१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लोकतान्त्रिक शासन प्रणालीको छहारीमा नेपाली समाज

लोकतान्त्रिक शासन प्रणालीको छहारीमा नेपाली समाज
अ अ+ अ-

काठमाडौँ । लोकतन्त्रको न्यानो छहारी सबैका लागि प्यारो हुन्छ । यो आदर्श ‘शब्द’ मात्र होइन, स्वतन्त्रता र खुलापन चाहने जोकोही जनताको आकाङ्क्षाको उच्चतम रुप पनि हो । हामी एकछिन लोकतन्त्रबिनाको समाज र राष्ट्रको परिकल्पना गरौं । लोकतन्त्र नहुँदाको अवस्थालाई हामी सबैले भन्न थाल्नेछौँ, देश अधिनायकवादतर्फ उन्मूख भयो ।

बोल्न, लेख्न, सङ्गठित हुन पाइन्न । पाइलैपिच्छे व्यक्तिको गोपनीयता हनन् हुन थाल्छ । लोकतन्त्रका आधारस्तम्भ निकम्मा हुन थाल्छन् र त्यसप्रति आमजनताको भरोशा रहन्न । अन्तर्राष्ट्रिय जगतले पनि यस्तो शासनप्रति बक्र दृष्टि लगाउन थाल्छ । देशको शासन प्रणालीमाथिको अविश्वासले केही सीमित व्यक्तिलाई हित गर्दो हो, तर धेरै जनता यसबाट प्रत्यक्ष र परोक्ष रुपमा प्रताडित हुन्छन् ।

एक पटक लोकतन्त्रको भोग गरेको समाज पछि फर्कन सक्दैन । अर्थात् यस्तो समाज अधिनायकवाद तर्फउन्मुख हुनै सक्दैन । लोकतन्त्रको विकल्प हामीले सोच्न पनि सक्दैनौं । नेपाली समाज कहिल्यै लोकतन्त्रका विरुद्धमा थिएन, छैन र रहने पनि छैन । २००७ सालदेखिको इतिहास केलाउने हो भने नेपाली जनताको पहिलो र एकमात्र आकाङ्क्षा सुदृढ लोकतन्त्रकै छ । लोकतान्त्रिक चरित्र र गुणविनाका कुनै पनि शासन प्रणालीलाई नेपाली जनताले अस्वीकार गरेका छन् ।

आज लोकतन्त्रको हुर्मत लिने गरी केही व्यक्ति र समूहले छिटपुट प्रयास गरिरहेको देखिन्छ । लोकतान्त्रिक शासन व्यवस्थाले प्रदान गरेको अवसरलाई दुरुपयोग गरी उनीहरु यही प्रणालीमाथि धावा बोल्न थालेको आभास हुन लागेको छ । लोकतान्त्रिक शासन प्रणाली र संविधानले प्रदान गरेको स्वतन्त्रताको उपयोग गरेर उनीहरु यही व्यवस्था र प्रणालीका विरुद्ध उभिएको मात्र होइन, आर्थिक अराजकता निम्त्याउन र देशको औद्योगिक वातावरण धमिल्याउन उद्यत रहेको पनि देख्न सकिन्छ ।

विगतमा भएका क्रान्तिले कैयौं व्यक्तिले सहादत प्राप्त गरेको र मुलुकको समृद्धिमा ठेस लागेको हामीले देखेभोगकै हो । अझै पनि मुलुकभित्र अस्थिरता र अराजकता फैलिनु भनेको मुलुकले थप क्षति व्यहोर्नु नै हो । विश्वका गरिब र पछौटेपनबाट ग्रस्त कैयौं देशले विकास र समृद्धिको फड्को मारिसकेका छन्, हामीभन्दा उनीहरु अघि बढिसकेका छन् । हामी अहिले विश्वले नै सही ठहर्याएको लोकतान्त्रिक शासन प्रणालीको छहारीमा छौं । यसलाई नै थप सुदृढ, बलियो र भरोसायोग्य बनाउनुको विकल्प छैन ।

मुलुक सङ्घीयता सहितको गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरिसकेको छ । धर्मनिरपेक्ष राज्यको मूल धर्म भइसकेको छ । देशको मूल कानुनका रुपमा रहेको संविधानको प्रस्तावनामै “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने” उल्लेख छ । लोकतन्त्रको अर्को सुन्दर पक्ष स्वतन्त्रता पनि हो । संविधानले प्रत्येक नेपाली नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता, विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, सङ्घ र संस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता तथा कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता” प्रदान गरेको छ ।

वैयक्तिक स्वतन्त्रताबाट बन्चित नगरिने तथा मृत्युदण्ड नदिने जस्ता अकाट्य स्वतन्त्रता नेपाली जनतालाई उपलब्ध छन् । यी स्वतन्त्रताहरुको हनन् भएको अवस्थामा कानुनी उपचार खोज्न पाउने हक पनि संविधानले हरेक नागरिकलाई उपलब्ध गराएको छ । संविधानले प्रदान गरेका समानता र स्वतन्त्रताको हक सहित जनअभिमतका लागि खडा गरिएका राजनीतिक तथा प्रशासनिक संरचनाले अविच्छिन्न काम गरिरहेका छन् । सबैलाई थाहै छ, लोकतन्त्र भनेको जनता आफैँले आफैँमाथि गर्ने शासन प्रणाली हो जो स्वतन्त्र निर्वाचनबाट चुनिएको हुन्छ । यही मान्यता र यसकै जगमा मुलुकमा तीनै तहको स्वतन्त्र ढङ्गबाट आवधिक चुनाव हुन थालिसकेका छन् । सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले आफ्ना काम गरिरहेका छन् ।

हो, लोकतन्त्रका आधारभूत यी मूल्य मान्यतालाई तिरस्कृत गरेर शासन व्यवस्था चलिरहेको भए त्यसमा खबरदारी गर्न सकिन्छ । चुनाव प्रणालीमा सुधारका लागि दबाब दिन सकिएला । भ्रष्टाचार बढेको र सुशासनमा कमीकमजोरी भए सच्याउन तथा आवधिक चुनाव मार्फत् आफ्नो उपस्थिति बलियो बनाएर परम्परागत शक्तिमाथि दबाब सिर्जना पनि गर्न सकिन्छ । त्यो अवसर हरेक नेपालीलाई उपलब्ध छ । तथापि, नागरिकका जायज गुनासा, सुझाव र विचारलाई गम्भीरतापूर्वक सुनिनु जरुरी छ ।

देशका विभिन्न भागको भ्रमण गर्दा देख्न सकिन्छ, सडकहरु बन्दै छन्, विद्युत् र टेलिफोनको पहुँच बढेको, कृषि, उद्योग र जलविद्युत् निर्माणमा तिब्रता आएको छ । केन्द्रले प्रदान गर्ने कैयौं सेवा अहिले प्रदेश र स्थानीय तहले प्रवाह गर्न थालिसकेका छन् । तथापि पर्याप्त उद्योग स्थापना र रोजगारी सिर्जनामा कमजोरी भएको अनुभव अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा लागेको युवाको भिडले देखाउँदैछ, र यस किसिमको विदेश पलायन सबैका लागि चिन्ताको विषय बनेको छ । बेरोजगारीको समस्या हल गर्ने उपाय खोज्ने पनि यही लोकतान्त्रिक प्रणालीबाटै हो । सङ्घीयता कार्यान्वयनमा देखिएका केही जटिलता र अनावश्यक एवं फजूल खर्च कटौती गर्ने गरी दबाब सिर्जना गर्न यही व्यवस्थाभित्र रहेर आवाज उठाउन सकिन्छ । त्यो अवसर पनि लोकतान्त्रिक शासन व्यवस्थाले नै उपलब्ध गराइरहेको छ ।

सङ्घीय राजधानीको माइतीघरमा अनेक किसिमबाट पीडित भएका मानिसहरुले दिनहुँजसो शान्तिपूर्ण धर्ना दिएर राज्यको ध्यानाकर्षण गराइरहेका छन् । गतवर्ष पनि मिटरब्याज पीडितहरुले यस्तै शान्तिपूर्ण आन्दोलन गरेका थिए । सरकारले राष्ट्रिय सहमति जुटाएर मिटरब्याजसम्बन्धी कानुन नै बनाएर पीडितलाई न्याय दिने र बदमासी गर्नेलाई दण्डित गर्ने प्रयास गरेको थियो । साथै, वर्षौंदेखि नागरिकता प्राप्तिको आशामा रहेका नागरिक र विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्नेगरी ऐन शंसोधन भएको छ ।

अझै पनि, संविधानका प्रावधान अनुसारका केही कानुन बनाउन भएको ढिलाइले प्रदेश सरकारको प्रभावकारितामा प्रश्न उठिरहेका छन् । प्रदेश संरचनाले राज्यको खर्च बढाएको र त्यो प्रभावकारी नभएको भन्दै आलोचना पनि भइरहेको छ । तर प्रदेशको प्रभावकारितामा प्रश्न उठाएर वर्तमान लोकतान्त्रिक शासन प्रणालीमाथि नै प्रश्न उठाइहाल्नु पर्ने अवस्था अहिल्यै भएको छैन । देशका परिवर्तनकारी प्रमुख राजनीतिक शक्तिहरुले बेलैमा यस्ता विषयलाई सम्बोधन गरी जनतामा विश्वासयोग्य वातावरण बनाउनु उपयुक्त हुन्छ । प्रजातन्त्र दिवसको अवसरमा हामी सबैले पुन: एकपटक विगतका क्रान्ति, आन्दोलनको स्मरण गर्दै नेपाललाई एक समृद्ध राष्ट्र बनाउनेतर्फ अग्रसर हुनुको विकल्प छैन ।रासस