काठमाडौँ । नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी गराउनुभएको हो ।
उहाँले औषधि लिमिटेडले उत्पादन गरेका सिटामोल, जीवनजललगायतका औषधिहरु विक्री नभएको गुनासो आएपछि नियमानुसार तीनै तहका स्वास्थ्य संस्थामा औषधि उपलब्ध गराउने विषयमा स्वास्थ्य मन्त्रीले छलफल गरेपछि समिति गठन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रीले बाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको जानकारी दिनुभयो । समितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लिमिटेडका प्रतिनिधि सम्मिलित समिति गठन गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो । साथै उहाँले मन्त्रालयले क्यान्सर रोग उपचारको सेवा विस्तारको क्रमलाई निरन्तरता दिएको जानकारी समेत दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन उपचार कक्षको स्वास्थ्यमन्त्रीले उद्घाटन गर्नुभएको छ । थप गरिएको उपचार कक्षमा बाल क्यान्सर उपचारका लागि आइसीयू, डे केयर र साधारण शैया रहेको छ । १४ वर्ष मुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचारको निर्णय कार्यान्वयनका लागि उक्त सघन कक्षको स्थापना भएको हो । आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सेवा सुविधालगायत विषयमा भएको सहमति कार्यान्वयनका लागि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ । हाल कार्यान्वयनमा रहेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० र स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्यूक्लियर मेडिसिनलगायतका स्वास्थ्य संस्थाको मापदण्डलगाय विषय समेटिने गरि मन्त्रालयको गुणस्तर नियन्त्रण तथा नियमन शाखाका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।’
उहाँले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड लगायतका विषयमा अनुगमनका लागि पनि समिति गठन गरिएका जानकारी दिनुभयो ।










