वारेन्टाइनमा बस्नुपर्छ । नेपाल एयरलाइन्सले पाइलट तथा परिचारिकाका लागि सोल्टी होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । होटल आफै एयरपोर्टमा लिन जाने र होटल पुगेपछि पनि सबै सामानहरुको स्यानिटाइज गरी सावधानी पूर्वक होटलको कोठामा गएर बस्ने व्यवस्था गरिएको छ ।