२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

‘त्यो भातखाने डाँडा, यो भातखाने डाँडा’

‘त्यो भातखाने डाँडा, यो भातखाने डाँडा’
अ अ+ अ-

बागलुङ । ऋतु फेरिएर हिउँदे अन्नपात भित्राउनुपूर्व ताराखोला गाउँपालिका–२ अर्गलमा बाली पूजाको रौनक चल्थ्यो । बाली पूजालाई ‘चैते’ र ‘ठूलो पूजा’समेत भन्थे, पाकापुराना । सिद्ध, देउराली र बराहथानमा बाली पूजा हुने गर्दथ्यो ।

थामको धुरीमा रहेको सिद्धथानमा धुमधाम पूजा गरेपछि गाउँभरिका मान्छे एकै ठाउँ जम्मा हुन्थे । पूजाको प्रसाद सामूहिक रुपमा ग्रहण गर्थे । प्रसादमा थानमा चढेको साँढे, पाठापाठीको मासुदेखि घरदेखि लगिएको चामल, दूधको परिकार हुन्थ्यो ।

गाउँको बीच र डाँडामा पनि पर्ने भएकाले पूजाआजापछि सामूहिक प्रसाद लिने ठाउँ त्यही थियो, जुन अहिले ‘भातखाने डाँडा’ले चिनिन्छ । हिउँदे अन्नपात भित्राउन लागेको सन्देश र बर्खे बाली सप्रियोस्, कुनै प्रकोप नआओस् भन्ने कामनाका साथ गरिने बाली पूजाको परम्परा अहिले पनि कायम छ । “पहिलेपहिले बाली पूजापछि गाउँभरिका मानिस एकै ठाउँ जमघट हुने, पूजाको प्रसादी बनाउने, खाने चलन थियो”, मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले भन्नुभयो, “पुरानो पुस्ताले बाली पूजाको चलन बसालेदेखि नै त्यो ठाउँको नाम भातखाने डाँडा रहेको हो ।”

उहाँका अनुसार भातखाने डाँडामा पहिले घर थिएनन्, पातलो वनको बीचमा ठूलो सल्लाको रुख, छेउमा चौतारो र पोखरी थियो । घुमफिर गर्दै आएका योगीले केही समय त्यहाँ तपस्या पनि गरेको सचिव घर्तीमगरको भनाइ छ । “अहिले त भातखाने डाँडाको मुहार पनि बदलियो, बाली पूजाको महिमा पनि घट्यो”, उहाँले भन्नुभयो ।

भातखाने डाँडामा अहिले बाचा बाँध्ने मात्र काम हुन्छ, पहिले जस्तो सामूहिक भात खाने÷प्रसाद लिने परम्परा छैन । बाली पूजा र भातखाने डाँडाको सम्बन्ध पनि पुरानो स्मृतिमा मात्र सीमित हुन पुगेको छ । अर्गलका रैथाने मगरले अहिले पनि बाली पूजा भने गर्न छाडेका छैनन् ।

पहिले जनजाति परिवारले मात्र बाली पूजामा सहभागी हुन पाउने नियम रहेपनि विसं २०४६ पछि सबै समुदायका मानिसको सहभागिता हुन थालेको तत्कालीन अर्गल गाविसका अध्यक्ष दिलबहादुर घर्तीमगरले बताउनुभयो । “जनजातिबाहेक अरु कोही पनि पूजामा आउन पाउँदैनथे, अरुले प्रसाद खान पनि हुन्न भन्ने चलन थियो, पछि मित लगाएर एक जना क्षत्री भित्रिए, अहिले त पूजामा सबैको हक लाग्छ”, उहाँले भन्नुभयो । आफू गाविस अध्यक्ष हुँदा बाली पूजामा गाविसको प्रशासनिक काम र सेवासमेत बन्द गर्ने गरेको उहाँले स्मरण गर्नुभयो ।

“अहिले त भात खाने डाँडामा खुला ठाउँ पनि छैन, पूजाको प्रसाद पनि घरघर लैजाने चलन आयो”, घर्तीमगरले भन्नुभयो, “बाली पूजापछि गाउँका सबै घरकुरियाका मानिस एकठाउँ जम्मा भएर प्रसाद ग्रहण गर्ने चलन रहेकाले हाम्रा पुर्खाले यो ठाउँको नाम भातखाने डाँडा राखेका हुन् ।” उहाँका अनुसार घरबाट चामल, नुन, तेललगायत सामग्री लगेर कसैले भात पकाएर खान्थे त कतिले खीर ।

अर्गलमा धान खेती नभए पनि गाउँलेले बाहिरबाट किनेर ल्याएको चामल बाली पूजाका लागि जोगाएर राख्थे । एकसठ्ठी वर्षीय घर्तीमगरका अनुसार चैतको दोस्रो हप्तातिर बाली पूजा हुन्छ । “पुरानो संस्कृति, परम्परा जोगाउनै गाह्रो छ, अहिले भात खाने डाँडाको मौलिकता पनि हरायो, विकासले धेरै फरक पारेको छ ।”

खडेरी परेका बेला बाली पूजा गर्दा पानी पर्ने जनविश्वास पनि रहीआएको छ । बाली पूजासँग जोडिएर पहिचान बनाएको भातखाने डाँडामा अहिले के हुँदैछ त रु ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भन्नुभयो, “गाउँपालिकाको केन्द्र बनेपछि भातखाने डाँडामा चहलपहल बढेको हो, पूर्वाधार विकासदेखि हरेक दृष्टिबाट यो ठाउँलाई समृद्ध बनाउन लागिपरेका छौँ ।”

तत्कालीन गाउँ पञ्चायतमा घरदेखि बहुदल कालमा गाविस भवन हुँदै सङ्घीय गणतन्त्रात्मक व्यवस्थामा गाउँपालिकाको केन्द्रमा रुपमा भात खाने डाँडाको चिनारी फेरिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा समेत भातखाने डाँडाले फड्को मार्दैछ । कुनै बेलाको रित्तो डाँडा अहिले बजारीकरण उन्मुख छ । 

बाली पूजापछि गाउँले बसेर भात खाने, थकाइ मार्ने चौपारी भएको ठाउँमा अहिले गाउँपालिकाको प्रशासनिक भवन ठडिँदैछ । आवासदेखि व्यावसायिक घरले डाँडा भरिएको छ । व्यापार फस्टाउँदो छ । गाउँपालिकाको मुकाम भएकाले विकासका अन्य संरचना पनि भातखाने डाँडामा केन्द्रित गरिएको छ । गाउँपालिका अध्यक्ष घर्तीमगरले भातखाने डाँडा जोड्ने सबै सडक कालोपत्र गरिने बताउनुभयो । बजार क्षेत्रको सडक ढलान भइसकेको छ । “अब छिट्टै कृषि उपज सङ्कलन केन्द्र बन्दैछ, बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढ्दैछ”, अध्यक्ष घर्तीमगरले भन्नुभयो । सभागृह, अस्पताल भवनलगायतका संरचना बनिसकेका छन् । त्यहाँ पुग्ने आगन्तुकलाई लक्षित गरी ‘किकल्टा’ घरबास सञ्चालन गरिएको छ । घरबासमा पुग्ने पाहुनाले मगर संस्कृति, खानपान र रहनसहनको अनुभूति गर्न पाउँछन् ।

मगर बाहुल्य बसोबास रहेको अर्गलमा ऐतिहासिक भुस पोल्ने पर्व पनि प्रचलित छ । वर्षेनि कात्तिक २४, २५ र २६ गते भुस पोल्ने पर्व मनाइन्छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र खेती गरेको दिनको सम्झनामा उक्त पर्व मनाउने गरिएको स्थानीयवासी बताउँछन् । बाली पूजा झैँ भुस पोल्ने पर्व पनि कृषिको उत्पादन प्रणालीसँग जोडिएको मगर भाषा तथा संस्कृति सम्वद्र्धन समितिका सचिव बिर्बलालले बताउनुभयो ।

अनेक परम्परा, रीतिरिवाज र पर्वले अर्गलसँगै सिङ्गो ताराखोला गाउँपालिकालाई चिनाउने गरेको उहाँको भनाइ छ । तीन सय वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगरले ताराखोलामा थातथलो बसाएका थिए । तीनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्राएका पर्व र मेला अहिले पनि चल्तीमा छन् ।

ऐतिहासिक भुस पोल्ने पर्व, भदौरे सिस्नो खोस्ने पर्व, असारे मेला, बर्खे मेला आदि ताराखोलाका मौलिक संस्कृति हुन् । स्थानीय सरकारका रुपमा गाउँपालिका बनेपछि संस्कृतिको संरक्षण र प्रसारमा पनि लगानी थपिएको छ । गत वर्ष भुस पोल्ने पर्वका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो । “भातखाने डाँडा पनि एउटा सांस्कृतिक पहिचानसँग जोडिएको नाम हो, भौतिक विकासले यसको पुरानो स्वरुप परिवर्तन भएपनि यसको इतिहास झल्काउने गरी कुनै संरचना बनाउने की भन्ने सोचमा छौँ”, गाउँपालिका अध्यक्ष घर्तीमगरले भन्नुभयो । रामबहादुर थापा /रासस