१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा देख्न पाउने खुसीले दङ्ग काछबासी 



तस्बिरः फाइल
अ+ अ-

महोत्तरी: बर्दिबास नगरपालिका–५ चुरेकाछको ढुङ्ग्रे गणन्ताकी ७० वर्षीया सेतीमाया तामाङले कैयनपटक प्रजातन्त्र दिवसका दिन हातमा झन्डा बोकेर ‘जिन्दावाद’ भनेको सम्झना भए पनि त्यससँग जोडिएका  कुनै खुसी भने साँच्नु भएको छैन ।

प्रजातन्त्र दिवसको अर्थ र महत्व नबुझेरै अरुले भनेकै भरमा ‘जिन्दावाद’ भन्ने गरेकी तामाङलाई यसपालि भने अब कहिल्यै नबिर्सने गरी यो दिनको सम्झना रहने भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर रोटरी क्लब अफ बर्दिबास, रोटरी क्लब अफ हेटौँडा र रोट्र्याक क्लब अफ हेटौँडाले काछबासीका लागि सञ्चालन गरेका आँखा जाँच शिविरले सेतीमायालाई अब यो दिन कहिल्यै नभुल्नेगरी गुन लगाएको हो ।

यसपालिको प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार आफ्नै बस्तीमा आँखा जाँच गर्न पाउनु भएकी उहाँको बुधबार मोतियाविन्दुको शल्यक्रिया भएको छ । अबका केही दिनभित्रै शल्यक्रिया गर्दा लगाएको पट्टी खोलिएपछि झलमल्ल संसार हेर्ने खुसीले उहाँ विभोर हुनुहुन्छ । “आफ्नै गाउँबस्तीमा आएका डाक्डरबाबुले आँखा जाँचेर अपरेसन गर्नुपर्छ भन्नुभयो । आज उहाँहरूले नै लिएर अपरेसन गराएर घर पु¥याई दिनुभएको छ”, सेतीमायाले भन्नुभयो, “अब त भोलिपर्सि नै पट्टी खोलेपछि सबै उज्यालो देख्नेछु ।” पछिल्लो एक दशकयता मोतियाविन्दुले समस्या भएपछि आसै घरको आँगन ननाघेकी उहाँको अब पूरै गाउँ घुम्ने रहर छ ।

सेतीमाया मात्र होइन काछबस्तीकै ७५ वर्षीया जुनुमाया आले, ७६ वर्षीया गोपीमाया धागा र ६० वर्षीया गङ्गामाया ठोकरको पनि बुधबार नै मोतिविन्दुको शल्यक्रिया भएको छ । उहाँहरूलगात मोतिविन्दु भएका १७ जनाको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो । “फेरि आँखा उघ्रेर संसार हेर्न पाइने भो, बुढेसकालमा योभन्दा खुसी हुन अरू के चाहियो र !” ७६ वर्षीया गोपीमाया धागा भन्नुहुन्छ, “यो बन्दोबस्त मिलाइदिने सबैको जय होस् ।”

यसपालि प्रजातन्त्र दिवसको अवसर पारेर आँखा जाच शिविर आयोजना गरिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष विष्णु पुरीले बताउनुभयो । शिविरमा आँखा जाँच गरिएका ३५० जनामध्ये १७ जनामा मोतिविन्दु देखिएपछि शल्यक्रिया गरेको र एक सयभन्दा बढीलाई आँखा जाँचपछि चस्मा र दुई सय जनालाई औषधि दिइएको उहाँले जानकारी दिनुभयो ।

कतिपय पछिल्ला १० वर्षदेखि आँखा समस्या भएर पनि उपचार गर्न गएका थिएनन् । प्रजातन्त्र दिवसका अवसरमा आयोजित शिविर निकै लाभदायक भएको बर्दिबास–५ का वडाअध्यक्ष काहरमान स्याङ्वाले बताउनुभयो । “आर्थिक स्रोतको अभावमा आँखाको उपचार र शल्यक्रिया गराउन नसक्ने अवस्थाका अत्यन्त विपन्न परिवारका सदस्यले प्रजातन्त्र दिवसका अवसरमा आँखा जाँचदेखि शल्यक्रियासम्मको सुविधा पाए । यो निकै अविष्मरणीय र सराहनीय कार्य हो”, उहाँले भन्नुभयो ।

यसका लागि अष्ट्रेलियाको तस्मानियाँस्थित रोटरी क्लबका सदस्य डेभिड एक्स र एक्सले होडिङ लिमिटेडले आर्थिक स्रोत जुटाइदिएको रोटरी क्लब अफ बर्दिबासका अध्यक्ष पुरीले जानकारी दिनुभयो ।रासस