२६ असार २०८३, शुक्रबार
,
Latest
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने राष्ट्रिय सेवा दल विधेयक युवालाई युद्ध वा द्वन्द्वमा पठाउने उद्देश्यले ल्याइएको होइनः मन्त्री गौतम वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको छ – महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजमा देखा परेको सामाजिक अराजकता र अनुशासन हीनताले समाजलाई गलत बाटोतर्फ डोर्याइरहेको बताउनुभएको छ ।

अनेरास्ववियुले भृकुटीमण्डपमा मंगलबारबाट सुरु गरेको विद्यार्थी महोत्सवको शिक्षा प्रणाली पोलिटिकल इञ्जिनियरिङ विषयक प्यानल डिस्कसनमा बोल्दै महासचिव पोखरेलले सामाजिक अराजकताले अवसरवाद जन्मिएको प्रष्ट पार्नुभयो ।

‘समाजलाई अघि बढाउने हो भने नीतिगत नेतृत्वको खाँचो पर्दछ’, उहाँले भन्नुभयो ।

पोखरेलले नेपालको शिक्षामा जागरण र जागृति ल्याउने काम सचेत र जागरूक राजनीतिकर्मीले नै गरेको बताउनुभयो । आज जति प्रतिष्ठित विद्यालय र क्याम्पस छन् त्यसको निर्माता राजनीतिक रूपमा सचेत र जागरूक व्यक्ति नै भएको उहाँले प्रष्ट पार्नुभयो ।

‘आज शिक्षामा जुन प्रकारका समस्या देखा परेका छन्, त्यो राजनीतिका कारणले नभएर राजनीतिलाई सही बाटोमा हिँडाउन नसकेका कारणले उत्पन्न भएको समस्या हो भन्ने कुरा बुझ्न सक्दा अहिले जुन प्रकारको अराजनीतिक प्रवृत्ति बढेको छ त्यसमा सुधार गर्न सकिन्छ’, पोखरेलले भन्नुभयो ।

गहिरो अध्ययन बिना समाजलाई सही बाटोमा डोर्‍याउन नसकिने उहाँले स्पष्ट पार्नुभयो । यसको लागि पठन संस्कृति विकास हुनु पर्नेमा उहाँले जोड दिनुभयो । समृद्ध नेपाली सुखी नेपालको परिकल्पना पुरा गर्न पनि गहिरो अध्ययन र प्रशिक्षण आवश्यक रहेको पोखरेलले बताउनुभयो । ‘विचार भन्दा बाहिर कोही हुँदैन’, उहाँले भन्नुभयो ।

सबै राजनीतिक दल निश्चित विधिबाट निर्देशित हुने उहाँले बताउनुभयो । नयाँ बनेका दल पनि स्वाभाविक रूपमा आफ्नो नीति र विधिबाट अघि बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।
पोखरेलले मौलिक अधिकारको दृष्टिले नेपालको संविधान राम्रो भए पनि राज्य कमजोर हुँदा संविधानले प्रदान गरेको अधिकार स्थापित हुन नसकेको बताउनुभयो ।

यसले समाजमा असन्तुष्टि बढेको उहाँको भनाइ छ । राज्य सत्ताको माध्यमबाट नागरिकको आर्थिक सामाजिक अधिकार स्थापित गर्ने काममा सबै लाग्दा नागरिकको असन्तुष्टि घट्ने उहाँले स्पष्ट पार्नुभयो ।

पोखरेलले राजनीति समाजको चालक भएको बताउनुभयो । त्यसैले हरेक नागरिक राजनीतिक रूपमा सचेत हुनु पर्नेमा पोखरेलले जोड दिनुभयो । नेकपा एमाले युवालाई राजनीतिमा जोड्ने अभियानमा लागिरहेको पोखरेलले बताउनुभयो । युवालाई राजनीतिमा जोड्नु राजनीतिक दलको कर्तव्य भएको उहाँको भनाइ छ ।

अहिले नेपाली युवा रोजगारीको लागि विदेश गइरहँदा भारतका हजारौँ युवा रोजगारीको लागि नेपाल आइरहेको उहाँले सुनाउनुभयो । जागिरे मनस्थितिकाको कारण स्वरोजगारीको क्षेत्रमा अझै पनि नेपाली युवाको ध्यान जान नसकेको पोखरेलले बताउनुभयो । ‘व्यवस्थापकीय जोखिम बोक्ने क्षमता नेपाली समाजमा कम छ’, उहाँले भन्नुभयो ।

नेपालको शिक्षा प्रणालीले पनि व्यवस्थापकीय जोखिम बेहोर्ने कुरामा ध्यान दिन नसकेको पोखरेलले बताउनुभयो । शिक्षा नीतिमा नै स्थायित्वको अभावको कारण यस्तो समस्या आएको उहाँको धारणा छ ।

शिक्षा व्यवस्थामा रहेका कमजोरीलाई समेत सुधार गरेर अघि जानु पर्ने अहिलेको आवश्यकता रहेको पोखरेलले बताउनुभयो ।