
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को आठौं खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर आमने सामने हुँदैछन् ।
यो खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा हुनेछ । जारी सिजनमा दुवै टोलीको यो दोस्रो खेल हुनेछ ।
पहिलो खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई र बैंगलोरले कोलकाता नाइट राइडर्सलाई हराएको थियो ।
गत सिजन चेन्नईलाई हराउँदै बैंग्लोर प्लेअफमा पुगेको थियो । यो खेल निकै रोमाञ्चक रह्यो । प्लेअफमा पुग्न दुवै टोलीका लागि गर या मरको खेल थियो ।
अन्तिम ४ मा पुग्न बैंगलोरले चेन्नईलाई कम्तिमा १८ रनले हराउनुपर्ने थियो ।
जहाँ चेन्नईले १८ रनभन्दा कमको अन्तरले हारेको भए प्लेअफमा पुग्ने थियो । आरसीबीले आफ्नो घरेलु मैदानमा २७ रनले जित हात पार्दै अर्को चरणमा प्रवेश गर्न सफल रह्यो ।
हेड टु हेड
हेड टु हेडमा, चेन्नई बैंग्लोरभन्दा बलियो छ । यी दुईबीच हालसम्म ३४ आईपीएल खेल भइसकेका छन् । जसमध्ये २२ खेलमा चेन्नई र ११ खेल बैंग्लोरले जित निकालेका छन् । एक खेलको नतिजा घोषणा हुन सकेको छैन ।
यससँगै एमए चिदम्बरम स्टेडियममा दुवै टोली ९ पटक भिडेका छन्, जसमा चेन्नई ८ पटक विजयी हुँदा बैंग्लोरले १ पटक मात्र जित हासिल गरेको छ ।
चेन्नईले पछिल्लो खेलमा मुम्बईलाई हराएको थियो । कम स्कोरको यो खेलमा स्पिनर नूर अहमदले ४ विकेट लिएका थिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए । नूर बाहेक रविन्द्र जडेजा र आर अश्विनले स्पिन विभागलाई निकै बलियो बनाएका छन् । ब्याटिङमा रचिन रविन्द्रले अविजित ६५ रनको इनिङ्स खेलेका थिए ।
आरसीबीका लागि पछिल्लो खेलमा दुवै ओपनरले अर्धशतक बनाएका थिए । विराट कोहलीले अविजित ५९ र फिल साल्टले ५६ रन बनाए । टिममा लियाम लिभिङ्स्टन, जितेश शर्मा र कृणाल पाण्ड्याजस्ता टी–२० का अनुभवी खेलाडी छन् ।
कस्तो छ पिच ?
एमए चिदम्बरम स्टेडियमको पिच स्पिनमैत्री छ । यहाँ ब्याटिङ गर्न अलि गाह्रो छ । अहिलेसम्म यहाँ ८६ आईपीएल खेल खेलिएका छन् । ४९ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३७ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६–५ रहेको छ जुन घरेलु टोली चेन्नईले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।
चेन्नईको मौसम आज धेरै तातो हुनेछ । दिनभर चर्को घाम रहनेछ र पानी पर्ने सम्भावना छैन । तापक्रम २६ देखि ३६ डिग्रीसम्म रहने अनुमान गरिएको छ ।
सम्भावित सुरुवाती–१२
चेन्नई सुपर किंग्सः रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, राहुल त्रिपाठी, दीपक हुडा, शिवम दुबे, रवीन्द्र जडेजा, साम करण, महेन्द्र सिंह धोनी (विकेटकीपर), रविचन्द्रन अश्विन, नूर अहमद, नाथन एलिस र खलील अहमद ।
रोयल च्यालेन्जर्स बैंग्लोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, रसिक दार सलाम, सुयश शर्मा, जोस हेजलवुड, यश दयाल र देवदत्त पडिककल ।