• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

पहिलो पटक चिडियाखाना पुगेका आश्रमका बालबालिकाले बाघ देखेपछि…



ललितपुर । चिडियाखानाको गेटबाट भित्र छिरेको एकैछिनमा बालबालिकाले चर्काे स्वरले कराउँदै भने — उ, पर हेरत कत्रो बाघ रैछ । केही त डराए तर धेरै भने रमाए । आइतबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानामा पुग्दा तुलसालय आश्रमका बालबालिका निकै रमाएका थिए ।

आश्रममा सानो टेलिभिजनमा जनावर देखेका यी बालबालिका पहिलो पटक यसरी चिडियाखानामा पुगेर प्रत्यक्ष जनावर देख्न पाउँदा निकै दंग थिए । कोहीले कुनै त कोहीले कुनै जनावरलाई मन पराए, हेरे, जिस्किए र बोलाउन खोजे । आश्रममा संरक्षणमा रहेका बालबालिकाहरुलाई त्यसभन्दा बाहिरी संसार र समाज चिनाउनका लागि संघसंस्थाहरुको सहयोगमा विभिन्न स्थानमा लैजाने त गरिएको रहेछ तर चिडियाखाना भने यो पहिलो पटक रहेछ । सोही अनुसार आश्रमले आइतबार बालबालिकाहरुलाई सदर चिडियाखानाको आवलोकन गराएको थियो ।

सदर चिडियाखानाले जुटाइदिएको यो अवसरले निकै खुसी देखिएका बालबालिकालाई देखेर त्यहाँ आएका आरु सर्वसाधारणले पनि बडो चाखले उनीहरुलाई नै हेरेका थिए । चिडियाखानाले आश्रमदेखि नै सवारी साधनको व्यवस्था गरिदिएर उनीहरुलाई चिडियाखानामा घुमघाम गर्ने र जीव जनावारको बारेमा जानकारी पाउने अवसर मिलाएको चिडियाखानाकी संरक्षण शिक्षा अधिकृत रमिता ब्यञ्जनकारले जानकारी गराउनुभयो ।

व्यञ्जनकारका अनुसार सदर चिडियाखानाले यस्तो कार्यक्रम वर्षमा एक पटक गर्ने गरेकामा यस पटक आश्रममा आश्रित बालबालिकालाई ल्याएर यो अवसर प्रदान गरिएको थियो । उनीहरुलाई विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म अवलोकन गर्ने व्यवस्थाका साथै खाजाको समेत व्यवस्थापन गरिएको हो । अवलोकनका क्रममा उनीहरुलाई अधिकृत व्यञ्जनकार, शिक्षा अधिकृत मदिसरा ढकाल र आस्था जोशीले बालबालिकाहरुलाई संरक्षित जनवारहरु चिनाउँदै उनीहरुको बारेमा व्याख्या समेत गरेका थिए । कुनै पनि कर्पाेरेट हाउस होस् या कार्यालय । सबैको सामाजिक उत्तरदायित्व फण्ड (सिएसआर) को व्यवस्था गरिएको हुन्छ ।

सो व्यवस्था अनुसार ती कम्पनी या कार्यालयको कमाइको केही प्रतिशत यो फण्डमा खर्च गर्नुपर्ने हुन्छ । सायद सदर चिडियाखानाले पनि सोही रकमको व्यवस्था गरेको हो कि कुन, त्यो त थाहा भएन । तर पनि यस्ता अनाथ आश्रम या यी बेसहारा बालबालिका तथा व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेका आश्रमका लागि यसरी पनि यो रकम खर्च गर्न सकिन्छ भन्ने सदर चिडियाखानाको यो कार्य पनि एक उदाहरण बन्न सक्छ । चिडियाखानामा सबैको आकर्षणको केन्द्र थिइन् स्तुति ।

यो पनि पढनुहोस- स्तुतिको बोलीमा आउन खोजेकी ‘आमा’

विसं २०७८ को माघ महिनामा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं ५ स्थित एक गरिब परिवारमा जन्मिएकी स्तुतिले आमा देख्न पाइनन् । छोराको चाहनामा छोरी जन्माउँदै आएकी आमाकी उनी सातौँ छोरी थिइन् । स्तुति जन्मिएको केही मिनेटमै उनकी आमाले पीडाका कारण सालनाल नखस्दै मृत्युवरण गरिन् । उनलाई हुम्लाको त्यो समाजको ताप र त्रास थियो जसरी पनि छोरा जन्माउनुपर्ने । सातौँ पटक पनि छोरी जन्मिएपछि सन्तानको अनुहार नै नहेरी आमाले मृत्युुबरण गरेपछि भन्न सकिन्छ कि उनले त्यही पीडामै रहेर मृत्युवरण गरेकी हुन् । बुबा दम रोगका विरामी, घरमा उनका छ दिदीहरु ।

उनलाई हेरचाह र संरक्षण गर्न सक्षम नभएपछि गाउँलेले ८-९ दिनसम्म गाईभैसीको दुध खुवाएर त राखे, त्यसपछि उनलाई बचाउने र हुर्काउने झमेला कसले ब्यहोरिदिने ? घर र आफन्तकै बोझ बन्नुपरेकी यी छोरीलाई ललितपुरको तुलसालय आश्रमले हुम्ला पुगेरै उद्धार गरेर ल्यायो र अहिले उनी २७ महिनाकी भइन् र यो जन्मकी उनकी आमा हुन् सुरु सुवेदी । आमा वितेपनि स्तुतिको मातृत्व वित्न दिइनन् सुरुले । तुलसालय आश्रमकी अध्यक्ष सरु आफैँ हुम्ला पुगेर नानीलाई ल्याइन् र आश्रममै न्वरान पनि गरिन् । उनैले राखेको नाम हो, स्तुति । सरु भन्छिन्, जसरी छोरा जन्माउन नसक्नुको पीडाले उनको आमाले मृत्युवरण गर्नुपर्यो, त्यसरी अबका दिनमा कुनै आमा मर्नु नपरोस् भन्ने स्तुति भगवानलाई गरेर उनको नाम स्तुति रोखेकी हुँ ।

ललितपुर महानगरपालिका वडा नं २५ नख्खुडोलस्थित तुलसालय आश्रमकी सञ्चालक सुवेदी अहिले सो आश्रममा जेष्ठ नागरिक मानसिक रुपमा विक्षिप्त भएकाहरुका साथै बाबुआमा गुमाएकाहरुलाई समेत संरक्षकत्व प्रदान गरिरहेको बताउनुहुन्छ । अहिले जेष्ठ नागरिक र मानसिक समस्या भएकाहरु बाहेक ३७ जना बालबालिका सो आश्रममा हुर्किएका छन् र तीमध्ये ३२ जना विद्यालय जाने गर्दछन् ।

संरक्षणमा रहेका बालबालिकाहरुको स्याहारसुसारका लागि कसरी आर्थिक व्यवस्थापन गरिरहनुभएको छ त भन्ने पंक्तिकारको प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्, “भगवानले पुर्याएका छन् । कसैले विवाहको बार्षिकोत्सव, जन्मोत्सव, अन्य कुनै पर्वका अवसरमा दिएको सहयोग आश्रमले पाएको छ । हामीले प्रचारप्रसार गरेर चन्दा मागेका छैनौं । सुरुमा आफ्नै सम्पत्ति बेचेर आश्रम सञ्चालन गर्याैं । अहिले विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको छ ।”

उनका अनुसार नेपाल सरकारको आँखा भने अहिलेसम्म तुलसालयसम्म पुगेको छैन । आश्रममा २७ महिनादेखि १७ बर्ष सम्मका बालबालिका र ९० बर्षसम्मका जेष्ठ नागरिकहरु गरी ५३ जना हुनुहुन्छ । संरक्षणमा रहेका बालबालिकाहरुका लागि आश्रमले भैसेपाटीस्थित आदर्श सौल युवक माध्यमिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । सबैलाई समान व्यवहार र संस्कारसहितको संरक्षण प्रदान गर्नुपर्छ भन्ने सोचअनुसार सबैलाई पठनपाठनको व्यवस्था मिलाइएको सरु बताउँछिन् ।

आइतबार यसरी चिडियाखानाले तुलसालय आश्रमलाई सम्झिएर यसरी बालबालिकालाई रमाउने अवसर प्रदान गरेकामा सुरु अध्यक्ष सरु सुवेदी निकै खुसी थिइन् । भवुक हुँदै उनले भनिन् “यो समाजमा बेसहाराहरुको पनि कोही रहेछ, हामीले गरिरहेका कामलाई पनि कसैले हेरेको या देखेको रहेछ भन्ने महसुुस गरिरहेकी छु, निकै खुसी लागेको छ ।”