
रौतहट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दलहरू अवसरवादको दलदलमा फस्न नहुने धारणा राख्नुभएको छ ।
आज पार्टीको तराई–मधेस जागरण अभियानअन्तर्गत रौतहटको लौकाहामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेस केन्द्रित दलहरू अवसरवादतर्फ लागेकाले मधेसी जनताको विश्वास कम हुँदै गएको विचार व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलले जनताप्रतिको जिम्मेवारी बिर्संन नहुने बताउनुभयो ।
मधेसी जनताको समस्या बुझ्नका लागि हुलाकी मार्गको प्रयोग गरेको उहाँले बताउनुभयो । यात्राका क्रममा मधेसी जनताको कतै सिँचाइको समस्या, कतै बाटाघाटाको समस्या, शिक्षा तथा विभिन्न विकासमा समस्या देखेको जनाउँदै ती समस्याको समाधान गर्न माओवादी दृढ भएर लागिपर्ने उहाँले बताउनुभयो ।
तराई मधेसका एक हजार तीन सय सहिदको रगत बगेकाले देशमा लोकतन्त्र, गणतन्त्र आएको बताउँदै अध्यक्ष दाहालले ती सहिदहरूको योगदान कसैले पनि भुल्न नहुने धारणा राख्नुभयो । विभेदमा पर्ने, विकासबाट वञ्चित भएकाहरूका लागि माओवादी सधैँ लडिरहने उहाँको भनाइ छ । तराई मधेसका दक्षिण भेगका जनसमुदायको सहयोगले मात्रै क्रान्ति सफल हुने उहाँले बताउनुभयो । यस यात्रा बहुआयामिक उद्देश्यले हिँडेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।
केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अन्य नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो । अध्यक्ष दाहालले आजै दुर्गाभगवती गाउँपालिका, गौर तथा विभिन्न स्थानमा गएर कार्यकर्ता भेटघाट गर्नुभएको थियो । उहाँले बिहान गरुडाका व्यापारीहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।
यसैबीच अध्यक्ष दाहाललाई आजै गौर राइस मिल बचाउ अभियानका सदस्यहरूले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उहाँले सार्वजनिक जमिन रक्षाका लागि सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस