
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ७५औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपाली जनतालाई शुभकामना दिएका छन् ।
७५ औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले आजको दिन हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन भएको बताएका छन्।
‘फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्त्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो। गौरवपूर्ण एवम् ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभकामना,’ उनले शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन् ।