२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध विकास संस्थानमा नै भेटियो १ लाख ९४ हजार ९ सय ७५ किलो बटर ‘डेट एक्सपायर’



अ+ अ-

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ । संस्थानले प्रशोधन गरी घिउ तयार पार्न राखेको बटरको ‘डेट एक्सपायर’ भएको भेटिएको हो । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा दुग्ध विकास संस्थानको बालाजु गोदाममा घिउ तयार पार्न राखिएको बटर डेट एक्सपायर भएको फेला परेको समितिले जनाएको छ । महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वको अनुगमन टोलीले दुग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टमा चार वटा गोदाममा रहेको बटर सबै डेट एक्सपायर भेटिएको बताएको छ । भण्डारीले संस्थानको गोदाममा भेटिएको डेट एक्सपायर बटरको नमुना परीक्षणका लागि ल्याएको जनाए । उनले भने, ‘दुग्ध विकास संस्थानले १ लाख ९४ हजार ९ सय ७५ किलो डेट एक्सापायर बटर पोखराको सुजल डेरीबाट खरिद गरेको पाइएको छ । बटरको प्याकेजिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्नुपर्ने उल्लेख छ ।’

तर, संस्थानको गोदाममा भएका अधिकांश प्याकेजिङ गरेका बटर डेट एक्सपायर नै छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा निर्मित बटर संस्थानको गोदाममा भेटिएको हो । पोखराको सुजल डेरीबाट खरिद गरिएको बटरमा दुग्ध संस्थानकै प्रशासन समितिले पनि छानबिन गरिरहेको पाएको छ । उनले भने, ‘संस्थानले बटरको डेट एक्सपायरका बारेमा कुरा गरेको छैन । तर, संस्थानमा अधिकांश बटर डेट एक्सपायर नै छन् । हामीले अन्यभन्दा पनि दुग्ध संस्थानले उत्पादन गर्ने दुग्धजन्य वस्तु उपभोग छ छैन भनी केन्द्रित भइ अनुगमन गरेका हौं । हामी डेट एक्सपायरको विषयलाई नै लिएर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’ संस्थानको प्रशासन समितिको सहमतिमा बिक्री रोक्का गरिएको छ । भण्डारीले मंगलबार दुग्ध विकास महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेट नभएको हुँदा बुधबार फेरि संस्थानमा जाने बताए । त्यसपछि छानबिन गरी कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताए । संस्थानले डेट एक्सपायर बटरबाट घिउ तयार गरी बजारमा उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाएको छ ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थानले नै म्याद सकिएका खाद्यान्न सामग्री बिक्री गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गरी कारबाही गर्नुपर्ने बताए । अध्यक्ष तिमल्सिनाले भने, ‘सरकारी सार्वजनिक संस्थानले उपभोक्तालाई स्वच्छ, सफा र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउनुपर्नेमा सरकारी संस्थानहरूले नै उपभोक्तालाई गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरी ठगिरहेको छ ।’

उनका अनुसार सरकारी खाद्य व्यापार कम्पनी दुग्ध संस्थानहरूबाट म्याद सकिएका खाद्यान्न बिक्री वितरण गरेको पाइएको छ । सरकारी तहबाटै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ । ‘सरकारले बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सबैभन्दा पहिले आफ्ना मातहतका निकायमा नै छानबिन गरी कारबाही गर्नुपर्छ,’ उनले भने, ‘खाद्य तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान जस्ता सरकारी कम्पनीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम गरेको छ ।’ दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले भने डेट एक्सपायर भनिएको बटर सुजल डेरीबाट खरिद नगरिएको बताए । उनका अनुसार सो बटर संस्थानकै हो । उनले संस्थानले सुजल डेरीलाई ज्यालामा पाउडर दुधलाई प्रशोधन गरी बटर बनाउन मात्र दिएको बताए । महाप्रबन्धक पौडेलले सो बटर प्याकेजिङमा आठ महिनामा भित्र प्रयोग गरी सक्नुपर्ने उल्लेख भए पनि एक वर्षसम्म प्रयोग गर्न मिल्ने बताए । उनले भण्डारण गर्दा १८ देखि २३ सम्मको तापक्रममा राखेको एक वर्षसम्मको बटर घिउ बनाउनलाई केही फरक नपर्ने बताए । आठ महिना प्रयोग गर्नु उपयुक्त डेट भए पनि एक वर्षदेखि डेढ वर्षसम्म प्रयोग गर्दा फरक नपर्ने महाप्रबन्धक पौडेलको भनाइ छ । राजधानी दैनिक