११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह



अ+ अ-

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ११ गते शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षाबाट सिर्जित बाढी, पहिरो र डुबानले जनधनको ठूलो क्षति पुर्‍याएकोमा गहिरो दु:ख व्यक्त गर्नुभएको छ । उहाँले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले यस मनसुनजन्य विपद्‍ले ठूलो सङ्ख्यामा मानिसको ज्यान लियो, हजारौँ घाइते बनाउनुका साथै धेरै घरपरिवारलाई थातथलोबाट विस्थापित गराएको र सयौँ मानिसहरूलाई वेपत्ता पारेको स्मरण गर्दे यस्तो सङ्कटको घडीमा मृतकका परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न, वेपत्ताको खोजी गर्न, विस्थापित परिवारको पुनर्स्थापनामा जुट्न नेपाल सरकारलाई हार्दिक आव्हान गर्नुभएको छ ।

पूर्वराष्टपति भण्डारीले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ – सर्वविदितै छ कि हामी भूकम्प, बाढी, पहिरो, खडेरी जस्ता पति प्राकृतिक विपत्तिबाट प्रताडित हुँदै आएका छौँ र पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण थप कष्ट र पीडा व्यहोर्न विवश छौँ । त्यसैले कुनै पनि बेला आउन सक्ने प्राकृतिक विपत्तिको प्रतिकार्यका लागि सजगताका साथ प्रभावकारी पूर्व तयारी गर्न र घटना घटेमा उद्धार, राहत तथा पुनर्स्थापनामा सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउनु पर्ने विषयमा ध्यान दिनु पर्दछ ।

पूर्वराष्टपति भण्डारीले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ – मुलुकमा सामाजिक आर्थिक विकासको प्रक्रियालाई तीब्र पारेर जनताको जीवनस्तर माथि उकास्न राज्य अग्रसर हुनैपर्दछ । हाम्रो देशले विकासको गतिलाई तीव्र पार्न प्रयास गर्दै आएको छ र जनता यसमा सामेल हुँदै पनि आएका छन् । यस्तो आर्थिक विकासको परिणामस्वरुप भौतिक पूर्वाधारमा बढोत्तरी भइरहेको अवस्था छ । देशका विभिन्न क्षेत्रमा वस्ती विकास भइरहेका छन् भने शहरीकरण प्रक्रियाले तीव्रता पाएको छ । एकातिर वस्ती विकाससहित व्यापारिक प्रयोजनका लागि भवन र संरचनाको निर्माण भइरहेको छ भने अर्कातिर जलवायु परिवर्तनले गर्दा अप्रत्यासित रूपमा बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिहरूको सामना गर्नु परिरहेको छ ।

पूर्वराष्टपति भण्डारीले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ – हामीले हाम्रा भौतिक संरचनाहरूको विकास गर्दा प्रचलित कानुनको परिपालना, मापदण्डको अनुशरण, परम्परागत दिगो प्रविधि तथा जलवायु परिवर्तनले पार्न सक्ने प्रभावलाई ख्याल गर्नसकेको खण्डमा प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्न सकिन्छ । यस विषयमा सरकार, राजनीतिक दल, जनप्रतिनिधिहरू, सामाजिक संघ–संस्थाहरू, नागरिक समाज लगायत सबै पक्षलाई एकताबद्ध भई यो राष्ट्रिय विपत्तिको सामना गर्न आह्वान गर्दछु ।