काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा पर्नुभएका नेता गोविन्दराज जोशीले विरोधि कार्यकर्तालाई तर्साउन आफूलाई कारबाही गरिएको टिप्पणी गर्नुभएको छ ।
आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफूमाथि कारबाही भएको बताउनुभएको छ ।
बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफूलाई कारबाही गरिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु । यिनीहरुलाई के रैछ भन्दाखेरि गोविन्दराज जोशीलाई अट्याक गर्ने कुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो । मलाई अट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो ।’
नेता जोशीले आफूमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताउनुभयो ।
उहाँले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताउनुभयो ।
यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफूमाथि कारबाही गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, अहिलेको मेरो निर्णय साथसाथै पार्टीमा प्रवेश गराइएका मानिसहरुको उपस्थितिले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कुनैपनि इमान्दार निष्ठावान कार्यकर्ताको उपस्थिति हुँदैन् । हुन त पार्टीले त्यस्ता मान्छेहरुलाई केवल हाम्रो नेताहरु कोही स्वर्गारोहण भए त्यो बेलामा उपस्थिति हुने मात्रै मौका दिन्थ्यो ।
तर अब इमान्दार कार्यकर्तालाई त्यहाँ जाने कुरा आत्म सम्मानको विषय रहेन । तर मैले यो कुरा भन्दा उनीहरुलबाई बिझेछ । रामचन्द्रजीलाई पनि शेरबहादुरजीलाई पनि बिझेछ । मैले परिवारका मान्छेलाई टिकट दिनुहुँदैन, पैसामा टिकट बेच्नु हुँदैन, आफ्ना मान्छेलाई टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुदैन भन्दा उहाँहरुलाई बिझिराखेको रहेछ । त्यसलाई व्यक्त गर्नुभयो र के गर्नुभयो भन्दा पार्टी जेसुकै होस । पार्टी त अब उभो लाग्दै लाग्दैन ।’
पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले बताउनुभयो । ‘पार्टीलाई केही मान्छेहरुको एउटा आफ्नो नियन्त्रणको गठबन्धनको एउटा गुटको संगठन बनाउने जो बाटोमा उनीहरु गएका छन त्यसले अहिले सफल भएको देखिएला तर यसले पार्टीलाई राम्रो गर्दैन ।’
कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गर्नुभयो ।
उहाँले न्याय बिनाको निर्णयको विरुद्ध, प्रवृतिको विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दा सम्म कांग्रेस जोगिन नसक्ने बताउनुभयो । अहिले नै आवाज उठाउन नसक्ने हो भने केही व्यक्तिको गुटको भेलाले कार्यकर्तालाई बगाएर लैजाने समेत नेता जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘ अहिले कांग्रेसमा के भयो भने न्याय बिनाको निर्णय मेरो बारेमा पनि त्यहि भएको हो । टिकट बाँडदा पनि त्यहि हुन्छ । भोलीका दिनमा पनि त्यहि हुन्छ । त्यसैले जस्टिस बिनाको जजमेन्टको विरुद्ध, जस्टिस बिनाको जजमेन्टको प्रवृतिको विरुद्ध, जस्टिस बिनाको जजमेन्ट गर्ने पदाधिकारी र व्यक्तिको विरुद्धमा कार्यकर्ताहरु एकस्वरले उभिन सक्यो भने यो नियन्त्रण हुन्छ । नभए यो भेलले कार्यकर्तालाई बगाएर लैजान्छ ।’
पछिल्लो गतिविधि हेर्दा पार्टी पतनको बाटोमा गएको स्पस्ट भएको समेत नेता जोशीले बताउनुभयो । उहाँले पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलका पछि लाग्ने व्यक्तिमा अलिकति विश्वास नभए पार्टीमा टिकट नै नपाउने र पाएपनि भोट नहाल्न निर्देशन दिने गरिएको बताउनुभयो ।
‘यति डर छ अहिले कांग्रेस पार्टी भित्र शेरबहादुरको पछि लागेका मान्छेहरुलाई अलिकति पनि उसको अनुकुल छैन भन्यो भने अधिवेशन आएको छ टिकट पाउँदैन पार्टीको प्यानलमा पर्दैन । रामचन्द्रको पछि लाग्ने मान्छे अलिकति पनि उसलाई विश्वास भएन भने उसको प्यानलमा पर्दैन । प्यानल मै प¥यो भनेपनि यतिलाई भोट नहाल्नु भन्दिन्छन् । त्यो डर र त्रासले गर्दाखेरी भित्रभित्र देशव्यापि रुपमा मान्छेहरुमा असन्तुष्टि भएको छ ।’
पार्टीमा योगदान दिएको हिसाबले केन्द्रीय समितिमा आफुभन्दा सिनियर मान्छे कोहीपनि नभएको दाबी नेता जोशीले गर्नुभयो । उहाँले कांग्रेसमा योगदान पुर्याएको हिसाबले सभापति देउवा र वरिष्ठ नेता पौडेल भन्दा आफू माथि रहेका समेत बताउनुभयो ।
उहाँले आफू पार्टीमा कुनैपनि तरिकाले चाकडी गर्न नजाने समेत स्पस्ट पार्नुभयो । पार्टी नेतृत्वसँग कुण्ठाको विकास भएकाले इमान्दार कार्यकर्तामाथि कारबाही भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म उहाँहरुलाई चाकडी गर्न जान्न, उहाँहरु भित्र कुण्ठा रहेछ । हामीलाई नमान्ने, म आउँदाखेरी उठ्यो कि उठेन, मलाई टाढैबाट नमस्ते गर्यो कि गरेन । त्यो कुण्ठाले गर्दा म मात्रै होइन उहाँहरुको नजिक नहुनेहरु सबै पिडाभागी भएका छन् । यो दुर्भाग्य हो ।’
फरक प्रसङ्गमा बहुदलीय अभ्यासमा दलको सरकार हुने तर दुर्भाग्यवस अहिले कुनैपनि दलले राम्रोसँग काम गर्न नसकेको टिप्पणी समेत नेता जोशीले गर्नुभयो । प्रजातन्त्रमा प्रमुख प्रतिपक्षी अराजक भयो भने सरकार गैरजिम्मेवार हुने र प्रतिपक्ष जिम्मेवार भयो भने सरकार नियन्त्रणमा हुने तर अहिले प्रतिपक्षको भूमिका नै नदेखिएको बताउनुभयो । कांग्रेसले सत्तारुढ दल रिसाउँछ भनेर प्रतिपक्षको भूमिका खेल्न नसकेकोले सरकार स्वेच्छाचारी भएको बताउनुभयो ।










