ललितपुर । काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथको ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिका–६ टीकाभैरवदेखि वाग्मती गाउँपालिका–७ गिम्दीसम्मको मुख्य सडक अवरुद्ध भएको हो ।
टीकाभैरवदेखि सिउरानीसम्म झण्डै २५ किलोमिटर सडकको ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध भएको स्थानीयवासी दीपक घिमिरेले बताए । उनले भने, “हामीले चारपाँचवटा स्काभेटर लगाएर बाटो पन्छाउँदा पनि माटो फाल्न सकेका छैनौँ, यहाँको १० ठाउँमा पहिराले असर गरेको छ, वाग्मतीबाट दैनिक रुपमा ढुवानी हुने पाँचदेखि ७०० लिटर दूध र तीनदेखि चार गाडी तरकारीसमेत किसानले बजारीकरण गर्न पाएका छैनन् ।” कान्ति लोकपथ सडक ठाउँठाउँमा पहिराले बिजुलीका पोल ढलाउँदा विद्युतीय सेवाका साथै इन्टरनेटको पहुँचबाट समेत स्थानीय वञ्चित भइरहेका घिमिरेले जानकारी गराए ।
यसैगरी पहिरो र वर्षाका कारण टीकाभैरवदेखि गिम्दीसम्म लगभग ७० किलोमिटर मुख्य सडक नै अवरुद्ध भइरहेको बिहिबारमात्रै त्यस खण्डबाट गोदावरी–१३ झरुवारासी फर्किएका यात्री सन्तोष दाहालले बताए । वाग्मती–३ भट्टेडाँडास्थित भालुखोला, झाँक्रीडाँडा र छपेली, वडा नं ६ आश्राङस्थित रुम्बा र घिसिङमा ठूलो पहिरो गएर मुख्य सडक नै अवरुद्ध भइरहेको अर्का यात्री प्रकाश थिङले बताए।
कान्ति लोकपथ राष्ट्रिय राजमार्गअन्तर्गतको सडकमा पर्दछ । करिब ९० किलोमिटर रहेको सो सडकमध्ये ललितपुरतर्फ ३९ र मकवानपुरतर्फ ५१ किलोमिटर छ । सो सडकको मर्मतसम्भार, पर्खाल लगाउने र कालोपत्र गर्ने काम भने कतै समाप्त त कतै हुन बाँकी नै रहेको थियो ।











