१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

सम्पादक संवाद : सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न सुझाव

सम्पादक संवाद : सामाजिक उत्तरदायित्वसहितको जिम्मेवार पत्रकारिता गर्न सुझाव
अ अ+ अ-

काठमाडौँ: युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ ।

प्रेस काउन्सिल नेपालले सामजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा आज यहाँ आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो । सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

“भ्युर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सुनु भएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ”, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो । पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताउनुभयो ।

भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चारमाध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको पूर्वअध्यक्ष नेपालले बताउनुभयो । उहाँले पछिल्लो समय सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएको बताउनुभयो । एउटा व्यक्तिको पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया माध्यम भएको तर सन्देश हुन नसकेकोतर्फ गम्भीर भई सोच्नुपर्ने उहाँको सुझाव थियो । पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उहाँले औँल्याउनुभयो ।

यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यमसरह अनुगमन तथा निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताउनुभयो । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानलको अनुगमन गर्दै आएको उल्लेख गर्दै उहाँले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चारमाध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चारमाध्यमको अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मूलधारका सञ्चारमाध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताउनुभयो । उहाँले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो । अध्यक्ष पोखरेलले लोककल्याणकारी विज्ञापन चन्दा नभएर विज्ञापन भएको जिकिर गर्नुभयो ।

डिजिटल मिडिया सोसाइटीका अध्यक्ष तथा बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उहाँको भनाइ थियो । “पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ,” उहाँको सुझाव थियो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन र मिडिया एकअर्कामा जोडिए पनि यसका बारेमा खासै चर्चा हुन नसकेको बताउनुभयो । कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने उहाँको धारणा थियो । सामाजिक सञ्जालमा सिधै विज्ञापन दिएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपीपेष्ट पत्रकारिताले पेसालाई अविश्वनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्ने बताउनुभयो ।

अग्रज पत्रकार शम्भु श्रेष्ठले छापामाध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए सङ्कट थपिदै जाने बताउनुभयो । प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौती सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद शृङ्खला सुरु गरेको हो । यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।

सञ्चारिका समूहकी महासचिव वसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भए पनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकैपटक थाहा पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियामा साहुजीले यसलाई व्यवसाय र पत्रकारका लागि यो समाज सेवा भन्ने गरेको छ । यसलाई हटाउँदै जानुपर्छ ।”

अन्तराष्टिय पत्रकार महासङ्घका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिँदा काउन्सिलजस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले अरु मिडियाको विश्वासनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा राख्नुभयो । पत्रकार आफैँले खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरू आफैँ बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ ।”

व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकारहरु विनु सुवेदी र रुचि श्रेष्ठले प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सम्पादकहरू गुणराज लुइँटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरि क्याम्पा राई, मात्रिका पौडेल, सरोज मिश्र, कल्पना आचार्य, प्रकाश रिमाल, मिलन तिमिल्सिना, केपी ढुङ्गाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे, ज्योति जिसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव राख्नुभएको थियो ।

छापामाध्यम, अनलाइन, रेडियो, टेलिभिजन, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी हुनुहुन्थ्यो । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, मधेसी पत्रकार समाज, अनलाइन टिभी सङ्घसहित विभिन्न सञ्चार सङ्गठनका अध्यक्ष र प्रतिनिधिसमेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।रासस