२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ महिनामा करिब ७ सय प्रतिशत बढी पुँजीगत लाभकर संकलन



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा सेयर बजारबाट करिब सवा अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा संकलित लाभकर करिब आठ गुणा (करिब ७ सय प्रतिशत) बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सेयर बजारबाट १३ करोड ८५ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ठूलो परिमाणमा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, अनलाइन कारोबार बढेको, कारोबार रकम बढेकोलगायत कारण धेरै पुँजीगत लाभकर संकलन भएको बताइएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा पुँजीगत लाभकर र अग्रिम कर कट्टी (टीडीएस) गरी कुल १ अर्ब २८ करोड रुपैयाँ कर संकलन भएको छ । जसमध्ये करिब १ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकरबाट र १६ करोड ६७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर र २ करोड ७ लाख रुपैयाँ टीडीएसबाट गरी १६ करोड ५५ लाख रुपैयाँ संकलन भएको थियो । हालको व्यवस्थाअनुसार सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यसबाहेक धितोपत्र ब्रोकर, नेप्से, संस्थागत लगानीकर्ताले संस्थागत आम्दानी कर पनि तिर्नुपर्छ । सबै जोड्दा यो वर्ष सेयर बजारबाट संकलन हुने कर धेरैले बढ्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक करिब २ सय अंक बढिसकेको छ । गत असार मसान्तमा करिब १ हजार ३ सय ५८ अंकमा रहेको नेप्से असोज मसान्तमा १ हजार ५ सय ६३ अंकमा उक्लेको छ । यो अवधिमा दैनिक औसत कारोबार पनि बढेको छ । दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु भएको करिब डेढ वर्ष भइसक्दा पनि उल्लेख्य रूपमा कारोबार रकम बढ्न सकेको थिएन । तर कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि करिब तीन महिना बन्द भएर खुलेको बजारमा उल्लेख्य कारोबार बढेको छ ।

सो अवधिमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्नुले पनि यो पुष्टि हुन्छ । नेप्सेका अनुसार दुई साताअघिसम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब एक लाखले बढेको देखाउँछ  । सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब तीन महिना बजार बन्द नै रह्यो । कोभिड–१९ को जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको नेप्सेले जनाएको छ ।

पुँजीबजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदा ताका लगइन लिने लगानीकर्ताको संख्या न्यून थियो । गत चैत ६ गतेसम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो । पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता साढे तीन लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ । कान्तिपुर दैनिक