२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

नेपालमा अब हिंसात्मक द्वन्द्व छैन- प्रधानमन्त्री ओली (भिडियो सहित)

नेपालमा अब हिंसात्मक द्वन्द्व छैन- प्रधानमन्त्री ओली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सँगको सहमतिसँगै नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । संघीय राजधानी काठमाडौंको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित सहमति हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहमतिले नेपालमा अब हिंसात्मक द्वन्द्व छैन भन्ने संदेश दिएको बताउनुभएको हो ।

उहाँले अघिल्लो वर्ष सिके राउतसँग भएको सहमति स्मरण गर्दै शान्तिपूर्ण युग प्रवेशको अन्तिम किस्ताको रुपमा विप्लवसँगको सहमति भएको बताउनुभयो । राष्ट्रिय राजनीतिको मुलधारमा प्रवेश गरेको बधाई अनि धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले यो राजनीतिमा विप्लव सफल हुने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले भन्नुभयो “अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । 

हिंसात्मक बाटो र आन्दोलनको कार्यादिशा कसैले पनि अबलम्बन गरेको छैन । आजको कामको ठूलो उपलब्धि अब नेपालमा हिंसात्मक द्धन्द्ध छैन र शान्ति छ । यो सहमतिसंगै नेपाल शान्तिको मापदण्डमा धेरै अगाडि बढेको छ । शान्तिको प्यारामिटर माथि उठाउन सहयोग गरेकोमा विप्लवलाई धन्यवाद दिनचाहन्छु ।”आफ्ना कार्यकर्तालाई पुर्वनिर्धारित कार्यदिशा र बाटोबाट मोड्न सफल भएकोमा पनि उहाँले विप्लवको प्रसंसा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले बिप्लव समूहसंग भएको सहमति फोर्सफुल नभएको स्पष्ट पार्नुभयो । उहाँले लामो प्रयासपछि मात्रै वार्ता सफल भएको बताउनुभयो । यो रातारात नभई लामो समयसम्मको वार्ताप्रतिको गम्भीरताका कारण भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “ यो फोर्स ल्याण्डिङ होइन । क्रयास ल्याण्डिङ पनि होइन । यो सेफ ल्याण्डिङ हो ।” सम्मृद्ध नेपाली सुखी नेपाली बनाउने सपनाहरुलाई पुरा गर्ने अझै प्रवल संभावनाहरुको बाटोमा विप्लबले योगदान पुर्याएको बताउनुभयो ।

सहमतिमा उल्लेखित ३ बुँदा नै सहमतिका लागि पर्याप्त भएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “तीनवटा बुँदा काफि हो । अठार पुराणामा व्यासले २ वटा कुरा भने । धेरै कुराहरुको निष्कर्ष तीनै कुराहरुले भन्छन् । कुनै समस्या आईपरे छलफल र वार्ताबाटै टुंग्याउँछौ । उहाँका नेता-कार्यकर्ताहरुलाई प्रक्रिया पुरा गरेर छोड्छौ । छुट्ने सिलसिला त सुरु भईसक्यो । यसले नेपाललाई नयाँ दिन मात्रै होइन नयाँ युगमा प्रवेश गराएको छ । ”

गतवर्ष पृथकतावादी आन्दोलनमा लागेका सिके राउतलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याएको स्मरण गर्दै उहाँले फरक शैली र भाषामा हुर्किएकाहरु एकै ठाउँमा आउँदा भाषा मिलाउन केही समय लागेपनि अन्तत सबै सम्मृद्ध नेपाल सुखी नेपालीकै बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफुले ४० बर्ष अगाडि शान्तिपुर्ण राजनीतिको बाटोलाई अंगिकार गरेको स्मरण गर्दै उहाँले विप्लवसंगको सहमति विश्वकै कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक दृष्टान्त बन्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “आजको उपलब्धिले विश्वकै कम्युनिष्ट आन्दोलनलाई कसरी कम्युनिष्ट आन्दोलनले शान्तिपुर्ण  ढंगले समाज परिवर्तनको अगुवाई गर्न सक्छ, नेतृत्व गर्न सक्छ र सार्थक सफलता प्राप्त गर्न सक्छ । विभिन्न प्रकारका प्रतिक्रियावादी शक्तिहरुका जाल झेल , तिगडम हमला र दमन सबैलाई पराजित गरेर अगाडि बढ्न सक्छ ? र हामी असल मनसायका साथ अगाडि बढ्यौ भने कसरी नजिकिदै जान सक्छौ ? त्यो कुराको एउटा दृष्टान्त बनेको छ । हाम्रा सफलताहरु विश्व कम्युनिष्ट आन्दोलनका लागि दृष्टान्त बनेका छन् । ”

राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ 
प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिको मुलधारमा नेता विप्लब सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “नेपाल शान्तिको नयाँ युगमा प्रवेश गराएकोमा, त्यसका निम्ति म नेपाल कम्युनिष्ट पार्टी र नेता चन्दलाई धन्यवाद भन्न चाहन्छु । यस खुला परिवेशमा र शान्तिपुर्ण राजनीतिको यस राष्ट्रिय राजनीतिको मुलधारमा उहाँलाई स्वागत गर्न चाहन्छु । मलाई विश्वास छ यस राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ । उहाँ यसमा पौडी खेलेर सफलताका साथ अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । म हार्दिक शुभकामना भन्न चाहन्छु उहाँलाई सफलताको । एउटा खुसीको दिन युग, परिर्वतनको दिन, सफलताको दिन । कसैले पनि नहारेको र सबैले जितेको र देशले जितेको दिनलाई सार्थकत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छु । ” प्रधानमन्त्री ओलीले वार्ता सफलतामा पुर्याएकोमा दुवै तर्फका वार्ता टोलीका सदस्यहरुलाई पनि धन्यवाद दिनुभयो ।

प्रचण्डमाधवप्रति व्यंग्य
प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहले बहुमतको सरकार भाँडेर किस्तिमा प्रधानमन्त्रीको पद राखेर हिडेको आरोप लगाउनुभयो । संसदीय दलको नेता आफु भएको तर संसदीय दलको बैठक बोलाएको भन्दै उहाँले कुन दलको हो ? भनी व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “केही मान्छेहरु बरबादै पार्न खोज्छन् देशलाई । त्यो उनीहरुको कुरा हो ।

संसदीय दलको बैठक गर्देछन् भन्ने सुन्या थेँ । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । थाहा छैन । उहाँहरु लाग्नुभएको छ मरिमेटेर । मलाई उहाँहरु देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । उहाँहरु त्यस्तै हो । नग्नताको पनि यो हद ? आफ्नो दुईतिहाई फोडेर छोड्ने , भाँडेर छोड्ने ,भत्काएर छोड्ने आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने अनि किस्तिमा प्रधानमन्त्री लिएर खाईदिनोस् न खाईदिनोस् न भन्न अन्त जाने । अन्त प्रधानमन्त्री खाईदिनोस् भन्न जाने । न प्रधानमन्त्री । लिईदिनोस् न प्रधानमन्त्री हामी बनाउँछौ नि तपाईलाई लिईदिनोस् न प्रधानमन्त्री । हामी छौ नि तपाईका पछाडि लाग्ने भन्ने । नेतृत्व गर्न छोड्ने नेतृत्व गरिदिनोस् न भन्न जाने । कुन आईडोलोजी भित्र पर्छ मलाई थाहा छैन । मैले पढेको माक्र्सवादमा यो पर्दैन ।”

प्रधानमन्त्री ओलीले आफुहरुले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको र अनुचित ढंगले प्रस्ताव पनि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “एउटा भ्रम छर्न खोजिएको छ । हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्यौ, उसलाई प्रस्ताव राख्यौ भनेर तर हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौ । हामी प्रधानमन्त्रीको प्रस्ताव कसैलाई राखेका पनि छैनौ राख्दा पनि राख्दैनौ । ”

मुलुकलाई राजनीतिक अस्थिरतातर्फ जान नदिन र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले पुनस्थापित गर्ने सर्वोच्चको फैसलासंगै नेपाली राजनीतिमा तमासा सुरु भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “हामीले भनेको त देशको राजनीतिलाई अस्थिरतातर्फ धकेलियो । लोकतन्त्रको हुर्मत लिने काम हुन लाग्यो त्यसकारण स्थिरता, स्थायित्वतर्फ लोकतन्त्रको सही अभ्यासतर्फ जाउँ भनेर हामीले प्रतिनिधिसभाका विघटनको प्रस्ताव गरेका थियौ र विघटन गराएका थियौ । अब फिर्ता आएको छ । फिर्ता आएपछिको तमासा सुरु भएको छ फेरी । यो तमासा नेपाली जनताले हेर्दै र भोग्दै जानुपर्ला । ”

सरकार ढाल्ने गम्भीर प्रयास भएको छ
प्रधानमन्त्री ओलीलले आफ्नो नेतृत्वको सरकार ढाल्ने प्रयास तिब्र ढंगले भएको दाबी गर्नुभयो । विगतमा पनि आफ्नो नेतृत्वको सरकार ढाल्ने काम भएको र निर्वाचनपछि आफु बहुमतसाथ सरकारको नेतृत्व गर्न आईपुगेको भन्दै उहाँले फेरि पनि जनताको विश्वास लिएर सिंहदरबार प्रवेश गर्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो “यो देशमा हाम्रो पार्टी पनि छ । अहिले सरकार ढाल्ने बहुतै गम्भीर प्रयास भईरहेको छ । उघुमको प्रयास भईरहेको छ ।

यो त ७३ सालमा पनि ढालेका थियो नि एकपल्ट सरकार । मैले त्यसबेला भनेको थिएँ । हामी जस्केलाबाट होइन,झ्यालबाट, भेन्टीलेसनबाट छिरेर होइन, हामी मुल सडकबाट, मुल ढोकाबाट छिरेर फेरि सरकारमा आउँछौ निर्वाचनको माध्यमबाट । नभन्दै ७४ को निर्वाचनको माध्यमबाट हाईवे बाट हिडेर सिंहदरबारको मुल गेटको ढोका खोलेर हामी भित्र पस्या हो । ”

उहाँले बैंकेटमा मान्छे जम्मा पारेर आफुखुसी ढंगले अध्यक्ष घोषणा गर्ने काम गरेको भन्दै प्रचण्ड माधव समुहलाई व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो आदत के छ भने अध्यक्ष हुनुपर्यो भने महाधिवेशनमा लडेरै हुने बैंकेटमा मान्छे बोलाएर त्यहाँ म महासचिव भएँ  म अध्यक्ष भएँ । त्यो तरिकाले होइना । प्रधानमन्त्री हुनुपर्यो भने निर्वाचनको माध्यमबाट चुनिएर छानिएर जनताको प्रतिनिधिको हैसियतले, जालझेल तिगडमको हैसियतले होइन, त्यस हैसियतले हामी फर्किन्छौ । ”केही मान्छेहरुले कम्युनिष्ट आन्दोलनको बद्नाम गर्ने काम  गरेपनि अहिलेको सरकार सफल रहेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “अहिलेको सरकार विल्कुल सफल सरकार हो ।

विकासका काममा, भ्रष्टाचार विरुद्धमा कामहरुमा यसले सफलतापुर्वक अगाडि बढेको छ । “संयुक्तराष्ट्र संघले नेपाललाई अब अल्पविकसितबाट विकाससिल राष्ट्रमा स्तरोन्नति गर्ने सिफारिस गरिसकेको छ । हामी सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने उद्देश्यमा डटेर लागेका छौ र त्यस अगावै हामीले ती लक्ष्यहरु प्राप्त गर्नेछौ । ”

हाम्रो त १४ बर्ष
कार्यक्रममा प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा आफुले १४ बर्ष जेल बस्नुपरेको भन्दै विप्लवका कार्यकर्ता धर्मेन्द्र बास्तोलालाई छिटै जेलबाट छुटेकोमा बधाई दिनुभयो । उहाँले भन्नुभयो “यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो हाम्रो त १४ बर्ष । ”

४८ बर्ष अघि आजकै दिन नयाँ आन्दोलन, नया एकिकरण र नया संकल्प बोकेर हिडेका ५ जनालाई जेल सार्ने नाममा सुखानी जंगलमा लगेर सबैको एकै स्थानमा हत्या गरिएको घटनाको स्मरण गर्दै उहाँले सबै शहीद प्रति हार्दिक श्रद्धासुमन पनि व्यक्त गर्नुभयो । उहाँले नेपालको राजनीतिक परिर्वतनमा योगदान पुर्याउने क्रममा मृत्यु भएका केही व्यक्तिहरुलाई सरकारले विधिवत ढंगले सहिद घोषणा गरेको पनि जानकारी दिनुभयो ।