१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुम्टे चढ्न नयाँ पदमार्ग



file
अ+ अ-

बागलुङ । पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग निर्माणको काम भइरहेको छ । गलकोट नगरपालिका–७ मल्मस्थित भीमसेन ढुङ्गादेखि नाच्नेडाँडा–राम्चेढुङ्गा हुँदै घुम्टेसम्म पदमार्ग जोडिनेछ । यसको दूरी झण्डै १० किमी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु २० लाख बजेटबाट डेढ वर्षअघि निर्माणको काम थालिएको थियो । गत आवमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको छ ।

पदमार्ग निर्माणलाई दुई खण्डमा बाँडिएको छ । पहिलो भीमसेन ढुङ्गाबाट राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गाबाट तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा रु १०र१० लाख बराबरको काम भएको थियो । गत आवमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । पर्यटन मन्त्रालयबाट प्राप्त रु १० लाखबाट ७०० मिटर पदमार्ग विस्तार गरिएको छ । “१०४ मिटर रेलिङ पनि लगाइएको छ”, निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले भन्नुभयो, “दैनिक ४५÷५० जना खटेर महिना दिन लगालग काम गर्यौ ।” 

स्थानीयवासीले ११ प्रतिशत श्रमदानसमेत गरेका थिए । अध्यक्ष थापाका अनुसार अघिल्लो वर्ष अजिराखर्कबाट गोठाल्नेसम्म ४०० मिटर पदमार्ग बनाइएको थियो । यो वर्ष गोठाल्नेबाट ठूलोसम्ममा पदमार्ग जोडिएको छ । ठूलोसम्मबाट तल्लो घुम्टेको देउराली जोड्न अब करिब दुई किमी दूरी बाँकी छ । देउराली पुगेपछि भने अर्को पदमार्ग भेटिन्छ । “जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो ।

तल्लो खण्डमा भने गत वर्ष आँगाखेतबाट तल्लो सिरबारेसम्म ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । आगामी दुई वर्षभित्र पदमार्ग बनाइसक्ने लक्ष्य लिइएको वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो । “प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ”, उहाँले भन्नुभयो, “वडाले मात्र गर्न सक्ने योजना नभएकाले माथिबाटै बजेट ल्याउन पहल भइरहेको छ ।” पदमार्गमा रु एक करोड खर्च हुने अनुमान छ ।

पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ । पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ग्रामीण पर्यटनको उत्थानमा पदमार्गले सहयोग पु¥याउने गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे जिल्लाकै उदाउँदो पर्यटकीय गन्तव्यमा पर्छ । 

गण्डकी प्रदेशका १०० पर्यटकीय गन्तव्यको सूचीमा पनि घुम्टे समावेश छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । दश हजार ३९३ फिट उचाइमा अवस्थित घुम्टेको लेक प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक हिसाबले महत्वपूर्ण मानिन्छ । घुम्टेको चुचुरोमा सिद्ध र भैरवको मन्दिर छ । बर्सेनि वैशाखे पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्छ । सिद्ध र भैरव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विगत आठ वर्षदेखि नयाँ वर्षको अवसर पारेर घुम्टेमा ‘गुराँस उत्सव’ पनि हुँदै आएको छ । 

प्राकृतिक सुन्दरता, हिमाली पृष्ठभूमिमा सूर्योदय, सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसको घना जङ्गल आदि घुम्टेका सौन्दर्य हुन् । यसअघि गलकोट नगरपालिका–५ हरिचौर, १० पाण्डवखानीबाट घुम्टे जोड्ने पदमार्ग बनिसकेको छ । यस्तै ताराखोला गाउँपालिका–३ हिलबाट पनि सजिलै घुम्टे चढ्न सकिन्छ । गलकोट नगरपालिका–७ मल्मबाट जोडिन लागेको पदमार्ग सबैभन्दा छोटो हुने जनाइएको छ ।