काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज नेपालमा दुई जना वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिलचन्द्र झा र डा. नारायणबहादुर थापा हुनुहुन्छ ।
डा.झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक पनि हुनुहुन्थ्यो । त्रिवि शिक्षण अस्पतालका चिकित्सक झाको सोही अस्पतालमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
उहाँलाई कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएको हो । उहाँलाई रेमडिसिभिर औषधिका साथै प्लाज्मा थेरापी समेत गरिएको थियो । तर पछि गएर उहाँको मल्टी अर्गान फेलियर भएको अस्पताल स्रोतले जनाएको छ ।
त्यसैगरी अर्का चिकित्सक थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष पनि हुनुहुन्थ्यो । कोरोना संक्रमित उहाँको उपचारका क्रममा आइतबार राति मृत्यु भएको इसान स्पतालले जानकारी दिएको छ ।
यसैगरी प्राप्त विभिन्न समाचारहरु अनुसार सोमबार यो संक्रमणबाट थप सात जनाको ज्यान गएको छ । यसरी सोमबार यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ९ पुगेको बताइएको छ ।











