८ आश्विन २०८१, मंगलवार
,
Latest
मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा निर्मित संरचना भत्काइँदै



अ+ अ-

खलङ्गा । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् ।

जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा भत्काउन थालेका छन् । बजारको दीर्घकालका लागि आफूले निर्माण गरेका संरचना भत्काउन तयार रहेको स्थानीयवासी मुनबहादुर बुढाले बताउनुभयो । सडक चौडा गर्नका लागि राजमार्गमा निर्माण भएका संचरनालाई भत्काउने जानकारी दिएपछि स्थानीयवासीले आफ्नो घरटहरा भत्काउन सहमत भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताउनुभयो । 

जुम्ला, कालिकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार भएकाले यहाँको विकास अनिवार्य छ । सो बजारको दीर्घकालीन विकासका लागि चौडा सडक बनाउन थालिएको हो । सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो, “यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम कम गर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो ।”

सडक चौडा बनाउन कालिकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमतिअनुसार स्थानीयवासी आफ्ना घरटहरा भत्काउन राजी भएका हुन् । सडकको मध्यभागदेखि साढे सात/सात मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “कालिकोटको तिलागुफा नगरपालिका–१ मा पर्ने तीन जिल्ला जोड्ने केन्द्रविन्दु नाग्मबजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो । 

कर्णाली राजमार्गको कालिकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रविन्दु पनि नाग्मबजार नै हो । यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हुँदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मवासीले आफैँले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।”

भौतिक संरचना भत्काइसकेपछि ३०० मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्र गर्ने तयारी शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो बजारको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट रु एक करोड १७ लाख बजेट विनियोजन भएको छ । सडकको एक साइडमा ढल निकासका लागि नाला पनि निर्माण गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ  । रासस