१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

समुद्रपारीबाट गीत सृजना गरिरहेका नबराज

समुद्रपारीबाट गीत सृजना गरिरहेका नबराज
अ अ+ अ-

गण्डकी । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के ।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिर्नुभएका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर जानुभयो ।

प्रवासिनु अगावै उहाँले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द रच्नुभएको थियो । विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो । यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिनुभएको छ ।

सोहीताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना हो । वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाउनुभएको उक्त गीतले पनि व्यावसायिक सफलता पायो । ‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुपर्‍यो ।

पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिनुभएन् । विसं २०७५ जेठतिरको कुरा हो । पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो । त्यही बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत माग्नुभयो । आफ्ना सबैभन्दा श्रद्धायोग्य सङ्गीतकारले भनेपछि गीत नलेख्नु पनि कसरी ! पन्त केहीबेर घोत्लिनुभयो । छिनभरमै फुर्‍यो ‘सालको पातको टपरी.।।’।

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फुर्‍यो । कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भन्नुभयो, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी…’ को धुन तयार भएको थियो ।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो ।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ । अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा नौ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ ।

प्राय: गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो । उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो ।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ । वसन्त दाइले जीवन्त सङ्गीत दिनुभयो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीजस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भन्नुभयो । गीतकारका रूपमा पन्तले मात्र नभएर सङ्गीतकार र गायकगायिकाले पनि पटकपटक सामना गरिरहेको प्रश्न हो, ‘सालको पातको टपरी’ जत्तिकै अर्को गीत कहिले आउँछ ?

“सालको पातकै टिम मिलेर नयाँ गीतमा काम गरिरहेका छौँ, नयाँ प्रयोग गर्न खोजेका छौँ, हेरौँ कति सफल भइन्छ”,  गीतकार पन्तले भन्नुभयो, “कुनै गीत सर्वाधिक चलेपछि अवश्य पनि त्यसपछिका गीतमा काम गर्दा कुनैपनि सर्जक र गायकगायिकालाई अझ राम्रो गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै, त्यो मैले पनि महसुस गरेको छु ।” ‘सालको पातको टपरी’ लेख्दा पनि यति सफल होला भनेर आफूले नसोचेको उहाँले बताउनुभयो ।

पन्तको शब्द, वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा आउन लागेको नयाँ गीत हो ‘माहुरी भिरैमा’ । शब्द र भाकाले पूर्णता पाइसकेको र अहिले काठमाडौँको स्टुडियोमा सङ्गीत संयोजनको काम भइरहेको पन्तले जानकारी दिनुभयो ।

बाल्टीमोरमा मेकानिकल इन्जिनियरिङ विषय पढिरहनुभएका पन्तले आफूलाई बालापनदेखि नै गीतसङ्गीतमा अभिरुचि जागेको बताउनुभयो । “सानो छँदा सुनेको बमबहादुर कार्कीको ‘नरोउनरोउ हे दुलही’बाट म असाध्यै प्रभावित भएको थिएँ । गाईगोरु, बाख्रा लिएर वनपाखा जाँदा, घाँसदाउरा गर्दा भगवान भण्डारी, विष्णु खत्रीलगायतका गीत धेरै सुन्थ्यौँ”, उहाँले भन्नुभयो ।

गायक तथा सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, गीतकार प्रल्हाद सुवेदीलगायतसँगको सङ्गतले आफूलाई गीत लेखनमा प्रेरित गरेको उहाँले बताउनुभयो । अग्रजको प्रेरणा, सिर्जनाप्रतिको कठोर मेहनत र निष्ठाका कारण गीत लेखनमा सफलता मिलेको हो ।

बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मनुभएका पन्तले अमेरिका बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कसले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’लगायत कैयन गीत रचना गर्नुभएको छ । “कला र गीतसङ्गीतको सिमाना नहुनेरहेछ । न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, ३४ वर्षीय पन्तले भन्नुभयो, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो ।”

कुनै घटना, विषय र परिवेशले आफूमा गीत लेखनको मनस्थिति तयार हुने गरेको पन्तले सुनाउनुभयो । “काठमाडौँबाट घरको यात्रामा थिएँ, दमौली नजिक पुग्दा पारी पाखामा एक्लो रुख र घर देखेँ, त्यो दृश्यले मलाई उद्देलित बनायो, त्यसैलाई भावभूमि बनाएर गीत रचे ‘डाँडै फुर्के सल्लो’ जुन गीत एकदमै रुचाइयो पनि”, उहाँले भन्नुभयो ।

कङ्क्रिटको सहरमा बसेर पनि नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई शब्दमा टिप्न पन्त सिपालु हुनुहुन्छ । उहाँ प्रकृतिको धुन र लोकका सुस्केरालाई सुटुक्क टिप्नुहुन्छ र शब्दमा प्राण भर्नुहुन्छ । चाहे त्यो पञ्चेबाजामा होस् या सुनिमाया भाकामै किन नहोस् । पन्तले गायक ईश्वर सिंहसँग मिलेर बागलुङको गलकोटमा प्रचलित मौलिक ‘सुनिमाया’ भाकामा गीत ल्याउन लागेको बताउनुभयो ।

चलनचल्तीका लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेख्नुभएको छ । पन्तको मूल सिर्जनाकर्म गीत लेखन हो । फुटकर रूपमा कविता, गीतलगायत साहित्यिक विधामा पनि कलम चलाउनुहुन्छ । “भौतिकरूपमा मेरो उपस्थिति जहाँ रहेपनि म सिर्जनात्मक दृष्टिले नेपालदेखि टाढा छैन, चाहेर पनि अब लोकसङ्गीतप्रतिको प्रेम र समर्पणबाट अलग हुन सक्दिनँ”, पन्तले भन्नुभयो ।

रामबहादुर थापा/रासस