
कञ्चनपुर। भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित खुला मञ्चमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण (व्यवस्थापन)सम्बन्धी संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीको संयुक्त आयोजनामा संयुक्त अभ्यास कार्यक्रम आयोजना गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्ट लगायतको उपस्थीति थियो ।
संयुक्त अभ्यास कार्यक्रममा प्रहरी वरिष्ठ हबल्दार, प्रहरी हबल्दार, प्रहरी सहायक हबल्दार र प्रहरी जवान गरी ७० जनाले सहभागिता जनाउनुभएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भिड नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास कार्यक्रममा नेपाल प्रहरीबाट ३५ जना र सशस्त्र प्रहरी बलबाट ३५ जनाको सहभागिता रहेको थियो ।
त्यसअवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी पोख्रेलले भिड नियन्त्रणसम्बन्धी संयुक्त अभ्यास कार्यक्रमले दुवै सुरक्षा बलको दक्षतामा वृद्धि हुने बताउनुभयो । प्रहरीको दक्षता अभिवृद्धिका लागि अभ्यासका कार्यक्रमलाई निरन्तरता दिइनुपर्नेमा उहाँको जोड थियो । रासस