काठमाडौँ । ब्याट्सम्यान शुभमन गिललाई भारतीय टेस्ट टोलीको नयाँ कप्तान बनाइएको छ ।
साथै, ऋषभ पन्तलाई उपकप्तानको रूपमा चयन गरिएको छ । शनिबार मुम्बईमा भएको बैठकमा बीसीसीआईले यो घोषणा गरेको हो ।
यस्तै, इङ्ग्ल्याण्ड भ्रमणको लागि १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । जुन २० देखि सुरु हुने इङ्गल्याण्ड भ्रमणमा भारतले ५ टेस्ट खेल्नेछ ।
विराट कोहली र रोहित शर्माको सन्यासपछि साई सुदर्शन र करुण नायरले टोलीमा स्थान पाएका छन् । यसैबीच, शार्दुल ठाकुर टोलीमा फर्किएका छन् ।
२५ वर्ष २५८ दिनको उमेरमा, गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं सबैभन्दा कान्छो क्रिकेटर बने ।
उनीभन्दा अगाडि मन्सुर अली खान पटौदी (२१ वर्ष, ७७ दिन), सचिन तेन्दुलकर (२३ वर्ष, १६९ दिन), कपिल देव (२४ वर्ष, ४८ दिन) र रवि शास्त्री (२५ वर्ष, २२९ दिन) छन् ।
३३ वर्षीय करुण नायरले ८ वर्षपछि टेस्ट खेल खेल्नेछन् । उनले आफ्नो अन्तिम टेस्ट २०१७ मा खेलेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण नायरले टोलीमा स्थान बनाएका छन् ।











