१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै
अ अ+ अ-

ढोरपाटन । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् । यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।

त्यसो त बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पतालमा स्तरोन्नतिका लागि विसं २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रलायले निर्णय गरे पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । तर अब भने सो स्वास्थ्य केन्द्र प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको यही फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरिसकेको छ ।

यो स्वास्थ्य केन्द्र विसं २०५२ मा स्थापना भएको हो । यस क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले १६ वर्ष अगाडि जिल्ला अस्पताल बनाउने निर्णय गरी रु ३२ करोडको लागतमा संरचना निर्माण गरिएको थियो । करोडौँको संरचना निर्माण गरे पनि जिल्ला अस्पताल बन्न नसके पनि यस स्वास्थ्य केन्द्रमा हाल २५ शय्यासहितको सेवा भने प्रवाह भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्वीकृत दरबन्दीमा व्यवस्थापन समिति र विभिन्न निकायले जनशक्ति थप गरी २५ शय्याको सेवा दिइदै आएका हुन् ।

हाल केन्द्रमा १० शय्याको आकस्मिक र १५ शय्याको प्रसुति विभाग सञ्चालनमा छ । स्थानीय र सरोकारवाला निकायको लामो समयको प्रयासपछि केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाउन लागिएको हो । केन्द्रका लागि स्वीकृत ११ जनाको स्थायी दरबन्दी भए पनि ४८ जना कार्यरत छन् । ढोरपाटन नगरपालिकाले करार सेवामा २० जना, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट सात जना र निकसाइमन इनिस्टिच्युट संस्थाबाट छ जना कर्मचारी व्यवस्थापन गरेर २५ शय्याको सेवा सञ्चालन गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा नवीन्द्र ढकालले बताउनुभयो ।

उहाँका अनुसार हाल एक जना बालरोग र एक जना एमडीजिपी विशेषज्ञ, दुई जना मेडिकल अधिकृत, एक ल्यावको बीएमलटी, दुई जना स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार जना अहेव, पाँच जना अनमी र ९ जना कार्यालय सहयोगी लगायतका कर्मचारी रहेका छन् ।

हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसुति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचारलगायतको सेवा दिँदै आइएको उहाँको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गर्न कुनै समस्या नभएको डा ढकाल बताउनुहुन्छ । हालको संरचना अस्पताल सञ्चालनका लागि पर्याप्त रहेको हुँदा सरकारले आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरे तत्काल प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न सकिने उहाँको भनाइ छ ।

“बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाउनका प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट समिति गठन गरी पटक–पटक अनुगमन भएको छ”, डा ढकालले भन्नुभयो, “सङ्घीय सरकारले घोषणा गरेको निर्णयलाई कार्यान्वयन गर्न समस्या छैन । अहिले प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा नभइ अस्पतालले दिन विशेषज्ञ सेवा प्रदान गरेका छौँ । दक्ष जनशक्ति अभाव हुँदा हुँदै पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै गएका छौँ ।”

केन्द्रबाट हाल वार्षिक करिब छ सयभन्दा बढीलाई प्रसुति सेवा दिइँदै आइएको छ भने दैनिक तीन सयभन्दा बढीलाई बहिरङ्ग र औसतमा ३० जनालाई आकस्मिक सेवा दिँदै आइएको छ । केन्द्र अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी नौ आना जग्गामा फैलिएको छ भने तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन छन् । जुन संरचना अस्पताल संचालनका लागि पर्याप्त भएको केन्द्रको भनाइ छ । पचास शय्याको अस्पताल सञ्चालन गर्न एक सय ४९ जना जनशक्ति आवश्यक पर्छ । जसमा एक जना ११औँ तहको मेडिकल सुपरिटेन्डेण्ट, वरिस्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट एक जना चाहिन्छ ।

त्यस्तै कन्सल्टेन्ट सर्जन एक जना, बाल रोग विशेषज्ञ एक जना, फिजिसिएन एक जना, स्त्रीरोग विशेषज्ञ एक जना, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ एक जना, एनेस्थेसिया विशेषज्ञ एक जना, रेडियोलोजिस्ट विशेषज्ञ एक जना, दन्त चिकित्सक एक जना, मेडिकल अधिकृत १२ जना, आयुर्वेदिक चिकित्सक दुई जना, स्टाफ नर्स ४० जना, मिडवाइफ चार जना, हेल्थ असिस्टेन्ट नौ जना आवश्यक पर्ने गर्छ ।

केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरको अस्पताल सञ्चालनका लागि रु २० करोड ८२ लाख लागत लाग्ने अनुमान गरिएको छ ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बुर्तिबाङ नगरपालिकाले हरेक वर्ष केन्द्रमा लाखौँ लगानी गर्दै आएको बताउनुभयो । पश्चिम बागलुङका अधिकांश नागरिकलाई यो स्वास्थ्य केन्द्र नजिक पर्ने हुँदा बिरामी चाप बढ्ने गरेको उहाँको भनाइ छ ।

माथिल्लो निकायबाट खास्सै सहयोग हुन नसकेको र चिकित्सक पनि एकरदुई महिनाभन्दा बढी नटिक्ने भएकाले बिरामीले सास्ती खेप्नु परेको उपप्रमुख कायतले बताउनुभयो । पछिल्लो केही समय चिकित्सक टिकाउनका लागि नगरपालिकाले सेवा सुविधा थप गरेको उहाँको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो, “नगरपालिकाले निरन्तर बुर्तिबाङ स्वास्थ्य केन्द्रमा लगानी गर्दै आएको छ, आवश्यक स्वास्थ्य सामग्रीदेखि चिकित्सकलाई थप सेवा सुविधा दिएर टिकाउने प्रयास गरिएको छ ।” अहिलेसम्म केन्द्र र प्रदेश सरकारबाट सहयोग नभएको उहाँको भनाइ छ ।

“पहिले विहान १० देखि ५ बजेसम्म मात्रै प्रवाह हुने सेवालाई अहिले २४ घण्टा दिने व्यवस्था गरेका छौँ, सरकारको प्रदेशस्तरीय अस्पताल बनाउने निर्णय स्वागत योग्य छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले लामो समयको प्रयासपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति हुन लागेकोमा खुसी व्यक्त गर्नुभयो । करिब दुई दशकदेखि पश्चिम बागलुङमा विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि जिल्ला अस्पताल बनाउनु पर्ने माग राख्दै आएकोमा अहिले बल्ल पूरा भएको उहाँको भनाइ छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवा गुणस्तरीय बन्दै गएको भन्दै अब थप स्तरोन्नतिपछि यस क्षेत्रका नागरिक हजारौँ खर्च गरेर पोखरा, काठमाडौँ लगायतका ठाउँमा जानु नपर्ने उहाँले बताउनुभयो ।

“पहिले यस क्षेत्रमा स्वास्थ्य सेवा निकै कमजोर थियो, धेरै नागरिकले समयमा राम्रो उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको थियो, अब त्यो अवस्था नदोहोरियोस भनेर हामी निरन्तर लागि परेका छौँ”, कुँवरले भन्नुभयो, “अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा पनि राम्रो हुँदै गएको छ, सरकारलाई तत्काल निर्णय कार्यान्वयन गर्नका लागि हामीहरुले सचेत गराइरहने छौँ ।”

मध्यपहाडी लोकमार्ग छेउमै रहेको बुर्तिबाङमा प्रदेशस्तरीय अस्पताल सञ्चालन भए पश्चिम बागलुङ छ पालिकासहित गुल्मी, प्यठान, रोल्पा र पूर्वी रुकुमका हजारौँ नागरिकले स्वास्थ्य सेवा लिन सहज हुने थियो । अहिले पनि गुल्मीसहितका छिमेकी जिल्लाका नागरिकले सेवा लिन आउने गरेका छन् । रासस