३ जेष्ठ २०८२, शनिबार
,
Latest
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान कांग्रेस संसदीय दलको बैठकमा आगामी बजेटबारे छलफल सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउन आवश्यक छ:  प्रदेश प्रमुख भट्ट राजनीतिमा यस्तै हुन्छ, बस्नेत र राईको कुरालाई ठूलो अर्थमा नलिनूस्ः देउवा हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार परराष्ट्रमन्त्री डा राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै



अ+ अ-

महेन्द्रनगर । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ ।

ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नाका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।

वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । प्राचीनकालमा सतिसावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यो पूजाको परम्परा प्रारम्भ भएको जनविश्वास छ । वटसावित्रीको पूजाका प्रभावले सावित्रीले यमराजबाट पतिको प्राण फिर्ता ल्याएको र पति जीवित भएको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । यसैले मिथिलानी विवाहिता महिलाहरू दिनभरि निरहार बसी वटसावित्री पर्व उत्साह र निष्ठापूर्वक मनाउने गर्छन ।

यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ ।

बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ । मैथली ब्राह्मण, कायस्थ र सोनार समुदायका महिलाले मात्र मनाउने गरेको यो पर्व केही वर्षयता सबै समुदायका महिलाले मनाउने गरेका छन् । रासस