२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो वर्ष हनुमानढोकामा बलि नदिइने



अ+ अ-

काठमाडौँ । बडादशैंको अवसरमा हनुमानढोका दरबारको मूलचोकमा तीन दिनसम्म ५४/५४ वटा बोका र राँगा बलि चढाइने परम्परा यस वर्ष स्थगित गरिएको छ । बलि पूजाका बेला भीडभाड हुने र कोभिड–१९ महामारीको जोखिम बढ्न सक्ने भन्दै उक्त परम्परा यस पटकका लागि स्थगित गरिएको हो । निवृत्तिभरण व्यवस्थापन कार्यालय त्रिपुरेश्वर प्रमुख, हनुमानढोका दरबार हेरचाह अड्डा र हनुमानढोका दरबारको दसैंघरका मूल पुजारी बसेर यस्तो निर्णय गरेका हुन् । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ । यही तिथिमा गोरखा, नुवाकोट दरबार, दक्षिणकाली र काभ्रेपलाञ्चोक भगवती मन्दिरमा गरिने बलिसहितको पूजा भने नरोकिएको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ ।

यस्तै, उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि निरन्तर चल्नेछ । शक्तिपीठहरूमा बोका, हाँस, कुखुराको भाले, राँगाको बलिसहित पूजा गर्ने चलन छ । कार्यालयका प्रशासनिक प्रमुख राजभाइ श्रेष्ठले बलि दिने बेलामा हुने भीडलाई मध्यनजर गरेर स्थगित गरिएको बताए । हनुमानढोका दरबारको दशैंघरका मूल पुजारी देवराज अर्यालका अनुसार बलिबाहेक दसैंघरमा गरिने पर्व पूजा यथावत् चल्नेछ । ‘पूजा घटस्थापनादेखि विजयादशमीसम्म गर्नुपर्छ,’ उनले भने, ‘अन्तिम दिन टीका, जमरा, प्रसाद राष्ट्रप्रमुखलाई चढाउने परम्परा छ ।’ उनका अनुसार दसैंघरमा दुर्गा सप्तशती, श्रीमद् देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ । पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि राजधानी बनाए । हनुमानढोका, पाटन र भक्तपुर दरबारको दसैंघरमा गोरखाबाट ल्याइएको भगवती स्थापना गर्ने प्रचलन बसाले । उक्त समयदेखि नै प्रत्येक वर्ष भगवतीलाई बलिसहित पूजा गर्ने चलन बसेको हो । यसरी भगवतीलाई चढाइएको बलिको प्रसाद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, गृह मन्त्रालय, अर्थ मन्त्रालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयलगायत व्यक्ति तथा निकायमा पुर्‍याउने गरिन्छ ।

मार्कन्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुन्डा देवीले रक्तबीज राक्षसको बध गरेको र दशमीको दिन विजय उत्सव मनाएको मानिन्छ । यसै दिन कोतहरूमा हर्ष बढाइँका साथ कोत पूजा तथा निसान पूजा पनि गरिन्छ । नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसान पूजा र कोत पूजा गर्ने प्रचलन छ । कान्तिपुर दैनिक