१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघ संरक्षणमा सरोकारवालाको क्रियाशीलता प्रशंसायोग्य : राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदानको सराहना गर्नुभएको छ ।

विश्व बाघ दिवसका अवसरमा आज उहाँले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गर्नुभएको छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार आज नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । 

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।
 
“बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकामा मलाई खुशी लागेको छ । जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्ने दायित्व हामी सबैकोे हो”, शुभकामना सन्देशमा उल्लेख छ । 

राष्ट्रपति भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताउनुभएको छ । बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ वृद्धि गर्न पर्यापर्यटनका गतिविधिहरू प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ छ ।
 
बाघ संरक्षणको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय र मातहतका निकाय, सुरक्षा निकाय, स्थानीय तह, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै राष्ट्रपति भण्डारीले बाघ संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।