• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

के वामपन्थी के गैरवामपन्थी सबै राजनीतिक दलहरूको आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको हो ?



नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पचहत्तर वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा (एमाले) लाई धन्यवाद दिँदै यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । यस अवसरमा, म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफ्नो जीवन उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।

यसैगरी, हाम्रो देशमा लोकतन्त्र र गणतन्त्र स्थापनाको लागि भएका आन्दोलनमा विशिष्ट योगदान पुर्‍याउनु भएका टंकप्रसाद आचार्य, पुष्पलाल, वीपी कोइराला, मदन भण्डारी, मनमोहन अधिकारी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका अग्रज नेताहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै, राणाशाही विरुद्ध सशक्त आन्दोलन गर्ने मुक्ति योद्धा रामप्रसाद राई, नारदमुनि थुलुङ तथा लोकतान्त्रिक आन्दोलनका अगुवा नेताहरू महेन्द्रनारायण निधि र गजेन्द्र नारायण सिंहले गर्नुभएको महत्वपूर्ण योगदानको समेत म स्मरण गर्न चाहन्छु ।

वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले वितेका साढे सात दशकमा जहाँनीयाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवर्द्धन गर्न, देशप्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको सम्वर्द्धन गर्न महत्वपूर्ण दायित्व वहन गर्दै आएको छ ।

साथै, यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा यी विषयहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन समेत गर्दै आएको छ । यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षा समेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ । सँगै स्थापना भएका अरु देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु पर्‍यो, नेपाली कम्युनिष्ट आन्दोलनमा पटक पटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो भन्ने जस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा थप सफलता हासिल गर्न कठिनाई हुनसक्छ ।

साँच्चै भन्ने हो भने, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन लागेका के वामपन्थी के गैरवामपन्थी सबै राजनीतिक दलहरूले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ, छैन बेला बेला समीक्षा गर्दै अगाडि बढ्नु पर्दछ । आजको दिनले सम्बद्ध सबैलाई यस विषयमा चिन्तन गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।

विगत सात दशकको अवधिमा निरङ्कुश शासकहरूबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको थियो । तर निरङ्कुशताको विरुद्धमा नेपाली जनताले गरेको निरन्तर संघर्षकै प्रतिफलस्वरूप आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यससँगै अब लोकतन्त्र र राजनीतिक अधिकार प्राप्तिका लागि गरिने आन्दोलनको चरणलाई हामीले पार गरिसकेका छौँ । तसर्थ, अबको हाम्रो मूल अभिष्ट र गन्तव्य भनेको जनताको जीवनस्तरमा सुधार गर्दै संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकास हुनु पर्दछ । र, यसका लागि हामीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु पर्दछ । यसरी मात्र हामीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सक्दछौँ भन्ने मलाई लाग्दछ ।

लोकतन्त्रमा दलहरू हुनु र ती दलका सिद्धान्त र विचार फरक पर्नु स्वाभाविक हो । राजनीतिक दलले निर्वाचनमा गएर जनताको विश्वास जितेर आउनु र घोषणपत्रमा उल्लेख गरेका आधारमा संवैधानिक परिपाटीभित्र रहेर देश र जनताको हितमा सरकारको तर्फबाट नीति ल्याएर त्यसको कार्यान्वयन गर्न लागिपर्नु लोकतान्त्रिक मान्यताभित्र पर्ने विषय नै हो । तर कतिपय यस्ता विषयहरू हुन्छन्, जहाँ सबै राजनीतिक दलहरूले साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने उच्चस्तरको राजनीतिक संस्कृतिको विकास गर्नै पर्दछ । अन्यथा प्राप्त भएको राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्र होइन लोकतान्त्रिक राजनीतिक प्रणालीले समेत आलोचनाको भागिदार बन्नु पर्दछ । त्यसैले राजनीतिक दलहरूले यस विषयमा समेत बेलैमा ध्यान दिनु पर्दछ ।

हाम्रा निकट छिमेकी मित्र राष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेका छन् । यो हाम्रा निम्ति खुसी र प्रेरणाको विषय हो । यी दुई मुलुकसँगको हाम्रो सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई मध्यनजर गर्दै विकासका निम्ति साझेदारी गर्नु पर्दछ । अन्य मित्रराष्ट्रहरू र विकासका साझेदार अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धलाई समेत थप कसिलो बनाएर आपसी हितका निम्ति अग्रसर बन्नु पर्दछ । साथै, परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु सङ्कट, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरीय शिक्षा, रोजगारी प्रवर्द्धन जस्ता विषयमा साझा धारणा बनाएर हाम्रो देशका राजनीतिक दलहरू तिनको कार्यान्वयन गर्न अग्रसर हुनु पर्दछ । खुल्ला सीमाले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सार्वभौमिकताका विषयमा पार्नसक्ने प्रतिकूल प्रभावका बारेमा सम्पूर्ण राजनीतिक दलहरूले सजगता अपनाउनु पर्दछ ।

आज यस समारोहमा मलाई नेकपा (एमाले) ले ‘गणतन्त्र गौरव सम्मान’ अर्पण गरेकोमा धन्यवाद दिन चाहन्छु । यो सम्मान मलाई व्यक्तिगत रूपमा गरिएको जस्तो देखिए पनि वास्तवमा यो लोकतान्त्रिक गणतन्त्रप्रतिको उच्च आस्था, विश्वास र सम्मानको प्रतीक हो भन्ने मलाई लागेको छ । यस सम्मानबाट मलाई थप जिम्मेवारी बोध भएको महसुस समेत भएको छ ।
हाम्रो मुलुकले लोकतान्त्रिक गणतन्त्रको गौरवशाली इतिहास रच्दै जाने क्रममा मलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा मुलुकको सर्वोच्च पदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भयो । वंश परम्पराका आधारमा होइन कि जनताको छोरी वा छोरा निर्वाचनमार्फत चुनिएर राष्ट्रप्रमुख हुन पाउने परिपाटी बसाल्न नेपाली जनताले ठूलो संघर्ष गर्नुपर्‍यो र यही संघर्षको धरोहरको रूपमा राष्ट्रपति संस्था स्थापना हुन पुगेको हो ।

सर्वविदितै छ कि, नेकपा (एमाले) का तत्कालिन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय जीप दूर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो । नेकपा (एमाले) को प्रेरणा र प्रोत्साहन एवं कार्यकर्ता, सदस्य तथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुनुपर्ने परिवेश निर्माण भएको थियो ।

पार्टीको जिम्मेवारी पूरा गरिरहेकै सन्दर्भमा २०७२ सालमा राष्ट्रपतिको लागि हुने निर्वाचनमा पार्टीले मलाई उम्मेद्वारको रूपमा प्रस्तुत गर्‍यो र त्यस बखतका सहयात्री दल तथा अन्य सांसदहरूको समेत समर्थनमा म राष्ट्रपति पदमा निर्वाचित भएँ । यसपछि देश र जनताको सेवामा फरक ढङ्गले क्रियाशील बनेर समर्पित हुनुपर्ने परिस्थिति सिर्जना भयो । यसरी मैले जनताको शुभेक्षा, जननेताको अवसानपछि उत्पन्न विशिष्ट परिवेश तथा नेकपा (एमाले) को विश्वासका कारणले नै नेपालको राष्ट्रपति बन्ने अवसर पाएको हुँ भन्ने कुरा सबैलाई स्पष्ट नै छ । एक संवैधानिक राष्ट्रपतिको भूमिका जे हुने हो, सोही बमोजिम नै मैले देश र जनताको हितलाई ध्यानमा राखेर काम गर्ने कोशिस गरेँ ।

नेपाल राष्ट्र र नेपाली नागरिकको सम्मान र गौरव बढाउन मैले जेजति कार्यहरू गरेँ सबैका अगाडि खुल्ला किताब झैँ छर्लङ्ग छ । म आफू राष्ट्रपति भएका बेला तीनवटा प्रमुख राजनीतिक दलका नेताहरू जो अहिले यसै समारोहमा समेत सरिक हुनुभएको छ, राष्ट्रिय हित, सुरक्षा र नागरिक सरोकारका विषयमा उहाँहरूसँग पटक पटक परामर्श गरेको सन्दर्भ समेत म यहाँ स्मरण गर्न चाहन्छु ।

सेवाको फरक दायित्व र भूमिकाबाट बाहिर आएको एक वर्ष बढीको अवधिमा एक जिम्मेवार नागरिकको रूपमा समेत मैले मुलुकको समग्र राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको बारेमा नजिकबाट चिन्तन मनन गर्दै आएको छु । मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्थाको अध्ययन गर्दा संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका निम्ति सबैले मिलेर कार्य गर्नुपर्ने अवस्था विद्यमान छ ।

यसैगरी, नेपालको सन्दर्भमा मार्क्सवादको नयाँ आयामको रूपमा नेपाली माटोमा विकसित भएको र जननेता मदन भण्डारीद्वारा प्रतिपादित मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रुपान्तरण गर्ने दायित्व बाँकी नै रहेको छ । यस्तो गहन र महत्वपूर्ण दायित्व पूरा गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा (एमाले) सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामू एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने विश्वास समेत लिएको छु । यसका निम्ति म नेकपा (एमाले) को सिङ्गो परिवारलाई हार्दिक शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।

२०८१ वैशाख १० गते सोमबार ।

श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले नेकपा (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक जयन्ती समारोहमा गर्नुभएको सम्बोधन

फोटो- रासस