२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

उत्तराखण्डमा हिमनदी विस्फोटः ८ जनाको मृत्यु, डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन

उत्तराखण्डमा हिमनदी विस्फोटः ८ जनाको मृत्यु, डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन
अ अ+ अ-

नयाँदिल्ली । भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए ।

उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको शव फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए । दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ ।

हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको छ । परियोजनाको त बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम

गर्ने मजदुर भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । परियोजनाको सुरुङमा फसेका १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले उद्धार गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आइतबारै चमोली जिल्लाको रैनी, तपोवनलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । उद्धारका लागि केन्द्र सरकारले सेनाको दुईवटा विशेष विमानमा उद्धार टोली दिल्लीबाट पठाएको थियो । यसैबीच उत्तराखण्ड राज्य सरकारले मृतकका परिवारलाई चार लाख भारु दिने घोषणा गरेको छ ।

प्रदेश सरकारले गंगा नदीका सबै तटीय क्षेत्रमा हाई अलर्ट जारी गरेको छ । उत्तरप्रदेश सरकारले पनि गंगाका तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको थियो । उत्तराखण्ड सरकारले गंगा नदीमा पानीको बहावलाई सामान्य बनाउन भागीरथी नदीमा बनाइएको तेहरी बाँध बन्द गरेको छ । उत्तराखण्डकै देवप्रयागमा भागीरथी र अलकनन्दा मिसिएपछि गंगाका नामले चिनिन्छ । पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपाली रोजगारीका लागि उत्तराखण्ड जाने गर्छन् । तिनीहरूमध्ये अधिकांशले भारी बोक्ने र सडक एवं विद्युत् परियोजनामा काम गर्ने गरेको भेटिन्छ । त्यही भएर पनि पछिल्लो घटनामा थप नेपाली परेको हुन सक्ने आशंका गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले नेपालीको सम्बन्धमा जानकारी लिने प्रयास भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले नेपालीका अवस्था बुझ्न दूतावासको पूरै टिम लागेको बताए । ‘दूतावासको पूरै टिम नेपालीको पछिल्लो अवस्था बुझ्न लागिपरेका छौं, स्थानीय प्रशासनसँग सम्पर्क गरिरहेका छौं,’ सुवेदीले भने । यसअघि, २०७० जेठ ३० मा बद्री–केदारनाथ क्षेत्रमा आएको बाढीपहिरोमा परेर ५ हजार ७ सय तीर्थयात्री र स्थानीय श्रमिकको ज्यान गएकामा झन्डै ५ सयजति नेपाली रहेको अनुमान रहँदै आएको छ ।

उक्त विपत्तिमा परेर हराउने १ सय ७० नेपालीको ‘प्रमाणित बेपत्ता सूची’ दिल्लीस्थित नेपाली दूतावासको अभिलेखमा राखिएको छ । ‘आइतबारको हिमपहिरोको मुख्य स्थान जोशीमठ भनेकै नेपाली श्रमिकको चहलपहल रहने क्षेत्र हो,’ उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजका समन्वय गरिरहेका पुष्पराज पाण्डेयले फोनमा भने, ‘जोशीमठ, बद्रीनाथ रोड आसपास सम्पर्कमा रहँदै आएका नेपाली कामदार, ठेकेदार तथा स्थानीयवासी पनि सम्पर्कबाट बाहिर छन्, सबैभन्दा ठूलो क्षति नेपाली श्रमिकमाझ परेको देखिन्छ ।’

उत्तराखण्डको बद्री–केदारनाथ, जोशीमठ क्षेत्रमा अधिकांशजसो सल्यान, रुकुम, रोल्पा, दाङ, कालीकोट, जाजरकोट, बझाङ, बाजुरा आदि जिल्लाबाट आएका श्रमिकहरू भेटिने गर्छन् । आवतजावतमा कहींकतै रेकर्ड राख्ने पद्धति नहुँदा र कामदारको स्थानीय अभिलेखीकरणसमेत नहुँदा आइतबारको प्राकृतिक विपत्तिमा कति नेपाली परेका छन् भन्ने निर्क्योल गर्न मुस्किल हुने पाण्डेयले बताए । काठमाडौंमा परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उत्तराखण्डमा आएको प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउने र बेपत्ता हुने नागरिकका परिवारजनमा शोक र सहानुभूति व्यक्त गरेको छ । कान्तिपुर दैनिक