काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समयमा पार्टीमा शुरु गरेको विभागीय नियुक्तिप्रति सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । पौडेल पक्षीय नेताहरुले देउवाको पछिल्लो कदमको विरोध गर्दै आज असहमति पत्र बुझाएका हुन् । उनीहरुले आफ्नै पार्टीका सभापतिका विरुद्धमा लिखित पत्र बुझाएका हुन् ।
पौडेल पक्षले यसरी पहिलो पटक लिखित रुपमै सभापतिलाई विरोध पत्र दिएका छन् । पार्टीको महाधिवेशनको ५ महिनामात्र अघि आएर सभापति देउवाले शुरु गरेको विभागको गठनले महाधिवेशनलाई प्रभावित पार्ने पौडेलको भनाई छ ।
हिजो मात्र सभापति देउवाले पार्टीका ज्येष्ठ नागरिकहरुलाई संलग्न गरी ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका थिए । देउवाले ४७८ जना वरिष्ठ राजनीतिज्ञलाई समेटेर गठन गरेको सो सभाप्रति पार्टीका पौडेल र उनी पक्षीय शेखर, सशांक कोइरालाको पनि असहमति रहेको छ ।
सो कार्यको विरोध गर्दै उनीहरुले आज लिखित असहमति पत्र दिएका हुन् । पौडेल पक्षीय नेताहरु आज सशांक कोइरालाको निवासमा जम्मा भएर विरोध पत्र तयार गरेका थिए । विरोध पत्र भने उनीहरुले पार्टी सभापतिको समय लिएर पार्टी कार्यालयमै गएर दिएका हुन् ।
त्यसक्रममा सभापति देउवाले भने आफूलाई केही फरक नपर्ने बताएका थिए । विरोध पत्र दिएर सभापति देउवाको ध्यानाकर्षण गराइएपछि बोल्ने क्रममा सभापति देउवाले भनेका थिए– मैले यो सबै पार्टीको विधान बमोजिम नै गरेको हुँ मलाई केही फरक पर्दैन ।
सभापति देउवाले सो क्रममा भनेका थिए– यसअघि मलाई विमागै गठन गरेन भन्ने अनि अहिले आएर किन गरिस भन्ने ?










