५ फाल्गुन २०८१, सोमबार
,
Latest
कीर्तिपुर “जलन अस्पताल”को पीडा सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा सभापति निर्विरोध स्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय पक्राउ कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी नेपाल-पाकिस्तान मित्रता टी-२० क्रिकेट प्रतियोगिता सम्पन्न, हिमालयन क्रिकेट एकेडेमी च्याम्पियन नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयकः गृहमन्त्री लेखक स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँः मन्त्री पौडेल राजनीति छाडेर व्यावसायिक पशुपालनमा रमाउँदै न्यौपाने लुम्बिनी प्रदेशसभाबाट दुई विधेयक पारित परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खो–खो विश्वकप : नेपाली महिला र पुरुष दुवै टिमले आज उपाधिका लागि खेल्ने



अ+ अ-

काठमाडौं । नेपालका महिला र पुरुष दुवै टिमले आज खोखो विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । भारतको नयाँदिल्लीमा भइरहेको पहिलो खो–खो विश्वकप प्रतियोगिताको फाइनलमा नेपालका महिला र पुरुष दुवै टिम पुगेका हुन् । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो पटक हो । दुवै टिमले उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्ने छन् ।

पुरुषतर्फ २० र महिलातर्फ १९ टिम सहभागी प्रतिस्पर्धामा नेपालका दुवै टिम फाइनलमा पुगेका हुन् । महिलातर्फको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम ८९–१८ स्कोरमा विजयी भएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । सेमिफाइनलमा नेपालकी पूजा ओड बेस्ट प्लेयर भइन् भने बेस्ट डिफेन्डर दीपा विक चुनिइन् । युगान्डाकी नागवा डोरोथी बेस्ट एट्याकर भइन् ।

त्यसैगरी नेपाली पुरुष टोलीले पनि सेमिफाइनलमा इरानलाई ७२–२० स्कोरमा पराजित गर्दै फाइनल पुगेको हो । हेमराज पनेरुको कप्तानीमा उत्रेको नेपाललाई उपाधिसामु पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेका जनक चन्द बेस्ट प्लेयर घोषित भए भने सुरज पुजाराले बेस्ट एट्याकरको ट्रफी पाए । इरानका मेहरब बेस्ट डिफेन्डर भए ।

नेपालले खो–खो खेलमा १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितिसकेको छ ।

घरेलु भूमिमा सन् २०१९ मा भएको १३ औं सागमा नेपाली महिला टिमले खो–खोमा रजत जितेको थियो । त्यतिबेला भारतसँग १७–५ स्कोरले पराजित भएर नेपालले स्वर्ण गुमाएको थियो ।

नेपाललाई भारतसँग सागको बदला विश्वकपमा उसकै भूमिमा लिने अवसर छ । पुरुषतर्फ नेपाली टोली १३ औं सागमा बंगलादेशसँग २४–२३ ले पराजित भएर फाइनल पुग्नबाट वञ्चित भएको थियो । नेपालले विश्वकपमा बंगलादेशलाई क्वाटरफाइनलमै रोकेर बदला लिइसकेको छ ।

नेपालले सागमा श्रीलंकालाई १७–७ ले हराएर कांस्यमा चित्त बुझाएको थियो । स्वर्ण भने भारतले नै जितेको थियो । सन् २०१६ मा गुवाहाटीमा सम्पन्न १२ औं सागमा नेपालका महिला र पुरुष दुवै टिमले कांस्य जितेका थिए । त्यतिबेला पनि दुवै स्वर्ण भारतले जितेको थियो भने बंगलादेश रजतमा सीमित भएको थियो ।

खो–खो २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको खेल संघ हो । कीर्तिपुरस्थित कभर्डहलमा एक महिना बन्द प्रशिक्षणमारहेर नेपाली टोली विश्वकप खेल्न गएको हो ।