काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा घटना घटेको बताउनुभएको छ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा मन्त्री बस्नेतले मानवीय त्रुटिका कारण चेपाङ बस्तीमा घर जलेको बताउनुभएको हो ।
मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ बस्तीमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उहाँले बताउनुभयो ।
भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारिले हात्ति लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानविय भएको समेत मन्त्री बस्नेतले बताउनुभएको हो ।
उहाँले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराउनुभयो ।
मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ती ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफू गम्भीर रहेको बताउनुभयो ।
समितिले भने घटनालाई संवेदनशील भई छानविन गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ ।
बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदैसम्मको सजाय दिई पीडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिनुभयो ।
समितिले सामाजिक वञ्चितिकरणमा रहेका र निकुन्जलाई नै आफ्नो जीविकोपार्जनको आधार बनाउँदै आएका निकुन्ज वरपर बस्ने बसोबासीहरुको व्यवस्थापन ६ महिना भित्र गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।










